एनसेलले नाफा कमाइरहेकै बेला किन फर्किँदै छ आजियाटा, यस्तो छ भित्री कारण
दूरसञ्चार सेवा प्रदायक एनसेलबाट आजियाटा समूह बाहिरिने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिले निर्णय गर्दै एनसेलबाट बाहिरिने निर्णय गरेको हो।
समूहले नेपालमा व्यापारिक समस्या र चुनौती बढ्दै गएको भन्दै बाहिरिने निर्णय गरेको हो। एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी बिक्रीमा राख्नेसमेत निर्णय गरेकाे छ। एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।
यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो। त्यसबेला आजियाटाले सेयर किनेको थियो। सेयर किनेको ७ वर्षपछि कम्पनी पनि बाहिरिने निष्कर्षमा पुगेको हो।
एनसेलको सेयर ७ वर्ष अगाडि आजिएटाले किनेको थियो । आजियाटालाई स्वीडेनको टेलिया सोनेराले सेयर बेचेको थियो ।
नेपालमा बलियो दूरसञ्चार कम्पनीका रुपमा रहेको एनसेलबाट आजियाटा बाहिरिँदा यसले वैदेशिक लगानीका क्षेत्रमा गलत सन्देश दिने आकलन गरिएको छ । सन् २००४ मा स्पाइस नेपालका रुपमा स्थापना भएको कम्पनीले सन् २००५ मा मेरो मोबाइलमार्फत् दूरसञ्चार सेवा सुरु गरेको थियो ।
त्यसपछि सन् २००८ मा स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर किन्न इच्छा देखाएको थियो । खरिद गरेपछि सन् २०१० को मार्च १२ मा स्पाइस नेपालको नाम फेरिएर एनसेल राखिएको थियो ।
किन बाहिरियो आजियाटा
आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा आगामी यात्रा चूनौतीपूर्ण भएकाले ग्रुप र लगानीकर्ताको हितमा यो निर्णयमा पुगेको बताएका छन् । दूरसञ्चार ऐन, २०५३ अनुसार दूरसञ्चार सेवा सञ्चालनको अनुमति लिएका कम्पनीको लाइसेन्स अवधि २५ वर्षको हुन्छ ।
२५ वर्षपछि ५० प्रतिशत भन्दा बढी विदेशी लगानी भएका कम्पनी पूर्णरुपमा सरकारी स्वामित्वमा आउने व्यवस्था ऐनमा छ । यसअनुसार सन् २००४ मा स्थापना भएको एनसेल अबको करिब ६ वर्षपछि सरकारी स्वामित्वमा आउनेछ ।
एनसेलमा ८० प्रतिशत आजियाटाको र २० प्रतिशत नेपालकै सुनिभेरा क्यापिटल भेन्चरको लगानी छ । झन्झटबाट मुक्त हुन पनि आजियाटाले बाहिरिन खोजेको ठानिएको छ । अर्काे पछिल्ला वर्षहरुमा एनसेलको व्यापार लगातार घट्दै गएको छ ।
एनसेलले सन् २०२०/२१ मा ४० अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१/२२ मा ३९ अर्ब ७२ करोड ५० लाख र सन् २०२२/२३ मा एनसेलले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार सीम सब्सक्रिप्सनका आधारमा नेपालमा एनसेलको बजार हिस्सा ३८.०५ प्रतिशत छ । आजियाटाले सन् २०२७ सम्म अर्काे पुस्ताको डिजिटल च्याम्पियन बन्ने लक्ष्य रहेको उल्लेख गरेको छ ।
नेपालमा एनसेलबाहेक आजियाटाको मलेसिया, इन्डोनेसिया, श्रीलंका, बंग्लादेश, कम्बोडिया र इन्डोनेसियामा पनि दूरसञ्चार कम्पनीमा लगानी रहेको छ । आजियाटा ग्रुपका अन्य डिजिटल उद्यमहरुमा लगानी र सञ्चालन छ ।
नेपालबाट बाहिरिँदा आफ्ना रणनीतिक प्राथमिकता हासिल गर्न झन सहज हुने र ग्रुपका लगानीकर्तालाई पनि फाइदा हुने आजियाटाको भनाइ छ । यसबाट उसले समग्र ग्रुपको हितका लागि नेपालबाट बाहिरिन खोजेको देखिन्छ ।
कसले किन्दैछ ?
एनसेलको स्थानीय साझेदार सुनिभेरा क्यापिटल भेन्चरले नै बाँकी सेयर किन्ने टिकाटिप्पणी हुन थालेको छ । सुनिभेरा क्यापिटल सतिशलाल आचार्य र सचिनलाल आचार्यको स्वामित्वमा रहेको छ । बक्यौता तिर्न नसकेपछि केही महिनाअघि प्राधिकरणले खारेज गरेको स्मार्ट टेलिकमको स्थानीय साझेदार कम्पनीको स्वामित्वसमेत सचिनलाल आचार्यसँग थियो ।
एनसेलको सेयर किन्नेमा बजारमा अन्य इच्छुक लगानीकर्ता पनि हुन सक्ने सम्भावना छ । तर, आजियाटाले एनसेलमा रहेको सेयर कति मूल्यमा कसलाई बेच्दैछ भन्ने खुलाएको छैन । दूरसञ्चार क्षेत्रका एक सरकारी अधिकारीले आजियाटाले आफ्नो सेयर बिक्रीमा राखेको थाहा पाएको बताएका छन् ।
आजियाटा बाहिरिनु नबाहिरिनु उसको निजी अधिकारको विषय भएकाले कुनै नीतिका कारण विदेशी लगानीकर्ता बाहिरिएको त हैन कि ? भन्ने विषयमा टिप्पणी गर्न नसकिने ती अधिकारीको भनाइ छ । कम्पनीले सेयर बेच्ने निर्णय गरे पनि नेपाल दूरसञ्चार प्राधिकरणले अन्त्यमा अनुमति दिनुपर्छ । प्राधिकरणले यस विषयमा अहिले आजियाबाट कुनै औपचारिक जानकारी नआएको बताएको छ ।