यसरी सम्भव भयो इजरायल-हमासको युद्धबिराम, ५० बन्धकमा विपिन पर्लान् त !

मूलखबर संवाददाता
काठमाडौं

२ साता लामो भिषण युद्धपछि मध्यपूर्वमा शान्तिको संकेत देखिएको छ। इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा चार दिनको अस्थायी युद्धविरामका क्रममा ती बन्धकलाई रिहा गरिने उल्लेख छ । रिहा गरिने ५० बन्धकमा महिला र बालबालिका हुनेछन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ । सरकारले आज यो उद्देश्य हासिल गर्न पहिलो चरणको रूपरेखा स्वीकृत गरेको छ, जसअनुसार चार दिनभित्र महिला र बालबालिकासहित ५० बन्धकलाई रिहा गरिनेछ । त्यसक्रममा युद्ध रोकिनेछ ।”

बुधबार बिहानसम्म चलेको लामो बैठकपछि इजरायलको मन्त्रिपरिषद्ले सो सम्झौतालाई अनुमोदन गरेको बीबीसीले जनाएको छ ।

 

बैठकअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकको रिहाइपछि पनि गाजामा युद्ध जारी रहने बताएका थिए ।

हमासले पनि टेलिग्राममा एक विज्ञप्ति जारी गर्दै ‘मानवीय आधारमा युद्धविराम’मा सहमति भएको जनाएको छ । यो सम्झौताको मध्यस्थता गरेकामा हमासले कतार र इजिप्टलाई धन्यवाद पनि दिएको छ ।

गएको अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा एक हजार २०० मानिसको मृत्यु भएको थियो । २०० जनालाई हमासले बन्धक बनाएको थियो । त्यसयता इजरायल र हमासबीच युद्ध जारी छ ।

इजरायलको आक्रमणमा गाजामा १४ हजारभन्दा धेरै मानिसको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा पाँच हजारभन्दा बढी बालबालिका थिए ।

कसरी भयो युद्धविराम
संयुक्त राज्य अमेरिका, कतार र इजिप्टको सहयोगमा दुई पक्षबीच सहमति भएको हो।

उक्त सहमतिबारे छलफल गर्न इजरेली मन्त्रिपरिषद्को बैठक मङ्गलवार साँझ सुरु भएको थियो। त्यसलाई अनुमोदन गर्ने निर्णय गर्दा बुधवार बिहान भइसकेको थियो।

हमास र इजरेलबीच चार दिनका लागि सङ्घर्षविराम गर्ने र बन्दी साटफेर गर्ने विषयमा भएको सहमतिका लागि कतारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बुधवार अमेरिकी राष्ट्रपति जो बाइडनले कतारको प्रशंसा गरे।

दुई पक्षबीच त्यस्तो सहमति गराउन कतारबाहेक अमेरिका र इजिप्टले पनि सहयोग गरेका थिए। कतारी प्रधानमन्त्रीले अमेरिका र इजिप्टप्रति कृतज्ञता प्रकट गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले उक्त सम्झौता “एउटा बृहत् तथा दीर्घकालीन सहमति” बन्ने र त्यसबाट “युद्ध र रक्तपातको अन्त्य हुने” अपेक्षा व्यक्त गरेका छन्।

उनले अहिलेको सहमतिबाट “बृहत् र न्यायसङ्गत शान्ति प्रक्रियाका लागि गम्भीर वार्ता”को बाटो खुल्न सक्ने जनाएका छन्।

उक्त सङ्घर्षविराम स्थानीय समय अनुसार बिहीवार बिहान १० बजेबाट सुरु हुने विवरणहरूमा जनाइएको छ।

जसक्रममा मानवीय सहायता बोकेका गाडीहरू पनि गाजा पुग्ने आशा गरिएको छ।

इजरेल सरकारले यसलाई युद्धको अन्त्य नभएको भन्दै “हमासलाई पूर्ण रूपमा निस्तेज पार्ने” आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। उसले अझै गाजामा हवाई हमलाहरू रोकेको छैन।

थप दश-दशजना बन्धकहरू छाडिँदाको अवस्थामा सङ्घर्षविराम एक-एक दिनले थपिने इजरेलले जनाएको छ।

बीबीसीले मुक्त गर्न लागिएका इजरेली बन्धकहरूको सूचीमा ३० जना बालबालिका, आठजना महिला र १२ जना वृद्ध महिलाहरू समावेश गरिने बताइएको जनाएको छ। ती सबै इजरेली यहुदीहरू हुनेछन्।

यूकेका विदेशमन्त्री डेभिड क्यामरनले यस सहमतिलाई बन्धकहरू छुटाउन र गाजामा मानवीय सहायता पुर्‍याउनका लागि “महत्त्वपूर्ण कदम” भनेका छन्।

फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले सबै बन्धकहरू छुटाउनका लागि “अथक” प्रयासहरू भइरहेको जनाएका छन्।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यसलाई “सही दिशामा महत्त्वपूर्ण कदम” बताएका छन्। तर उनले “थप धेरै कामहरू गर्न आवश्यक रहेको” बताएका छन्।

रोममा पोप फ्रान्सिसले बन्धकहरूका इजरेली परिवार र इजरेली जेलमा रहेका प्यालेस्टिनीहरूका आफन्तहरूलाई भेटेका छन्।

जसपछि उनले जारी द्वन्द्व युद्धभन्दा पर गएर “आतङ्कवाद” बनेको र दुवै पक्षलाई पीडा दिएको बताए।

५० जनामा विपिन पर्लान् त !
सम्झौताअनुसार चार दिनभित्र महिला र बालबालिकासहित ५० बन्धकलाई रिहा गरिनेछ । ७ अक्टोबरको आक्रमणमा इजरेलमा केही विदेशी नागरिकसहित १,२०० जनाभन्दा बढीको मृत्यु भएको थियो। मारिनेहरूमा १० जना नेपाली नागरिक पनि थिए।

लडाकुहरूले इजरेलबाट २०० जनाभन्दा बढीलाई बन्धक बनाएर गाजा स्ट्रिपतिर लगेका थिए। त्यसरी बन्धक बनाइएकामा नेपाली नागरिक विपिन जोशी पनि भएको ठानिएको छ।

केही दिनअघि इजरेली सेनाले अक्टोबर ७ मा खिचिएको एउटा भिडिओ सार्वजनिक गर्दै त्यसमा नेपाली बन्धक देखिएको जनाएको थियो।

हमासले इजरेली बन्दीहरूलाई मुक्त गर्दा १५० प्यालेस्टिनीहरू इजरेली जेलबाट छुट्ने बताएको छ।

अब अझै धेरै बन्धकहरूको रिहाइका लागि वातावरण बनाउने गरी सम्झौता गरिएको छ। सुरुमा हमासले ५० महिला तथा बालबालिकाहरूलाई छुट्टाछुट्टै रिहा गर्ने छ। त्यसमा पनि इजरेली नागरिक तथा दोहोरो नागरिकता भएका मानिसहरूले प्राथमिकता पाउने बताइएको छ।

युद्धविराम गर्न सहमति भएको खबर सुनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका-३ स्थित महानन्द जोशीको परिवारमा छोरा सकुशल फर्कने आशा बढेको छ।

हमासको कब्जामा रहेका विपिनको अवस्था थाहा नपाउँदा महानन्द र उनकी श्रीमती पद्मा ४६ दिनदेखि व्याकुल थिए। बिहानै युद्धविरामको समाचारले ४६ दिनदेखिको पर्खाइको सुखद् अन्त्य हुने विश्वास जगाएको छ।