जनयुद्धको उद्गम थवाङ र लिवाङबाट संसारलाई नै महत्त्वपूर्ण सन्देश- प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६ वर्षपछि शुक्रबार रोल्पाको थवाङ पुगेका छन्। उनी थवाङ खोलामा नवनिर्मित पक्की पुल उद्घाटन गर्न गएका हुन्।
थवाङलाई सशस्त्र द्वन्द्वका बेला माओवादीले आधार क्षेत्रका रुपमा लिने गरेको थियो। दाहालले सशस्त्र विद्रोहको तयारी, उठान र सञ्चालन थवाङबाटै गरेको बताए।
उनी थवाङमा सहिद मार्ग अन्तर्गत बनाइएको १६९ मिटर लम्बाइको पुल उद्घाटनका साथै पार्टीको गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन्।
कार्यक्रममा सम्बोधनका क्रममा विभाजनका कारण माओवादी केही कमजोर बनेपनि नेत्रविक्रम चन्द नेतृत्वको पार्टीसँग एकीकरणका लागि कुरा भइरहेको र एकीकरणपछि पार्टी बलियो हुने बताए। उनले रोल्पाका सबै स्थानमा विद्युत् सेवा विस्तार गर्ने आश्वासन पनि दिएका छन्।
अस्पताल भवन उद्घाटनका क्रममा उनले रोल्पा क्रान्ति, शान्ति, निर्माण र पुनःनिर्माणको प्रतीक भएको बताए। ‘पछिल्लो परिवर्तनको मियो रोल्पा विकासका दृष्टिले पछि रहे पनि विस्तारै विकासको मूल प्रवाहमा प्रवेश गर्न लागेको छ,’ उनले भने।
उनले अस्पतालमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने आश्वासन दिए। उनी २०६४ को निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका थिए।
‘झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो । थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु’, प्रचण्डले भने।
थवाङलाई देशले मात्रै नभइ सिंगो विश्वले चिन्ने बताउँदै उनले बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिने बताए । क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेलेको उनले उल्लेख गरे।
उनले भने, ‘क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन। त्यो बांगोटिंगो हुन्छ। यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ। यो विज्ञानको नियम हो। जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं। संंविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ।’
अगामी विशेष महाधिवेशनमा समाजवादको बाटो थप स्पष्ट पार्ने र विचारको विकास र संश्लेषण र समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार चाहिने भन्दै उनले अगाडि भने, ‘रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गरे। आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्नुपर्छ।’
समाजवादी क्रान्तिको लागि थवाङले फेरि पनि अग्रणी भूमिका खेल्नुपर्ने बताउँदै उनले शान्तिप्रक्रियापछि माओवादी विभाजित भएर कमजोर बनेकाले अहिले एकताको आधार तयार हुँदै गएको बताए।
उनले भने, ‘विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकतावद्ध हुन्छौं। समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौं। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ। मिटरब्याज पीडित किसानलाई न्याय दिइएको छ। यो निकै ठूलो काम हो।’
सरकारले विदेशमा रहेका लाखौं नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेकाले यसले विदेशमा रहेका लाखौं नेपाली र उनीहरूका परिवारको भविष्य सुरक्षित गरेको उनको भनाइ थियो।
अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको बताउँदै उनले नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारले चालेकाे कदमले सुशासनका पक्षमा अहिलेसम्म यति ठूलो अभियान कहिल्यै नचालिएको दाबी गरे । यस्ता धेरै काम वर्तमान सरकारले गरिरहेको उनको भनाइ छ।
‘उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ। अहिले ७ अर्ब छुट्याइएको छ। छिट्टै थप ७ अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्धन गर्छौं ।म सरकारमा आउँदा देश श्रीलंका बनिहाल्छ कि भन्ने थियो।’, प्रधानमन्त्रीले भने,‘ अहिले त्यो अवस्था छैन। अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर, दवावमुक्त भइसकेको छैन। तिहारलगत्तै आर्थिक गोलमेच गर्ने तयारीमा छु। सरकारले कुटनीतिक क्षेत्रका राम्रो पहल लिएको छ। भारत भ्रमणबाट सुरू भएको कुटनीतिक यात्रा संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ।’
उनले नेपाल भारतबिचको सीमा समस्या दीर्घकालीन रूपमा हल गर्ने प्रतिवद्धता जनाए । भारतसँगको विद्युत व्यापारमा उल्लेख्य वृद्धि भएको उनको भनाइ छ ।
‘२५ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना अगाडि बढेको छ। १० वर्षमा १० हजार विजुली बेच्ने सम्झौता भएको छ। यी कुरा सामान्य छैनन्। संयुक्त राष्ट्रसंघको महासभा, इटालीको रोम र चीन भ्रमणमा सरकारले जुन भूमिका खेलेको छ, जसरी प्रस्तुत भएको छ, यसले देशको शीर उच्च बनाएको छ।’, उनले भने, ‘चीनसँग नाका खोल्ने सम्झदारी भएको छ। कृषि, पर्यटन र आर्थिक क्षेत्रमा चीन सरकारले पनि राम्रो सहयोग गर्नेछ’ चीनसँग कृषि र पशुपालनमा पाइलट प्रोजेक्टमा सम्झौता भएको छ। त्यसमध्ये एउटा पाइलट प्रोजेक्ट थवाङमा ल्याइनेछ।’
जनसभामा माओवादी उपमहासचिव वर्षमान पुन, सचिव हितमान शाक्यलगायतका नेताहरूले सरकारको भ्रष्टाचारविरोधी अभियानमा पार्टी पूर्ण साथ रहेको र यो अभियान अझै उचाइका साथ अगाडि बढ्ने बताए ।
पहिलो संविधानसभा निर्वाचनमा प्रचण्डले काठमाडौं १० का साथै रोल्पाबाट चुनाव जितेका थिए ।