सम्पादकसंगको संवादः यी हुन् प्रचण्डले सिंहदरबारबाट दिएका सात सन्देश
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग सोमबार गम्भीर अन्तरक्रिया गरे। प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरुसँग सोमबार आयोजित अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले करिव सबैजसो जल्दोबल्दो विषयमा आफ्ना प्रष्ट धारणा र सन्देश दिएका छन्।
यी हुन् प्रचण्डले सिंहदरबारमा दिएका सात सन्देश
१- व्यवस्थाविरोधी हौवा असफल हुन्छ
प्रधानमन्त्री प्रचण्डले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विराधी स्वरहरुको कुनै तुक नरहेको बताएका छन् । भने, “विश्वले नै अपनाएको र नेपालमा पनि नेपाली जनताले छानेको व्यवस्था नै लोकतन्त्रिक गणतन्त्र हो, यसको अर्को कुनै पनि विकल्प छैन ।”
प्रचण्डले पछिल्लो समयमा संविधान, लोकतन्त्र र गणतन्त्रमाथि नै प्रश्न उठाउने गरिएको पाइएको प्रसङ्ग उल्लेख गर्दै यस्ता स्वरहरुको कुनै तुक र आधार नभएको र तिनको व्यवस्थापन गरी गणतन्त्रको जग बलियो बनाउने विषयमा सरकार र गणतन्त्र पक्षधर राजनीतिक दलहरु एकमत रहेको बताए ।
२- धर्मनिरपेक्षता यताउती हुँदैन
प्रचण्डले धर्म निरपेक्षताबारे मुलुकका प्रमुख शक्तिहरूबीच कुनै मतभेद नरहेको र सबै एक रहेको बताएका छन्। प्रचण्डले सबै प्रमुख दलले सोच विचार गरेरै संविधानमा सनातनदेखि चलिआएको धर्मको पनि रक्षा गर्ने र राज्य धर्महरूबीच निरपेक्ष रहे भनेर धर्मनिरपेक्षता राखेको बताएका हुन्।
पछिल्लो पटक धर्मका बारेमा विभिन्न नेताहरूको विभिन्न विचार आएको र नेपाली कांग्रेसको सभापतिले गणतन्त्र बाहेकका विषयमा संविधानमा भएका व्यवस्थाको बारेमा छलफल गर्न सकिन्छ भनेको विषयलाई लिएर प्रधानमन्त्रीले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय समितिमा केही समयअघि हिन्दु धर्मको बारेमा छलफल भएको थियो। तर पार्टीले एक मतले संविधानका कुनै पनि मुख्य प्रावधान चलाउनु हुँदैन, नत्र धेरै कुरा बिग्रन्छ भन्ने निर्णय गरेको छ। त्यसले कांग्रेस संविधान हिन्दु धर्म राख्नुपर्छ भन्ने देखाउँदैन।’
प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले गणतन्त्र धर्म निरपेक्षताको बारेमा सार्वजनिक रूपमा पनि बचाउ गरिरहेको उनले बताए।
‘केपीजीले त सार्वजनिक रूपमा बोलिरहनु भएको तपाईंहरूले देख्नुभएकै छ’, उनले भने।
बाहिरका शक्ति र व्यक्तिहरूले संविधानमा हिन्दु धर्म राख्नेबारे चासो राख्दा आफूहरूले ‘तपाईंहरूकै देशमा हिन्दु धर्म राखे भयो नि’ भन्ने उत्तर दिने गरेको उनले बताए।
प्रधानमन्त्री दाहालले विश्वले नै अपनाएको लोकतान्त्रिक गणतन्त्र वैज्ञानिक र अग्रगामी शासन व्यवस्था भएकाले अहिले आएर यसको विकल्प खोज्नु सर्वथा गलत हुने बताउँदै कुनै तत्वले यसको विकल्प खोज्दैमा सम्भव नहुने बताए ।
