परराष्ट्र सेवामा सेवा लम्सालले रचेको इतिहास, पहिलो पटक महिला कमाण्ड
परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल सचिव पदमा बढुवा भएकी छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई सहसचिवबाट विशिष्ठ श्रेणीको रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को यस निर्णयसँगै लम्साल परराष्ट्र मन्त्रालयको सचिव पदमा पुग्ने पहिलो महिला कर्मचारी पनि भएकी छन्। यसअघि तत्कालीन परराष्ट्र सचिव भरतराज पौड्याल अवकाशमा गएका थिए। पौड्यालको स्थानमा अब लम्सालले परराष्ट्र सेवातर्फ उच्च पद सम्हाल्ने भएकी छन्।
७२ वर्षको इतिहासमा पहिलो महिला
राणाकालको अन्तिम समयताका विदेश मामिला हेर्ने निकायको रुपमा ‘परराष्ट्र विभाग’ थियो। यो विभाग त्यसअघि जैसी कोठा, मुन्सी खाना आदिका नामले चिनिन्थ्यो। यसले ‘परराष्ट्र मन्त्रालय’ को नाम पाएको राणा शासन अन्त्यपछि हो।
राणा शासनको अन्त्यपछि मन्त्रालयको रुप धारण गरेपछि यसले मन्त्री र सचिव दुवै पायो। पहिलो ‘परराष्ट्रमन्त्री’ को जिम्मेवारी प्रधानमन्त्री श्री ३ मोहन शमशेर आफैले सम्हाले। राणाकालदेखि नै परराष्ट्र मामिलाको जिम्मेवारी सम्हाल्दै आएका सरदार नरेन्द्रमणि आचार्य दीक्षितलाई उनले परराष्ट्र सचिव बनाए।
नरेन्द्रमणि आचार्य दीक्षितदेखि भरतराज पौड्यालसम्म मन्त्रालयले २४ जना परराष्ट्र सचिव प्राप्त गर्यो।
यसमध्ये २००८ देखि २०१७ को अवधिमा चार जना परराष्ट्रसचिव भए। तिनमा दीक्षित, रामप्रसाद मानन्धर, शोभागजङ्ग थापा र नरप्रताप शमशेर थापा छन्।
पञ्चायतकालमा आठ जना परराष्ट्र सचिव भए। पञ्चायतकालमा परराष्ट्रसचिव बन्नेहरूमा यदुनाथ खनाल, पद्मबहादुर खत्री, झरेन्द्रनारायण सिंह, भरतराज राजभण्डारी, उद्धवदेव भट्ट, जगदीश शमशेर राणा, विश्व प्रधान र नरेन्द्रविक्रम शाह थिए।
०४६ को राजनीतिक परिवर्तनदेखि अहिलेसम्म १२ जना सचिवले परराष्ट्र मन्त्रालयको नेतृत्व गरेका छन्। तिनमा यादवकान्त सिलवाल, केदारभक्त श्रेष्ठ, कुमारप्रसाद ज्ञवाली, नारायण शमशेर थापा, मुरारीराज शर्मा, मधुरमण आचार्य, ज्ञानचन्द्र आचार्य, डा. मदनकुमार भट्टराई, दुर्गाप्रसाद भट्टराई, अर्जुनबहादुर थापा, शंकरदास बैरागी र भरतराज पौड्याल छन्।
सेवा २५औं परराष्ट्र सचिव बनेकी छन्। सेवाअघि परराष्ट्र सेवामा दुई जना महिला सहसचिव भएका थिए। तर, उनीहरू सचिव बन्न सकेनन्। विन्देश्वरी शाह र अम्बिका मानन्धर सहसचिवबाट अनिवार्य अवकाशमा गएका थिए।
नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाह मन्त्रालयको ‘अतिरिक्त सचिव’ सम्म भइन्। २०४९ मा अकस्मात ल्याइएको निजामती सेवामा ३० वर्षे उमेर हदका कारण सचिव बन्नै नपाई शाहले अवकाश पाइन्। उनी परराष्ट्र सेवाकी पहिलो नेपाली महिला सहसचिव बनेकी थिइन्। त्यस्तै उनी फ्रान्सका लागि नेपाली राजदूत भएकी थिइन्। हाल परराष्ट्र सेवामा रीता धिताल सहसचिव छिन्।
२०५५ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी लम्सालको सेवा अवधि २५ वर्ष पुग्नै लाग्दा परराष्ट्र सचिवको पदमा पुगेकी छन्। परराष्ट्रमा उपसचिव भई सेवा सुरु गरेकी सेवा पासपोर्ट विभागबाट परराष्ट्रसम्म पुगेकी हुन्।
विसं २०७३ देखि २०७७ सालसम्म पाकिस्तानका लागि नेपाली राजदूत भएकी सेवाले इरान, टर्की, कीर्गिस्तान, ताजकिस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तानको समेत राजदूतको जिम्मेवारी सम्हालेकी थिइन्। २०७७ सालमा नेपाल फर्किएपछि भने उनले संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कानून विभागमा काम गरिन्।
सचिव बढुवा भएसँगै सेवाले परराष्ट्र मन्त्रालयअन्तर्गतका ३५८ जना कर्मचारीको नेतृत्व गरेकी छन्।