
इजरायल-प्यालेस्टाइन युद्ध, विश्व समुदायको आँखा मध्यपूर्वको मध्यस्थकर्ता चीनतिर
गत अप्रिल २६ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच फोनवार्ता भएपछि चीन विश्वमा शान्ति स्थापकको रुपमा अगाडि बढ्ने तयारीमा रहेको बुझेको थियो। त्यतिबेलाको चिनियाँ कदम बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सम्बन्धप्रति बेइजिङको चासोका साथै शक्ति सम्बन्ध बदल्ने चिनियाँ क्षमताको सूचक पनि थियो।
इरान र साउदी अरेबियाबीच वर्षौँदेखि कायम वैमनस्यता अन्त्य गर्ने दिशामा चीनले खेलेको प्रयासलाई विश्लेषकहरूले ‘विश्व व्यवस्थामा परिवर्तन’को संकेत मानेका छन्। बेइजिङमा साउदी अरेबिया र इरान कूटनीतिक सम्बन्ध पुनस्र्थापना गर्न र एकअर्काको देशमा दूतावास पुनः खोल्न सहमति भएपछि चीन विश्वमा मध्यस्थताकर्ताको रूपमा स्वीकार्य बन्ने विश्वास गरिएको थियो।
चीनले पश्चिमा विश्वसँगको आफ्नो महाशक्तिको प्रतिस्पर्धामा रुसलाई आफ्नो लाभमा उपयोग गर्न चाहन्छ । जसका लागि इजरायल-प्यालेस्टाइन तथा युक्रेन लगायतका युद्ध रोकिनु आवश्यक छ जसमा चीनको मध्यस्थता होस्।
चिनियाँ राष्ट्रपति सी चिनफिङ गत डिसेम्बरमा मध्यपूर्वको भ्रमण गर्दा उनले यस क्षेत्रका लागि बेइजिङ नेतृत्वको सुरक्षा पहल अमेरिकी नेतृत्वमा रहेको प्रणालीको विकल्प भएको दाबी गरेका थिए ।
प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बासले गत जुनमा बेइजिङको भ्रमण गर्दा इजरायलसँग जारी द्वन्द्व समाधानका लागि चीनले महत्वपूर्ण योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । एकअर्काका कट्टर प्रतिद्वन्द्वी इरान र साउदी अरेबियाबीच केही महिनाअघि बेइजिङको मध्यस्थकर्तामा भएको मेलमिलाप सम्झौतालाई चीनले मध्यपूर्वमा आफ्नो उपस्थिति विस्तार गर्ने संकेतका रूपमा हेरिएको थियो ।
प्यालेस्टाइनी लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि चर्किएको द्वन्द्वका बेला मध्यपूर्वमा चीनको परीक्षणसमेत भइरहेको छ । २ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको संकटमा चीनले दुवैपक्षलाई संयमताको लागि नम्र आह्वान गरेको छ ।
अमेरिका, युरोप र एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै देशहरूले हमासको आक्रमणको निन्दा गर्दै इजरायलको पक्षमा समर्थन व्यक्त गरेका छन् । बेइजिङले भने आफूलाई तटस्थ देखाएको छ । आइतबार एक वक्तव्य जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले दुवै पक्षलाई शान्त रहन, संयम अपनाउन र तुरुन्तै शत्रुता अन्त्य गर्न आह्वान गरेको छ।
चीनले द्वन्द्वको समाधानका रूपमा स्वतन्त्र राज्य प्यालेस्टाइनको स्थापना गर्नुपर्ने कुरा राखेको छ ।
युद्धको अन्त्यका लागि मध्यस्थता गर्ने चीनको चाहानाले पुनर्कल्पित युरेसियामा चीनले आफनो भविष्यको भूमिका कस्तो खेल्न खोजिरहेको छ भन्ने कुराको पनि संकेत देखाउने छ।
