बीआरआई बैठकअघि चिनियाँ र रुसी विदेशमन्त्रीबीच भेटवार्ता

मूलखबर संवाददाता
काठमाडौं

चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी समकक्षी सर्गेई लाभरोभसँग सोमवार बेइजिङमा भेटवार्ता गरेका छन् । विदेशमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्यसमेत हुन् ।

तेस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ फर इन्टरनेसनल कोअपरेसन (बीआरआई)को बैठक बस्नुअघि उनीबीच भेटवार्ता भएको हो । बीआरआईको बैठक बेइजिङमा मङ्गलवारदेखि शुरू हुँदैछ ।

सो अवसरमा चीनको पहुँचलाई विश्वव्यापी विस्तार गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रमुख परियोजनाका रूपमा रहेको बीआरआईका बारेमा वाङले विगतलाई भविष्यसँग जोड्ने यो वर्ष निकै महत्वपूर्ण रहेको बताए ।

बीआरआईका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा र सहयोगका लागि चीनले सराहना गर्दै विदेशमन्त्री वाङले साझा विकास र समृद्धिलाई अगाडि बढाउने पहलमा सक्रियरूपमा भाग लिएकामा रुसको स्वागत गरे ।

रुसी विदेशमन्त्री लाभरोभले रुस र चीनले द्विपक्षीय सम्बन्धको विकासमा गति दिएको बताए । रुसले चीनसँग निकट रणनीतिक सञ्चार कायम गर्ने र व्यावहारिक सहयोगलाई गहिरो बनाउने अपेक्षा गरेको छ ।

लाभरोभका अनुसार राष्ट्रपति पुटिन चिनियाँ राष्ट्रपति सीसँग भेट्न र बीआरआई मञ्चमा भाग लिन अत्यन्त उत्सुक रहेको र बीआरआई आयोजनाको सफलताप्रति विश्वास व्यक्त गरेको बताए ।