दशैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौं । काठमाडौं उपत्यकाबाट दशैं मनाउन गाउँ फर्किनेहरुका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ यही असोज २२ गतेदेखि खुल्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलपछि असोज २२ गतेबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाका अनुसार अग्रिट टिकट बुकिङ खुलाउनु अघि बर्षामा बिग्रेका सडक मर्मत सम्भार लगायत व्यवस्थापनका सबै काम सक्ने भनिएको छ ।
हरेक वर्ष दशैं, तिहार र छठ पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गर्दछन् । कतिपयले सहजरुपमा टिकट नपाउने गरेको गुनासो छ ।
यो विषय प्रतिनिधि सभा बैठकमा पनि उठेको थियो । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले सहज रुपमा टिकट पाएर गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।