३- सत्ता गठबन्धन टुट्दैन
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारमा सम्मिलित राजनीतिक दलहरुको सत्ता गठबन्धन नटुट्ने पनि स्पष्ट गरे । उनले भने, “तत्कालै यो सत्ता गठबनधन टुट्दैन र पछि पनि टुट्नेवाला छैन ।”
अहिले विभिन्न कोणबाट सत्तारुढ दलहरुको अहिलेको गठबन्धन टुट्न लागेको त होइन भन्ने प्रश्न आउने गरेको भए पनि सत्तारुढ दलहरुको यो गठबन्धन कायम रहने प्रधानमन्त्रीले स्पष्ट पारे ।
उनले भने, “मलाई थाहा छ, मेरो ससंद्मा ३२ सिट छ र संसदीय अङ्कगणितमा म शक्तिशाली पनि छैन । तर पनि म लक्की छु, किनकी यो गठबन्धन तत्काल टुट्दैन र टुटनेवाला पनि छैन ।”
४- टिकटक बन्द होइन नियमन मात्र
प्रधानमन्त्री प्रचण्डलाई टिकटक बन्द गरिएका विषयमा सम्पादकहरुले सोधेको प्रश्नमा उनले भने, “यो बन्द गर्नुपर्यो आवाज नै धेरैतिरबाट आएको हो । कांग्रेस सभापति, एमाले अध्यक्षले पनि पटकपटक भन्नुभएको हो । बरु मैले त विवाद हुन्छ कि भनेर दुईरतीन महिना नै पर सारेको हो तर हाललाई बन्द गरौँ भन्ने भएर गरिएको हो । तर यो सधैँलाई बन्द नै गर्ने नियत सरकारको होइन बरु सामाजिक सञ्जालसम्बन्धी विधेयक आउँदैछ, त्यसमा नियमन गर्ने प्रावधान राख्न सकिन्छ ।”
नियमन नै नहुने भन्ने कुनै पनि विषय नहुने भएकाले नियमन गर्न सकिने भन्दै प्रधानमन्त्रीले यसका लागि बरु के कस्ता नियमनकारी प्रावधान राख्न सकिन्छ भनेर सुझाव दिन सबैलाई आह्वान गरिएको बताए ।
टिकटकका विषयमा आफूले प्रदेश प्रदेशमा गएर नागरिकका आवाज पनि सुनेको र जनताले नै सरकारले यसलाई बन्द गरिदेओस् भन्ने गरेका प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसबाट बहुसङ्ख्यक नागरिक टिकटक बन्द भएकामा नै खुसी रहेका बताए । उनले भने, “कतै कतै सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभियो भन्ने आवाज पनि मैले सुन्ने गरेको छु । त्यो बिल्कुल गलत हो, हामी नागरिकका सबै प्रकारका अधिकार रक्षाको पक्षमा छौँ ।”
५- आर्थिक सङ्कट समाधानउन्मुख छ
प्रधानमन्त्री प्रचण्डले नेपालमा आर्थिक सङ्कट रहेको र यसको समाधान तत्कालै खोज्नुपर्छ भन्ने कुरा सबैतिरबाट आएकाले यसका लागि सरकार केन्द्रित भएको पनि बताए । उनले भने, “एकपटक आर्थिक ‘एजेन्डा’मा धक्का दिएर अर्थतन्त्रमा सुधार ल्याउन सकियो भने अब मुुलुक राम्रोसँग अघि बढ्छ भन्ने मेरो आत्मविश्वास छ, यसका लागि निजी क्षेत्र तथा सरोकारवालासँग बारम्बार छलफल गरिरहेका छौँ र अब फेरि अर्को यस्तै राष्ट्रिय स्तरको छलफलको तयारी पनि गरिरहेका छौँ ।”
“आर्थिक सूचकाङ्क हेर्दा राम्रै देखिन्छ, पर्यटक आगमन, रेमिट्यान्सको अवस्था एवं वैदेशक मुद्राको सञ्चिति हेर्दा पनि सबै ठिकै देखिन्छ । तर वातावरण छैन भन्ने छ अनि व्यवसायीहरु सटर बन्द भएको भयै छ भन्छन् । त्यसैले अब यो के हो त भन्ने बारेमा पुनः एकपटक गम्भीर रुपमा छलफल गर्नेछौँ,” उनले भने ।
