नेपालमा आयुर्वेद चिकित्सा: सुधार र सम्भावना
नेपालमा आयुर्वेद चिकित्सा क्षेत्र ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण भए पनि यसको विकास अपेक्षाअनुसार हुन सकेको छैन । प्राचीनकालदेखि नै नेपाली समाजमा आयुर्वेदले स्वास्थ्य संरक्षण र रोग उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। हिमाली क्षेत्रका बहुमूल्य जडीबुटी, परम्परागत ज्ञान र जीवनशैलीसँग गहिरो सम्बन्धका कारण आयुर्वेद नेपालको पहिचानसँगै जोडिएको क्षेत्र हो । तथापी, आधुनिक स्वास्थ्य प्रणालीको विस्तारसँगै आयुर्वेद क्षेत्र नीति, संरचना, स्रोत र प्राथमिकताका हिसाबले पछाडि परेको देखिन्छ। परिणामस्वरूप, यसको सम्भावना हुँदाहुँदै पनि प्रभावकारी उपयोग हुन सकेको छैन ।
वर्तमान सन्दर्भमा आयुर्वेदलाई केवल परम्परागत उपचार प्रणालीका रूपमा सीमित राख्नु उपयुक्त छैन । यसलाई आधुनिक, वैज्ञानिक र परिणाममुखी स्वास्थ्य प्रणालीको महत्वपूर्ण अंगका रूपमा विकास गर्न आवश्यक छ। यसका लागि दीर्घकालीन, संरचनात्मक र एकीकृत सुधार नीति तथा कार्यक्रम अपरिहार्य छन्। यस्तो सुधारले केवल स्वास्थ्य क्षेत्रमै होइन, आर्थिक विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचानमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्छ ।
हाल नेपालका धेरै क्षेत्रमा आयुर्वेद सेवा सीमित छ। प्रत्येक पालिकामा “नागरिक आरोग्य सेवा केन्द्र” स्थापना गर्ने योजना सकारात्मक भए पनि यसको प्रभावकारिता सेवा गुणस्तरमा निर्भर हुन्छ । केवल भवन निर्माणले मात्र उद्देश्य पूरा हुँदैन; दक्ष जनशक्ति, आवश्यक उपकरण र औषधि उपलब्धता सुनिश्चित गर्नुपर्छ ।
सबैभन्दा पहिले नीतिगत तथा संस्थागत सुधार आवश्यक देखिन्छ । नेपालमा आयुर्वेदसम्बन्धी नीति पुरानो र समयसापेक्ष नभएकाले यसको अद्यावधिक अनिवार्य छ । पुरानो नीतिले वर्तमान चुनौतीहरू-जस्तै प्रविधिको विकास, वैश्विक प्रतिस्पर्धा, र प्रमाणमा आधारित उपचारको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन। त्यसैले नयाँ नीति परिणाममुखी, मापनयोग्य र कार्यान्वयनयोग्य हुनुपर्छ । साथै, आयुर्वेद, एलोप्याथी र अन्य चिकित्सा प्रणालीबीच समन्वय गरी एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न सकेमा सेवाको प्रभावकारिता र पहुँच दुवै बढ्न सक्छ। अहिले विभिन्न प्रणालीहरू छुट्टाछुट्टै रूपमा सञ्चालन भइरहेका छन्, जसले स्रोतको दोहोरो प्रयोग र सेवाको असन्तुलन निम्त्याएको छ ।
संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँडफाँड नहुँदा कार्यान्वयनमा समस्या देखिएको छ । त्यसैले प्रत्येक तहको भूमिका स्पष्ट परिभाषित गर्नुपर्छ। नेपाल आयुर्वेद चिकित्सा परिषद् तथा अन्य नियामक निकायलाई सशक्त बनाउनु आवश्यक छ, ताकि गुणस्तर नियन्त्रण, अनुमतिपत्र वितरण, अनुगमन तथा अनुशासन कायम गर्न सकियोस् । नीति निर्माण मात्र पर्याप्त हुँदैन; त्यसको प्रभावकारी कार्यान्वयनका लागि सुदृढ संस्थागत संरचना आवश्यक हुन्छ ।
