घट्यो पेट्रेलियमको मूल्य, सरकारको नीतिका कारण घट्यो निगम करिव ऋणमुक्त
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ ।
मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेलको मूल्य १६० रुपैयाँमा झरेको छ । सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ र डिजेलको मूल्य १५९ रुपैयाँ कायम भएको छ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य घटाएको हो ।
ऋण घट्यो
नेपाल आयल निगम वाह्य ऋणमुक्त भएको छ । निगमले गत मंगलबार अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई अन्तिम किस्तास्वरुप ७० करोड रुपैयाँ बुझाएर ऋणमुक्त भएको हो ।
सरकारबाट लिएको सात अर्ब रुपैयाँ ऋण चुक्ता गरेसँगै निगम ऋणमुक्त भएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । यसअघि नै निगमले सरकारलाई ६ अर्ब ३० करोड रुपैयाँ ऋण तिरिसकेको थियो । योसँगै निगम ऋणमुक्त भएको छ । तर, आन्तरिक दायित्व भने २६ अर्ब रहेको ठाकुर बताउँछन् ।
सरकारको नीतिका कारण नेपाल आयल निगमले ऋण पनि घटाएको छ। ऋण घट्दै जाँदा मूल्य प्रणालीलाई पनि स्वचालित बनाइएको हो।