लघुवित्त तथा सहकारीसम्बन्धी नीति, बैंकको ब्याज तथा व्यवसायीलाई दिने प्याकेज आदि विषयमा सरकारले धेरै निर्णय पनि गरिसकेको तर कता कता यस विषयमा गाँठो नफुकेको पो हो कि भन्ने देखिएकाले सरकार यसको आवश्यक निदानका लागि लाग्ने उनले विश्वास दिलाए ।
६- जलवायु परिवर्तनमा सफल कूटनीति गरेँ
प्रधानमन्त्री प्रचण्डले संयुक्त अरब इमिरेट्सको दुबइमा जारी जलवायु सम्मेलन ‘कोप–२८’ नेपालमय भएको सुनाए ।
आफू संयुक्त राष्ट्रसङ्घीय महासभामा गएका बेला राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आमन्त्रण गरेको र उनी नेपालमा आई चार दिनसम्म बसेकाले अहिले कोप–२८ मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असरका बारेमा उनले नै वकालत गर्नु हाम्रा लागि खुसीको कुरा हो भने ।
यस पटकको विश्व सम्मेलनमा नेपालले आफ्ना कुरा स्पष्टसँग राखेको र महासचिव गुटेरेसले पनि नेपालको नाम पटकपटक लिएर नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने असरबाट जोगाउनुपर्ने बताएकाले नेपालले न्याय पाउने धारणा प्रधानमन्त्रीले राखे ।
जलवायुसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा पहिलोपटक नेपालका बारेमा यति धेरै चर्चा भएको भन्दै प्रधानमन्त्रीले नेपालले यसबारेमा पाउनुपर्ने सहयोगका लागि बल मिलेको बताए । उनले भने, “हामीले जलवायु परिवर्तनको असरका कारण प्राप्त गर्न पाउनुपर्ने अधिकारका कुरा राखेका छौँ र राष्ट्रसङ्घले पनि महसुुस गरेको छ । यसबाट अहिले विश्व समुदायलाई पनि जानकारी दिने काम भएको छ । त्यसैले हामीले सहयोग प्राप्त गर्छौं भन्ने मेरो विश्वास छ र यसका लागि नेपालका सम्बद्ध सबै निकायलाई ‘फलो अप’ गर्न पनि भनिसकेको छु ।”
७- एनसेल बिक्री प्रकरणमा थप अध्ययन हुन्छ
प्रधानमन्त्री प्रचण्डले नेपालमा सञ्चालनमा रहेको एक टेलिकम्युनिकेसन्स सेवा एनसेलको बिक्री भएका विषयमा हालैमात्र आएको समाचारबारे उनले सरकारले थप अध्ययन गर्ने बताए ।
यसअघि आफूले नै सरकारको नेतृत्व गरेका बेला सो कम्पनीबाट ठूलो मात्रामा कर असुली गरिएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अहिले आएर किन्ने र बेच्नेको मात्र कुरा मिलेर नहुने र त्यसलाई सरकारले थप अध्ययन गर्ने प्रतिक्रिया दिए ।
उनले भने, “सरकार अध्ययन नगरी अघि बढ्दैन । कम्पनीको करिब एक सय ३० अर्बजतिको सम्पत्तिलाई पाँचरछ अर्बमा बेच्न खोजिएको जस्तो सूचना हामीले पाएका छौँ । यहाँ क्रेता र बिक्रेताको मात्र कुरा मिलेर हुँदैन, त्यो सबै प्रक्रियामा सरकार र यसका सम्बद्ध निकाय पनि संलग्न हुनुपर्छ । अहिलेलाई म यत्ति नै भन्छु आजमात्र मुख्यसचिवसँग मैले यस विषयमा कुरा गरेको छु र अहिलेलाई यो प्रक्रिया रोकिन्छ र थप अध्ययन गरेरमात्र अघि बढिन्छ ।”