गणतन्त्र विरोधीबारे प्रचण्ड, ओली र नेपालकाे एकै स्वर
गत कात्तिक २१ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी दलहरुको बैठक डाकेका थिए । सिंहदरबारमा बसेको बैठकमा सामाजिक अराजकता बढ्दै गएको विषयले प्रवेश पाएको थियो ।
प्रधानमन्त्री प्रचण्डले नै अराजकता बढ्दै गएको प्रसंग निकालेका थिए । सहभागी एक नेताका अनुसार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रसंग नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि उठाएका थिए । बैठकमा तपाईंहरुलाई मार्सी चामाल खुवाएर प्रसाईंले फसाए भन्ने कुरा उठेपछि हासो फैलिएको थियो ।
एमाले अध्यक्ष केपी ओलीले काखी च्यापेर राजनीतिको मैदानमा उतारेका विवादित व्यवसायी दुर्गा प्रसाई अहिले ओली र सिंगो एमालेका लागि टाउको दुखाइको विषय बनिरहेका छन्। प्रसाइँले आफ्नो पक्षमा माहोल देखाउन पूर्वराजावादीहरुसँग गठजोड गरिरहेका छन्।
आर्थिक मन्दीले व्यवसाय कमजोर भएका कतिपय व्यापारी बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नुपर्दैन भनेर लहलहैमा प्रसाइँको पछि लागिरहेका छन्। प्रसाइँले सबैको ऋण मिनाह हुन्छ भनेका भरमा कतिपय उनको पछि लागिरहेका छन्। मारवाडी समुदायलाई मन नपराउने कतिपय व्यापारीले प्रसाइँको विवादास्पद अभिव्यक्तिमा साथ दिइरहेका छन्। हिन्दुवादी संगठन पनि यहीबेला सक्रिय भएका छन्।
अर्कातिर आर्थिक मन्दीमा ठोस कदम चाल्न नसकेको र सेवा प्रवाहमा सुधार ल्याउन नसकेको भनेर सरकारमाथि चर्को असन्तुष्टि छ। पटक पटक सरकारको नेतृत्वमा पुगेर पनि काम गर्न नसकेका कांग्रेस, एमाले र माओवादी केन्द्रका शिर्ष नेताप्रति उतिकै आक्रोश छ। उनीहरुप्रति आक्रोश र असन्तोष चर्काउन सामाजिक सञ्जालले पनि भूमिका निर्वाह गरेको छ।
प्रचण्डको प्रष्ट सन्देश
छलफलमा प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध गतिविधि भइरहेको भन्दै त्यसप्रति सचेत हुन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताहरूको ध्यानाकर्षण गराएका थिए। जनताको असन्तुष्टिमा खेलेर अराजकता फैलाउने प्रयास भइरहेको उनको भनाइ थियो।
उनले शुक्रबार तनहुँ पुगेर पनि त्यस्तै अभिव्यक्ति दिए। उनले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका थिए। उनले भने, ‘संविधान र व्यवस्थाविरुद्ध षड्यन्त्र भइरहेको छ। एकथरि तत्व कुनै न कुनैरूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेको छ। प्रतिगमनका निम्ति मलजल गरिरहेका छन्।’
केही समय पहिले कोसी प्रदेशदेखि नेपालगन्ज र तराईका जिल्लामा देखिएका गतिविधिले लोकतान्त्रिक व्यवस्थालाई नै उल्ट्याउन सघाउने त होइन भन्ने आशंकामा यसखाले अभिव्यक्ति आएको हुन सक्ने गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए।
‘सामाजिक सद्भाव भड्किने र धार्मिक गतिविधि बढेर सुरक्षा चुनौती थपिएको ब्रिफिङ भएको हो। तर, व्यवस्था परिवर्तन गर्ने नै गरी ठूला गतिविधि हुन लागेको सूचना आएको छैन। जुन गतिविधि भए तिनलाई झिल्कोका रुपमा चाहिं हेर्न सकिन्छ,’ गृहमन्त्रालयको ब्रिफिङमा सहभागी भएका एक सुरक्षा मामिलाका जानकारले मूलखबरलाई भने।
कांग्रेस एमाले र माओवादी केन्द्रका लागि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनौतीका रुपमा देखिएको छ। ती दलका कार्यकर्ता अहिले धमाधम रास्वपामा प्रवेश गरिरहेका छन्। यस्तै हिन्दु धर्मको नाममा राजनीतिक गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उक्साउँदै आएको छ। शाहका गतिविधिले पनि पुराना राजनीतिक दललाई असुरक्षित महसुस गराएको छ।
शीर्ष नेताको एक स्वर
प्रचण्डले गणतन्त्रविरोधीलाई लफङ्गाको संज्ञा दिँदै ७० वर्ष लडेर ल्याएको व्यवस्थालाई उल्ट्याउन सम्भव नभएको बताएका छन्। तनहुँको आँबुखैरेनीमा शुक्रबार आयोजित अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू एक भएको पनि बताए।
