एक वर्षपछि प्रचण्डकाे प्रश्न – जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

मूलखबर संवाददाता
काठमाडौं, २४ भदौ

नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनजी विद्राेहकाे १ वर्षपछि गम्भीर प्रश्न उठाएका छन् – जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

जेनजी विद्राेह र धंंसकाे एक वर्षपछि आज भदौ २४ मा एक विज्ञप्ति जारी गर्दै प्रचण्डले साे प्रश्न उठाएका हुन् । उनलेे भनेका छन्- भ्रष्टाचार अन्त्य हुन्छ, सुशासन स्थापित हुन्छ, रोजगारी र अवसर बढ्छन् तथा राज्य जनताप्रति उत्तरदायी हुन्छ भन्ने अपेक्षा गरेका नागरिकहरू आज फेरि निराश छन् । महँगी बढेको छ, अर्थतन्त्र शिथिल छ, व्यवसायी निराश छन्, रोजगारीका अवसर पर्याप्त छैनन्, विदेसिने युवाहरूको संख्या दिनहुँ बढ्दो छ, सार्वजनिक ऋण् बढिरहेको छ, जनतामाथि करको बोझ थपिएको छ । विपद्का बेला समेत नागरिकले समयमै उद्धार, राहत र पुनःस्र्थापना पाउन नसक्ने अवस्था देखिएको छ । सुकुम्बासीदेखि गरिव र उत्पीडित वर्ग र समुदायमाथि निरंकुशताको डण्डा बर्सिरहेको छ ।

