माओवादी-नेसपा एकताः यसरी गरिँदैछ बाबुरामलाई पुरानै घरमा स्वागत

मूलखबर संवाददाता
काठमाडौं

जनयुद्धका सारथी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र अर्का सारथी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)बीचको पार्टी एकताले मूर्त रुप लिन लागेको छ ।

नेसपाभित्र तीव्र आन्तरिक दबावमा रहेका अध्यक्ष बाबुराम एकता गर्न सहमत भएपछि दुबै पार्टीले एकतालाई अन्तिम रुप दिने तयारी थालेका छन्।मंसिर ६ मा बसेको नेसपा केन्द्रीय समितिको बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेपछि पार्टी एकताले मूर्तरुप लिन लागको हो।

माओवादीका तर्फबाट एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा महासचिव देव गुरुङ लगायतको वार्ता टोली र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको वार्ता टोलीले एकता प्रक्रिया टुंगोमा लगाउन आन्तरिक छलफलमा जुटिरहेका छन्।

कसरी मिल्यो कुरा

केही समय संवाद नगरेका भए पनि कात्तिक २८ गते पनि प्रचण्ड–बाबुरामबीच खुलस्त भेट र कुराकानी भएको नेसपाका शीर्ष नेताहरूले खुलासा गरेका छन्। दुई नेताबीच दुई दिनको छलफलले देशको समग्र राजनीति स्थिति, सडक, सामाजिक सञ्जालमा भइरहेको गतिविधि र पार्टी एकताबारे गम्भीर छलफल भएको दुवै पार्टीका नेताहरूले स्वीकार गरेका छन् । भेटवार्तामा समाजवादी मोर्चा गठन र पत्राचारसम्बन्धमा भएका असमझदारी हल गर्न ती भेट महत्त्वपूर्ण भएको नेताहरूको भनाइ छ ।

त्यस्तै मंसिर २ गते नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादव र सहअध्यक्ष गंगा श्रेष्ठसँग प्रचण्डले छलफल गरे । छलफल पश्चात शीर्ष तहमै एकता समायोजन समिति बनाउन प्रचण्ड र बाबुरामबिच सहमति भएको थियो । शीर्ष नेताबिच भएको सहमति अनुसार ३ गते दुवै पार्टीका वार्ता टोलीको बैठक बसेर एकता प्रक्रिया अगाडि बढाउन एकता समितिलाई सुझाव दिने निर्णय भयो ।

तीन दिनसम्म भएको कार्यप्रगतिलाई हेरेर उत्साहित भएका प्रचण्डले रुकुम पूर्वमा पुगेर यसबारे जानकारी दिएका थिए । वार्ता टोलीको निर्णयलाई लिएर ४ गते बिहान केन्द्रीय कार्यालय सुविधानगरमा नेसपाका अध्यक्षद्वय बाबुराम, महिन्द्र, सहअध्यक्ष गंगा र महासचिव रमेश यादवबिच गम्भीर छलफल भयो । बैठकमा शीर्ष नेताबिच भएको छलफल, वार्ता टोलीले गरेको निर्णय, एकताको आधार, वार्ता टोलीले माओवादीलाई पठाएको ९ बुँदे पत्र र एकतासम्बन्धी माओवादीको पत्राचारको विषयमा गहन छलफल भएको थियो ।

मूल घरमा बाबुरामलाई पुरानै हैसियत
माओवादी केन्द्रले बाबुराम भट्टराईलाई दोस्रो वरियता दिनेबारे छलफल थालिसकेको छ । बाबुरामलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछिको दोस्रो वरियता दिने आन्तरिक तयारी भएको हो ।

अहिले माओवादीमा प्रचण्डपछिको दोस्रो वरियतामा नारायणकाजी श्रेष्ठ छन् । उनी पार्टीमा वरिष्ठ उपाध्यक्ष छन् । २०७२ सालमा माओवादी छाड्दा प्रचण्डपछिको दोस्रो वरियतामा बाबुराम नै थिए ।

प्रचण्डसँगको तीन दशकको सहकार्य तोडेर हिँडेका बाबुराम अहिले माओवादीसँग जोडिन आएपछि फेरि त्यही स्थान उनलाई दिन प्रचण्ड तयार देखिएका छन् । माओवादी छाडेपछि नयाँ शक्ति जसपा हुँदै नेसपामा आइपुग्दा पनि पार्टीमा जनआकर्षण गराउन नसकेपछि बाबुराम पुरानै घर फर्किने तयारी गरेका हुन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि शीर्ष नेताहरुबीचको बैठकपछि एकता प्रक्रिया अघि बढ्ने बताए । एकता समायोजन समिति बनाएपछि पार्टी संरचनादेखि नेताहरुको जिम्मेवारी टुंगिने उनको भनाइ छ ।

गत चैतमा बाबुरामले वार्ता टोलीका संयोजक श्रेष्ठमार्फत् माओवादीलाई पठाएको ९ बुँदे प्रस्तावमा अध्यक्षपछि दोस्रो वरियतामा एक सहअध्यक्षको व्यवस्था हुनुपर्ने उल्लेख थियो ।

मुख्यतः समाजवादी केन्द्र निर्माणको आवश्यकता सँगसँगै व्यक्तिको वरिष्ठता, क्रियाशीलता, योग्यता, क्षमता र प्रभावकारिताको आधारमा कम्तिमा नेसपाबाट ७ जनालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्ने प्रस्ताव छ ।

पार्टीमा सामान्यतः पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ । तर, आवश्यक परेमा माथिल्लो समितिको सदस्य तल्लो समितिमा पदाधिकारीसम्म बन्नसक्ने प्रस्तावमा छ।