‘७० वर्ष लडेर प्राप्त उपलब्धिलाई एक दुई जना हावा, ‘राजनीतिक लफङ्गा’ले उल्टाने कुरा गरेको सुनिन्छ। अनि उनीहरूले गरेको यो सबै नेपाली जनताले बिर्सन्छ त? त्यो उल्टिन्छ त?सम्भव छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।
आफूले पछिल्लो समय बढ्दै गएको अराजकताबारे सबै दलहरूसँग सर्वदलीय बैठकमा सोधेको स्मरण गर्दै भने, ‘मैले राजनीतिक दलहरू कति परिवर्तनको पक्षमा छन् भन्ने बुझ्नका लागि बोलाएँ। हामी टुलुटुली हेरेर बस्ने कि यो छाडापन रोक्ने हो? भनेर सोधेँ।’
जवाफमा नेताहरूले आवश्यक परे सडकमा जान तयार भएको पनि बताएका छन्। ‘एउटा कमिटमेन्ट मैले प्राप्त गरेँ। हामी गणतन्त्र र लोकतन्त्रको निम्ति सडकमा जान तयार छौं भनेका छन्। अरु त अरु प्रमुख प्रतिपक्षी दलको नेताले अझै ज्यान छाडेर यसका विरुद्ध जान्छौं भन्नुभयो। विषय गहिरो छ। त्यति सजिलो छैन,’ उनले भने।
स्थानीय सरकार पनि सिहंदरबार नै रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश संरचनाहरू ब्यवस्थित बनाउने काम भइरहेको बताए।
विवादित व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ मा काठमाडौंमा गर्ने शक्ति प्रदर्शनलाई सरकारले चुनौतीका रूपमा लिएको छ। राजावादीको आडमा काठमाडौंमा हुने प्रदर्शनले थप अराजकता निम्त्याउने विश्लेषण सत्तारुढ दलभित्र छ।
प्रसाईंको आन्दोलनको प्रतिवाद गर्ने एमालेको तयारीपछि सरकार झन् दबाबमा परेकाे छ। एमालेको युवा संघ र अनेरास्ववियुले प्रसाईंको प्रदर्शनलाई निस्तेज पार्न मंसिर ७ मै काठमाडौंमा शक्ति प्रदर्शनको घोषणा गरेको छन्।
एमाले र प्रसाईंको प्रदर्शनले मुठभेड हुनसक्ने रिपोर्टिङ सुरक्षा निकायका प्रमुखले प्रचण्डलाई गराइसेका छन्। ‘एउटै मिति र स्थानमा हुने भएकाले मुठभेडको जोखिम उच्च छ। प्रधानमन्त्री यसबारे जानकार हुनुहुन्छ,’ प्रचण्ड निकट स्रोतले भन्यो।
ओली पनि आक्रामक
एमालेका अध्यक्ष केपी शर्मा ओलीका आडमा उदाएका भए पनि अहिले भने प्रसाईं एमालेका लागि चुनौती बनिरहेका छन्। प्रसाईं पछिल्लो समय ओली र एमाले नेता महेश बस्नेतमाथि बढी आक्रामक छन्। प्रसाईंलाई निस्तेज गर्ने तयारी थालेको एमालेले संयमबारे पनि आफू चनाखो रहेको बताइरहेको छ।
शनिवार एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्ना पार्टीका संगठनले गर्ने प्रदर्शनलाई संयमित बनाउनुपर्ने बताए। उनले आक्रामकभन्दा पनि जोसिलो प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसिर ७ गते काठमाडौंमा आयोजित प्रदर्शनप्रति संकेत गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउनेहरूलाई एमालेले तह लगाउने समेत बताए ।
शनिबार च्यासलमा पार्टीको जनसंगठन संयन्त्रद्वारा आयोजित विशेष भेलामा उनले प्रतिक्रियावादी शक्तिले देशभरका मान्छेलाई काठमाडौंमा उतार्ने काम जोडतोडका साथ अघि बढाए पनि त्यसले यहाँ फोहोर पार्नेबाहेक अरू केही गर्न नसक्ने टिप्पणी गरे ।
देशलाई अप्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउनका निम्ति आफूहरूले पनि मंसिर ७ गते युवा–विद्यार्थीको प्रदर्शन गर्न लागिएको उनले जानकारी गराए । उनले सो प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न युवा–विद्यार्थीहरूलाई निर्देशन पनि दिए ।
माधव नेपालको पनि उस्तै
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएकाले त्यसको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार हुनुपर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा आयोजित प्रशिक्षणको उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, २०७२ र विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन एकीकृत समाजवादी तयार रहेको बताए ।
व्यवस्थामाथि नै चुनौती दिने कुरा स्वीकार्य नहुने उनले उल्लेख गरे । अध्यक्ष नेपालले भने, “संविधान र गणतन्त्रका पक्षमा हामी जनतामाझ जान्छौँ । हामी त्यसका लागि जनताको शक्तिलाई परिचालित गर्न चाहन्छौँ ।”