एनसेल खरिदबिक्री : संसदको लेखा समितिले सोधेका ९ प्रश्न

मूलखबर संवाददाता
काठमाडौं

एक अर्ब ३१ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४३ अर्ब रुपैयाँ (एक डलर बराबर १०५ रुपैयाँ)मा खरिद गरेको सम्पत्ति आठ वर्षपछि आजियाटाले पाँच करोड डलर अर्थात् ६ अर्ब ६० करोड रुपैयाँ (एक डलर बराबर १३२ रुपैयाँ)मा बिक्री गरेर बाहिरिएको चर्चाले बजार तातेको छ।

अझै पनि वार्षिक ३५ अर्ब रुपैयाँभन्दा माथिको कारोबार गर्ने देशको ठूलो कर्पोरेटमध्येको एक एनसेल के साढे ६ अर्ब रुपैयाँमै बिक्री भएको हो? वा यसभित्र अरु विषय पनि जोडिएका छन्?

नियामक निकायहरु आफैँ अनविज्ञ रहेको अवस्थामा संसदको सार्वजनिक लेखा समितिले एनसेलको शेयर बिक्री प्रकरणमा हात हालेको छ।

एनसेलको ८० प्रतिशत शेयर मलेसियाको आजियाटा कम्पनीले नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई बिक्री गरेको सन्दर्भमा लेखा समितिले चासो जनाउँदै विभिन्न निकायसँग जानकारी माग गरेको हो।

लेखा समितिका सचिव एकराम गिरीका अनुसार समितिले आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणसँग शेयर बिक्रीका सन्दर्भमा जानकारी उपलब्ध गराउन पत्राचार गरेको हो। सात वर्षअघि स्विडेनको टेलिया सोनेराले एनसेलको ८० प्रतिशत शेयर आजियाटालाई एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा बिक्री गरेको थियो।

तर आजियाटाले अहिले स्पेक्ट्रेलाइटलाई खरिद गरेको भन्दा ९६.३४ प्रतिशतले घटाएर पाँच करोड अमेरिकी डलर अर्थात् ६ अबै रुपैयाँ मात्रै बिक्री गरेको छ। बिक्री सम्झौतमा ६ महिनाभित्र ५० लाख अमेरिकी डलर र बाँकी चार करोड ५० लाख अमेरिकी डलर आउँदो चार वर्षभित्र चुक्ता गर्ने उल्लेख छ। र, सन् २०२९ सम्मको नाफा पनि आजियाटाले नै पाउने खरिद बिक्री सम्झौतामा उल्लेख गरेको सार्वजनिक भएको छ।

एनसेलको शेयर खरिद बिक्री अपत्यारिलो मूल्यमा भएपछि राज्यका निकायहरुमा तरंग पैदा भएको छ। अर्बौँ पुँजीगत लाभकर छल्न र ६ वर्षपछि एनसेनलको स्वामित्व सरकारीकरण हुन रोक्नका लागि अपत्यारिलो खरिद बिक्री भएको दाबी जानकारहरुले गरिरहेका बेला संसदको शक्तिशाली लेखा समितिले यो प्रकरणम हात हालेको हो।

सात वर्षअघि टेलियासोनेराले र आजियाटाको कारोबार हुँदा पनि लाभकर उठाउन लेखा समितिले काम गरेको थियो। त्यसको पुँजीगत लाभकर बिक्रेता टेलियासोनेराले तिर्नुपर्ने भए पनि त्यो कम्पनी भागेपछि आजियाटाबाटै उक्त कर उठाइएको थियो।

लेखा समितिले आइतबार प्रारम्भिक रुपमा मात्रै विषयवस्तु बारे जानकारी राख्ने उद्देश्यले पत्राचार गरेको गिरीले जानकारी दिए। उनले भने, ‘विषय बाहिर आएपछि हामीले प्रारम्भिक कुरा बुझ्न खोजेका हौँ। समितिको बैठक बसेर यस विषयमा छलफल हुन्छ।’

एनसेलको ८० प्रतिशत शेयर खरीद बिक्री वा स्वामित्व हस्तान्तरण सम्बन्धमा सार्वजनिक लेखा समितिका प्रारम्भिक जिज्ञासाहरुः

१. मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले आफ्नो स्वामित्वको ८० प्रतिशत (सम्पूर्ण शेयर) बेलायतमा दतां भएको स्पेक्ट्रलाइट कम्पनीलाई शुक्रवार विक्री गरेको भनी खरिद विक्री सम्झौता तथा प्रेस विज्ञप्ति जारी भएको देखिन्छ । प्रस्तुत विषयको आधिकारिकता के हो ?