पूर्वाधार विकास तथा सेवा विस्तार अर्को महत्वपूर्ण पक्ष हो। हाल नेपालका धेरै क्षेत्रमा आयुर्वेद सेवा सीमित छ। प्रत्येक पालिकामा “नागरिक आरोग्य सेवा केन्द्र” स्थापना गर्ने योजना सकारात्मक भए पनि यसको प्रभावकारिता सेवा गुणस्तरमा निर्भर हुन्छ । केवल भवन निर्माणले मात्र उद्देश्य पूरा हुँदैन; दक्ष जनशक्ति, आवश्यक उपकरण र औषधि उपलब्धता सुनिश्चित गर्नुपर्छ । जिल्ला तथा प्रदेश स्तरमा आयुर्वेद अस्पताल र पञ्चकर्म केन्द्र विस्तारले सेवा पहुँच बढाउन मद्दत पुर्याउनेछ। विशेषगरी, प्राथमिक स्वास्थ्य सेवासँग आयुर्वेदलाई जोड्न सकेमा यसले “first contact care” को रूपमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
दुर्गम तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अझै चुनौतीपूर्ण छ । यस्तो अवस्थामा मोबाइल आयुर्वेद क्लिनिक सञ्चालन गर्नु प्रभावकारी उपाय हुन सक्छ । यसले सेवा पहुँचमा रहेको असमानता घटाउनेछ र स्थानीय जनताले सहज रूपमा उपचार पाउनेछन् ।
जनशक्ति उत्पादन र व्यवस्थापन आयुर्वेद क्षेत्रको अर्को महत्वपूर्ण चुनौती हो। हाल आयुर्वेद चिकित्सक, फार्मासिस्ट र प्राविधिक जनशक्ति सीमित छन् । अध्ययन संस्थानहरूको संख्या कम हुनुका साथै गुणस्तरमा पनि सुधार आवश्यक छ । त्यसैले दीर्घकालीन मानव संसाधन योजना तयार गरी आवश्यक जनशक्ति उत्पादन गर्नुपर्छ। ग्रामीण क्षेत्रमा सेवा दिन प्रोत्साहनमूलक कार्यक्रम जस्तै अतिरिक्त सुविधा, भत्ता वा पदोन्नति लागू गर्नुपर्छ । निरन्तर व्यावसायिक विकास (Continuous Professional Development) कार्यक्रममार्फत चिकित्सकहरूको ज्ञान र सीप अद्यावधिक गरिरहनु आवश्यक छ ।

आधुनिक विश्वमा आयुर्वेदलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन अनुसन्धान तथा प्रमाणमा आधारित प्रणाली विकास अपरिहार्य छ । हाल आयुर्वेदसम्बन्धी धेरै उपचार विधि र औषधिहरू अनुभवजन्य छन्, तर तिनीहरूको वैज्ञानिक प्रमाण सीमित छ । त्यसैले क्लिनिकल परीक्षण, औषधि परीक्षण तथा प्रभावकारिता अध्ययनमा लगानी बढाउनुपर्छ। राष्ट्रिय स्तरमा अनुसन्धान केन्द्र स्थापना गरी विश्वविद्यालय, अस्पताल र उद्योगबीच सहकार्य बढाउनुपर्छ। डिजिटल डाटा प्रणाली विकास गरी बिरामीको विवरण, उपचार परिणाम र अनुसन्धान तथ्याङ्क सङ्कलन गर्न सकिन्छ। यसले आयुर्वेदलाई अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य बनाउन मद्दत पुर्याउनेछ ।
औषधि उत्पादन तथा जडीबुटी व्यवस्थापन नेपालको ठूलो सम्भावना भएको क्षेत्र हो। नेपालमा विविध प्रकारका बहुमूल्य जडीबुटी पाइने भए पनि तिनीहरूको उचित उपयोग हुन सकेको छैन । धेरैजसो जडीबुटी कच्चा पदार्थका रूपमा निर्यात हुने गरेका छन्, जसले मूल्यवृद्धि (value addition) लाई सीमित बनाएको छ। त्यसैले “जडीबुटीदेखि उद्योगसम्म” (Herb to Industry) मूल्य श्रृंखला विकास गर्नुपर्छ। स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय मापदण्ड (GMP) लागू गर्नुपर्छ। यसले औषधिको गुणस्तर सुनिश्चित गर्नुका साथै निर्यात प्रवर्द्धनमा सहयोग पुर्याउनेछ ।
जडीबुटी खेतीलाई व्यावसायिक बनाउँदै किसानलाई यसतर्फ आकर्षित गर्न सकिन्छ । सहकारी मोडलमार्फत उत्पादन, प्रशोधन र बजार व्यवस्थापन गर्न सकिन्छ। यसले ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउनेछ र रोजगारी सिर्जना गर्नेछ ।
