कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

मूलखबर संवाददाता
काठमाडौं

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार विश्वासको मत लिने भएका छन् । गत शनिवार मुख्यमन्त्रीमा नियुक्त भएर आइतवार शपथ ग्रहण गरेका मुख्यमन्त्री कार्कीले बुधवार नै विश्वासको मत लिन लागेका हुन् ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण उनी बुधवार नै विश्वासको मत लिन हतारिएको स्रोतले बतायो । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार कोशीको प्रदेशसभा बैठक बोलाइएको छ । यदि कार्कीले विश्वासको मत लिन नसकेमा कोशी प्रदेशसभा मध्यावधि चुनावमा जाने छ ।

नेपाली कांग्रेसको शेखर कोइराला गुटका कार्की नेकपा एमालेका सांसदहरुको समर्थनमा प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । उनले एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसका शम्शेर राईलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

यसअघि असोज २० गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाएको बैठकमा उनले राजीनामा घोषणा गरेपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभा बैठक नयाँ मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि फेरि बोलाइएको हो ।

माओवादी केन्द्रले पनि विश्वासको मत दिने

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच गठबन्धन बलियो बनाएर अघि बढ्ने सहमति भएको थियो। माओवादी केन्द्रका इन्द्र आङ्बोलाई सत्ता गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवार बनाएपछि कोइराला पक्षका कार्कीलाई एमालेले समर्थन गर्दै अगाडि बढाएको थियो।

एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेकालाई कार्की नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले बताए ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार नै कार्कीलाई माओवादी, कांग्रेस, एकीकृत समाजवादी, जसपा, जनमत र नाउपासहितको गठबन्धनले विश्वासको मत दिने  बताएका थिए ।  चितवनमा भएको एक कार्यक्रममा प्रचण्डले एमालेप्रति लक्षित गर्दै गठबन्धन विभाजन गर्न खेलेको षड्यन्त्र असफल पारेको दाबी गरेका थिए । माओवादीबाट प्रस्तावित उम्मेदवारलाई पराजित गरेका कार्कीलाई साथ दिने सत्ता गठबन्धनको सहमतिले एमालेले चालेको पछिल्लो चाल जोखिममा पर्ने कतिपयले अनुमान गरेका छन् ।