१२ लाख लाइसेन्स छापिए , थप १७ लाख छापिँदै
ट्रायल पास भएका र नवीकरणका लागि राजस्व बुझाएको पुरानो मितिका २९ लाख मध्ये १२ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने काम सकिएको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १२ कात्तिकमा भएको सम्झौता अनुसार १२ लाख स्मार्ट लाइसेन्स छापिएको हो । दोस्रो चरणमा ४ वैशाखमा सम्झौता भए अनुसार थप १७ लाख लाइसेन्स छाप्ने तयारीमा सुरक्षण मुद्रण केन्द्र जुटेको छ ।
यसकालागि अहिले सुरक्षण मुद्रण केन्द्र स्रोत साधन जुटाउन व्यस्त छ । दैनिक ४० हजार लाइसेन्स छापिने भएकाले असार मसान्तसम्म पुरानो सबै छापिसकिने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए । सार्वजनिक विदाको दिन पनि लाइसेन्स छपाइको काम हुने भएकाले सक्नलाई समस्या नहुने केन्द्रको भनाई छ । केन्द्रका अनुसार ३७ हजार ६ सय ९८ आपतकालीन र ट्रायल पास गरी दैनिक राजश्व बुझाएका ३१ हजार २ सय २७ लाइसेन्स छापि सकेको छ ।
‘एकै पटक विभागबाट दुई लाख डेटा आयो भने एकसाथ त्यसको छपाई थाल्छौं,’ केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले भने, ‘अहिले दैनिक आपतकालीन र एकैदिनमा राजश्व बुझाउने सेवाग्राहीको लाइसेन्स छाप्ने काम नियमित रुपमा भइरहेको छ ।’ दोस्रो चरणको लाइसेन्स असार मसान्त अघि नै छापिसकिने उनको दाबी छ । नयाँ लाइसेन्स छपाइका लागि औसतमा दैनिक ४ हजारको संख्यामा डेटा आउने गरेको छ ।