२. एनसेलको विदेशी होल्डिङ्ग कम्पनीको स्वामित्वमा रहेको कम्पनीको शेयर खरिद विक्री वा हक हस्तान्तरण गदां कम्पनीले सेवा प्रवाह गरिरहेको मुलुकको कानूनी व्यवस्था परिपालना गर्नुपर्ने, नपर्ने के हो ?

३. दुरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पूँजीको ५ प्रतिशत शेयर खरिद विक्री गर्नु अघि नेपाल दुरसञ्चार प्राधिकरणको स्वीकृति र नेपाल दुरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम शेयरधनीको शेयर खरिद विक्रि वा नामसारी गर्नु पूर्व नेपाल दुरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानूनी प्रावधान यस सन्दर्भमा पूरा भएको छ वा छैन ? उल्लिखित परिपालना नभएको अवस्थामा कानून बमोजिम के कारवाही हुन्छ ?

४. यस अघि भएको कारोबार भन्दा निकै कम मूल्यमा होल्डिङ्ग कम्पनीबीच शेयर कारोबार वा स्वामित्व हस्तान्तरण सम्झौता हुनुको कारणलाई नियमनकारी निकायले कुन रुपमा लिएको छ ?

५. बिक्रीकर्ता कम्पनीले दोहोरो कर, नियमनकारीको अनिश्चितता, लाइन्सेसको म्याद सकिंदा उत्पन्न हुने अतिरिक्त जोखिम, लाइसेन्सको म्याद सकिएपश्चात् उक्त हिस्सा नेपाल सरकारले लिन सक्ने सम्भावना, नेपालमा वैदेशिक लगानीलाई सरक्षण गर्ने वातावरण नभएको कारण कम्पनीको अस्तित्व नै खतरामा आउने कारण उल्लेख गरेको सन्दर्भमा यसबाट नेपाललाई पर्न सक्ने प्रतिकूल प्रभाव के के हुन् ? र यस सम्बन्धमा तहाँ निकायको धारणा के हो?

६. पछिल्लो शेयर कारोवार गर्दा पूर्व कारोबारको शेयर पूँजी भन्दा निकै घटेर स्वामित्व हक हस्तान्तरण भएको सन्दर्भमा र नेपाल बाहिर यसरी स्वामित्व हक हस्तान्तरण भएको सन्दर्भमा कम्पनीले सरकारलाई तिनुपर्ने कर के हुन्छ ? करदाता ठूला करदाता भएकोले शेयर विक्रीसहित यति रकम तिर्छु भनी स्वः घोषणा गरेको छ वा छैन ? यस्तोमा आन्तरिक राजश्व विभागले Jeopardy Assessment गर्ने गरेको छ वा छैन ? आयकर ऐन, २०५८ अनुसार पूंजीगत लाभकर प्राप्त हुने वा नहुने र दफा ५७ अनुसारको स्वामित्व हस्तान्तरण कर प्राप्त हुन्छ वा हुदैन?

७. ५ करोड भन्दा बढी चुक्ता पूँजी भएको दुरसञ्चार सेवा प्रदायक कम्पनी दुईवर्ष भित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत भई यस्तो कम्पनीले शेयर कारोबार गर्न नेपाल धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्नेमा सो सम्बन्धमा एनसेल नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको देखिदैन। एनसेलको शेयर कारोबारको प्रकृति हेर्दा प्राइभेट कम्पनीको जस्तो कारोबार भएको देखिन्छ, यस सम्बन्धमा सम्बन्धित निकायको भनाइ के छ ?

८. नेपालको कर प्रणाली छलेर भएको शेयर खरिद विक्री वा हक हस्तान्तरण नेपालका नियमनकारी संस्थाहरुलाई जानकारी नै नदिई भएको भन्ने सुनिन आएकोले यो खरिद बिक्रीको प्रक्रिया र पारदर्शितामाथि सम्बन्धित नियमनकारी निकायको के भनाइ रहेको छ ?

९. लगभग ६ वर्ष पछि कानून बमोजिम नै नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै सोलाई समेत असर पर्न सक्ने गरी भएको अहिलेको कारोबारलाई अनुमति वा स्वीकृति प्रदान गर्ने, नगर्ने सम्बन्धमा नियमनकारी निकायको भनाई के रहेको छ ? यदि नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा सो कारोबारको वैधानिकता के हुन्छ ?