प्रेस वक्तव्यकाे पूरा पाठ-

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य, सुशासन र अवसरमा समानताको मागसहित २०८२ भदौ २३ गते सुरू भएको जेन–जी आन्दोलनले आज एक वर्ष पूरा गरेको छ । यस आन्दोलनका क्रममा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । शोकमग्न परिवार, घाइते तथा प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै न्यायपूर्ण सम्बोधन र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
जेन–जीको आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरूद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न तथा सामाजिक संजाल उत्प्रेरित आन्दोलन थियो । युवाहरुको आवाजलाई संवेदनशीलरुपमा लिएर सम्बोधन गर्नतिर लाग्नुको सट्टा राज्यले दमनको बाटो रोज्यो । उत्पन्न नयाँ परिस्थितिबाट फाइदा उठाउँदै नियोजितरुपमा परिचालित संदिग्ध तत्वहरूले आन्दोलनलाई अपहरण गरे । भाद्र २४ गते देशका ऐतिहासिक तथा पुरातात्विक धरोहर शिंहदरवारदेखि संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र विध्वंश मच्चाइयो । आन्दोलनले उग्र र हिंसात्मक रुप लिन थालेपछि २३ गते दिउसो बास्तविक जेन्जी अभियन्ताहरुले ‘घुसपैठ भयो’ र ‘घर फर्कौ’ भनेको तथ्य महत्वपूर्ण छ ।
युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंशमा परिणत गर्ने नियोजित कार्य एउटै विषय होइन । दुईलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि न्याय हुँदैन । वस्तुतः प्रतिक्रान्तिकारी विध्वंसले भाद्र २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा एउटा कालो दिनकारुपमा स्थापित गरेको छ । नेपाली जनताको आत्म निर्णयको अधिकार, राष्ट्रिय स्वाधिनता र नेपाली इतिहासका गौरव र धरोहर माथिको विध्वंसले समेत यसलाई कालो दिन नै बनाएको छ ।
हाम्रो पार्टीले सामाजिक सञ्जालमाथिको प्रतिबन्धदेखि नै अभिव्यक्ति स्वतन्त्रता र जनताको लोकतान्त्रिक अधिकारको पक्षमा स्पष्ट धारणा राख्दै आएको थियो । हाम्रो नेतृत्वमा रहेको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अघि बढाइरहेको अवस्थामा हामीलाई हठात् सरकारबाट हटाइएको थियो । हामी न गोली चलाउने पक्षका थियौँ, न सिंहदरबार जलाउने । त्यसैले जेन–जी विद्रोहका नाममा हाम्रो पार्टी, नेतृत्व र राजनीतिक शक्तिमाथि गरिएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न सकिँदैन ।
यस घटनाको सत्य स्थापित गर्न निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन अनिवार्य छ । को दोषी थियो ? आन्दोलनमाथि दमन किन र कसरी भयो ? कसले आन्दोलन भड्कायो ? कसले हिंसा, लुटपाट र विध्वंश मच्चायो ? त्यसबाट लाभ कसले उठायो ? र, यसले नेपालको लोकतान्त्रिक प्रक्रियामा कस्तो प्रभाव पा¥यो ? यी सबै प्रश्नको सत्यतथ्य उजागर गर्नुपर्छ । दोषी जोसुकै होस्, जुनसुकै राजनीतिक पहुँच वा शक्तिमा होस्, कानुनको दायरामा ल्याइनुपर्छ ।
प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट, तोडफोड र आगजनी निरन्तर हुनु, संगठित समूहको परिचालन भएको देखिनु तथा प्रज्वलनशील पदार्थको प्रयोगलगायतका घटनाले यस प्रकरणका पछाडि रहेका गम्भीर प्रश्नलाई अझ बलियो बनाएका छन् । त्यसपछि भएका संसद् विघटन, गैरदलीय सरकार गठन, निर्वाचनको घोषणा र राज्यका विभिन्न निर्णयहरूले समेत घटनाको समग्र सत्य निरूपणका लागि थप अनुसन्धान आवश्यक रहेको तथ्यलाई स्पष्ट पार्दछन् ।
राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडसम्बन्धी अध्ययन गरी तयार पारेको प्रतिवेदनले समेत घटनामा संलग्न विभिन्न पक्षमाथि अनुसन्धान तथा कारबाहीको आवश्यकता औँल्याएको छ ।
आयोगको प्रतिवेदन दराजमा थन्क्याउने विषय होइन, कार्यान्वयन गर्ने दस्तावेज हो । प्रतिवेदनमा औँल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी सम्पूर्ण दोषीमाथि कानुनी कारबाही गर्न आवश्यक छ ।
आजको अर्को गम्भीर प्रश्न हो– जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?
भ्रष्टाचार अन्त्य हुन्छ, सुशासन स्थापित हुन्छ, रोजगारी र अवसर बढ्छन् तथा राज्य जनताप्रति उत्तरदायी हुन्छ भन्ने अपेक्षा गरेका नागरिकहरू आज फेरि निराश छन् । महँगी बढेको छ, अर्थतन्त्र शिथिल छ, व्यवसायी निराश छन्, रोजगारीका अवसर पर्याप्त छैनन्, विदेसिने युवाहरूको संख्या दिनहुँ बढ्दो छ, सार्वजनिक ऋण् बढिरहेको छ, जनतामाथि करको बोझ थपिएको छ । विपद्का बेला समेत नागरिकले समयमै उद्धार, राहत र पुनःस्र्थापना पाउन नसक्ने अवस्था देखिएको छ । सुकुम्बासीदेखि गरिव र उत्पीडित वर्ग र समुदायमाथि निरंकुशताको डण्डा बर्सिरहेको छ ।
यसबीच नयाँ सरकारले संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचनामै व्यापक फेरबदल गर्ने प्रस्ताव अघि सारेको छ । त्यसले संविधानका आधारभूत सिद्धान्त र मान्यतामा नै परिवर्तनको प्रयास देखाएको छ ।
संविधान संशोधन समयको आवश्यकता हुन सक्छ । तर संविधानको मूल आत्मा र नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि समाप्त गर्ने साधन संविधान संशोधन बन्न सक्दैन । संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र जनताको सार्वभौमसत्ता नेपाली जनताको संघष र ठूलो बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि हुन् । यी उपलब्धिलाई कमजोर पार्ने, लोकतान्त्रिक संस्थाहरूलाई निष्प्रभावी बनाउने वा निरंकुशताको बाटो खोल्ने कुनै पनि प्रयासको हाम्रो पार्टीले दृढतापूर्वक प्रतिवाद गर्दछ ।
जेन–जी आन्दोलनले एउटा गम्भीर सन्देश दिएको छ– युवाको आवाजलाई दबाएर होइन, सुनेर र सम्बोधन गरेर मात्र लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्रका कमजोरीको उपचार लोकतन्त्र समाप्त गर्नु होइन; लोकतन्त्रलाई अझ उत्तरदायी, पारदर्शी, जनमुखी र परिणाममुखी बनाउनु हो । त्यसलाई हामीले ‘लोकतन्त्रको सर्भिसिङ’ भन्दै आएका छौं । त्यसैले आजको दिन केवल विगत सम्झने दिन होइन । यो राज्यलाई प्रश्न गर्ने, सत्य खोज्ने र भविष्यको बाटो तय गर्ने दिन हो ।
हाम्रो पार्टी विगतका आफ्ना अभ्यास र अनुभवबाट शिक्षा लिँदै पार्टी शुद्धीकरण, संगठनात्मक पुनर्निर्माण र राजनीतिक रूपान्तरणको प्रक्रियालाई अघि बढाउन प्रतिबद्ध छ । यस सन्दर्भमा हामी जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त अधिकारको रक्षा गर्दै प्रतिगामी, निरंकुश र जनविरोधी प्रवृत्तिका विरूद्ध शान्ति, संविधान र लोकतन्त्र पक्षधर सम्पूर्ण राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपाली जनतालाई एकताबद्ध हुन हार्दिक अपिल गर्दछौं ।

मिति ः २४ भाद्र २०८३
नेपाल संवत् ११४६ गुंलागाः १३, बुधबार
…………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
नेपाली कम्युनिष्ट पाटी