गाजामाथिको आक्रमणविरुद्ध इजरायलमै प्रदर्शन, बन्धक आफन्तको खोजी पनि

मूलखबर संवाददाता
काठमाडौं

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको बन्धकमा रहेका आफ्ना आफन्तहरूको सुरक्षा माग गर्दै हजारौं इसराइलीहरू सडकमा उत्रिएका छन्।

शनिबार तेल अभिभस्थित इसराइलको सैनिक मुख्यालय अगाडि हजारौं नागरिकहरूले प्रदर्शन गरेका हुन्। द न्युयोर्क टाइम्सका अनुसार उनीहरूले सरकारसँग गजामा बन्धक रहेका आफ्ना आफन्तहरूको सुरक्षित उद्धार हुनुपर्ने माग गरेका छन्।

उनीहरूले हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूको फोटोसहितको प्लाकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा बन्धक बनाइएका आफ्ना नागरिकहरूको सुरक्षाका निम्ति सरकार संवेदनशील नभएको र पर्याप्त प्रयास नगरेको उनीहरूको आरोप छ।

न्युयोर्क टाइम्ससँगको कुराकानीमा प्रदर्शनमा सहभागी ५६ वर्षीय योआभ डोव्राटले सरकारले बन्धकहरूको रिहाईका लागि प्रतिबद्ध रहेको बताएपनि नेताहरूले त्यसलाई उच्च प्राथमिकतामा नराखेको बताए।

प्रदर्शनमा सहभागी ५० वर्षीय यस्मिन बेकर गजामा इसराइलले गरेको सैनिक कारबाही बन्धकहरूलाई रिहा गर्ने उत्तम उपाय नरहेको बताइन्।

७६ वर्षीय अमरम जहावीले जमिनबाट गरिएको आक्रमणबाट बन्धकहरूको सुरक्षामा चुनौती थपिने बताए। ‘त्यसो गर्दा उद्धार हुनुभन्दा अगाडि बन्धकहरू मारिन सक्छन्,’ उनको भनाइ उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

बन्धकहरूको सुरक्षा सुनिश्चित गर्न प्रधानमन्त्री नेतन्याहुले तदारूकता नदेखाएको उनको बुझाइ थियो।

गत बुधबार ५० बन्धकहरूको रिहाईबारे इसराइल र हमास करिब सहमतिमा पुगेको भएपनि इसराइलले गजामा आक्रमण तीव्र बनाएपछि त्यो हुन नसकेको टाइम्सलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।

हमासले अक्टोबर ७ मा इसराइलमा आक्रमण गरी त्यहाँबाट २ सय भन्दा बढी नागरिकहरूलाई बन्धक बनाएर गजा पुर्‍याएको बताइएको छ।

बन्धक बनाइएकाहरूमा नेपालका विपिन जोशी समेत रहेको इसराइलले जानकारी दिइसकेको छ। त्यस्तै अमेरिका लगायत विभिन्न मुलुकका नागरिकहरू हमासको बन्धकमा छन्।

शनिबारको प्रदर्शन इसराइल- हमास युद्ध अघि सरकारले सर्वोच्च अदालतको अस्तित्व सकिने गरी विधेयक ल्याएको विरोधमा भएको भएको आन्दोलनको निरन्तरता समेत रहेको बताइएको छ।

त्यहाँ गठबन्धन सरकारले १२० सदस्यीय संसदको सामान्य बहुमतले सर्वोच्च अदालतका लगभग सबै फैसला रद्द गरिदिन सक्ने र अदालतका न्यायाधीशहरू राजनीतिक दलहरूले नियुक्त गर्ने प्रावधानसहितको विधेयक ल्याएको थियो।

उक्त विधेयक पारित भए शक्ति पृथकीकरणमा महत्वपूर्ण भूमिका रहेको स्वतन्त्र न्यायालयको अस्तित्व सकिने भन्दै विरोध भएको थियो।

‘लक्ष्य अलिकति फरक छ। तर मलाई आशा छ कि यसले एउटै कुरामा पुर्‍याउँछ त्यो हो सरकार परिवर्तन। र यो कुरा जति चाँडो भयो त्यति नै राम्रो हुन्छ,’ प्रदर्शनमा सहभागी डोभ्राटको भनाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।