स्वास्थ्य बीमा र पहुँच विस्तार आयुर्वेद सेवाको उपयोग बढाउन महत्वपूर्ण पक्ष हो । यदि आयुर्वेद उपचारलाई राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा समावेश गरियो भने सर्वसाधारणको पहुँच सहज हुनेछ । आवश्यक आयुर्वेद औषधिको सूची विस्तार गरी निःशुल्क उपलब्ध गराउन सकेमा गरिब तथा दुर्गम समुदायलाई विशेष लाभ पुग्नेछ। साथै, टेलिमेडिसिन जस्ता डिजिटल सेवामार्फत दुर्गम क्षेत्रमा पनि विशेषज्ञ सेवा पुर्याउन सकिन्छ ।
स्वास्थ्य पर्यटनको दृष्टिले आयुर्वेद अत्यन्त सम्भावनायुक्त क्षेत्र हो । विश्वभर “वेलनेस टुरिज्म” को माग बढिरहेको अवस्थामा नेपालले यस अवसरलाई उपयोग गर्न सक्छ। पञ्चकर्म, योग, ध्यान तथा प्राकृतिक उपचार केन्द्रहरूलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गरी नेपाललाई “होलिस्टिक वेलनेस गन्तव्य”का रूपमा स्थापित गर्न सकिन्छ । यसका लागि पूर्वाधार विकास, सेवा गुणस्तर सुधार र अन्तर्राष्ट्रिय प्रमाणीकरण आवश्यक छ। निजी क्षेत्रसँग सहकार्य गर्दै सार्वजनिक–निजी साझेदारी (PPP) मोडल अपनाउन सकिन्छ ।
जनचेतना र जीवनशैली प्रवर्द्धन आयुर्वेदको मूल आधार हो। आयुर्वेदले रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्न नदिनुमा जोड दिन्छ । दिनचर्या, ऋतुचर्या,योग र स्वस्थ जीवनशैलीका अभ्यासहरूलाई व्यापक रूपमा प्रवर्द्धन गर्नुपर्छ । विद्यालयस्तरबाटै स्वास्थ्य शिक्षा समावेश गर्दा दीर्घकालीन रूपमा जनस्वास्थ्य सुधार गर्न सकिन्छ। गैर-संक्रामक रोग जस्तै मधुमेह, उच्च रक्तचापको नियन्त्रणमा आयुर्वेदले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
अन्ततः, सुशासन र बजेट सुधार बिना कुनै पनि नीति सफल हुन सक्दैन। आयुर्वेद क्षेत्रका लागि छुट्टै र पर्याप्त बजेट सुनिश्चित गर्नुपर्छ । बजेट खर्च हुन नसक्ने समस्या समाधान गर्न प्रभावकारी योजना र अनुगमन प्रणाली आवश्यक छ। परिणाममा आधारित अनुगमन (performance-based monitoring) लागू गर्दा कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्न सकिन्छ। साथै, डिजिटल प्रविधिको प्रयोग जस्तै टेलिमेडिसिन, डिजिटल डाटाबेस, इलेक्ट्रोनिक स्वास्थ्य अभिलेखले सेवा प्रवाहलाई आधुनिक र पारदर्शी बनाउन मद्दत पुर्याउनेछ ।
समग्र रूपमा हेर्दा, आयुर्वेद क्षेत्रको विकासका लागि बहुआयामिक र समन्वित प्रयास आवश्यक छ । नीति, पूर्वाधार, जनशक्ति, अनुसन्धान, उद्योग, वित्तीय पहुँच र जनचेतना सबै पक्षलाई एकसाथ सुदृढ गर्नुपर्छ। केवल नीतिगत घोषणा गरेर मात्र अपेक्षित परिणाम हासिल गर्न सकिँदैन; त्यसका लागि स्पष्ट कार्ययोजना, पर्याप्त स्रोत, दक्ष जनशक्ति र कडा अनुगमन आवश्यक हुन्छ ।
यदि यी सुधारहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने आयुर्वेद चिकित्सा प्रणाली नेपालको स्वास्थ्य क्षेत्रको सशक्त आधार बन्न सक्छ । यसले जनस्वास्थ्य सुधार मात्र होइन, आर्थिक विकास, रोजगारी सिर्जना, जडीबुटी उद्योगको विकास र अन्तर्राष्ट्रिय पहिचानमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछ । त्यसैले अबको आवश्यकता स्पष्ट दृष्टिकोण, दृढ राजनीतिक इच्छाशक्ति र प्रभावकारी कार्यान्वयन हो ।





