शान्ति सम्झौताको ऐतिहासिक दिनः तीन प्रमुख शीर्ष नेताबीच टिआरसीमा सहमति
हिजो मंसिर ५ गते । अर्थात् तत्कालीन माओवादी विद्रोही र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको ऐतिहासिक दिन। २०६३ साल मंसिर ५ गते हिजोकै दिन तत्कालीन सत्तापक्ष र दसवर्षे जनयुद्ध नेतृत्व गर्ने माओवादीबीच २०६३ मंसिर ५ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा बृहत् शान्ति सम्झौता भएको थियो ।
संयोगवस शान्ति सम्झौताले १७ वर्ष पूरा गरेकै दिन प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका तीन शीर्ष नेताका बीचमा शान्ति प्रक्रिया टुग्गे लगाउने विषयमा समझदारी जुटेको छ ।
शान्ति सम्झौता भएको १७ वर्ष पुग्दापनि संक्रमणकालिन न्यायसँग सम्वन्धित विषय टीआरसीमा दलहरुका बीचमा सहमति जुटन नसक्दा शान्ति प्रक्रियाका काम अझै अधुरो रहँदै आएको थियो । तर माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता भएको १७ वर्ष पुगेकै दिन पारेर यस विषयमा रहेको विवाद टुग्गो लगाउन साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई छलफलमा बोलाई गरेको भेटघाटमा टीआरसीका विषयमा सहमति जुटेको बताइएको छ ।
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा भेटवार्ता भएको थियो। सो भेटमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टीआरसी)बारे सहमति भएको हो।
‘विधेयक संसद्मा छ, तीनशीर्ष नेताले शान्ति सम्झौता भएको दिन टीआसीलाई अघि बढाउने जेनेरल अन्डरस्टान्डिङ गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले मूलखबरसँग भने, ‘हिउँदे अधिवेशनमा विधेयक पास हुन्छ। आज त्यही सन्देश उहाँहरूले दिनुभएको छ।’
त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न पनि सहमति जुटेको छ।
‘संघीयता, गणतन्त्र र शान्ति समझौतको मर्म अनुसार आयोग गठन गर्ने र आवश्यक परे एकीकृत रुपमा अघि बढ्ने सहमति भएको छ,’ प्रचण्ड निकट स्रोतले भन्यो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले पनि नेपाल भ्रमणका क्रममा संघीय संसद्लाई सम्बोधन गर्दै शान्ति प्रक्रियाका काम टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय सहयोग रहने बताएका थिए।
संसदको समितिले मुख्य चार विषयमा विवाद थाँती राख्दै शीर्ष नेताहरुलाई विवाद मिलाउने जिम्मा दिएको थियो । संसदको अबको अधिवेशनमा टीआरसी विधेयक संसदबाट पारित गरेर जाने दलहरुका बीचमा सहमति छ ।