पाकिस्तानद्वारा नेपाललाई १ सय टन राहत सामग्री हस्तान्तरण
पाकिस्तानले बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकका लागि १०० टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ।
काठमाडौं आइपुगेको राहत सामग्रीमा टेन्ट, कम्बल, म्याट, सरसफाइसम्बन्धी सामग्री तथा औषधिलगायतका अत्यावश्यक सामग्री रहेका छन्।
नेपालका लागि पाकिस्तानी राजदूत महामहिम आमिर खानले उक्त राहत सामग्री माननीय महावीर पुनलाई हस्तान्तरण गरेका हुन्। सामग्री हस्तान्तरण गर्दै राजदूत खानले विपद्को यस कठिन घडीमा पाकिस्तान सरकार र पाकिस्तानी जनताको नेपालप्रतिको ऐक्यबद्धता पुनः व्यक्त गरे।
राजदूत खानले बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति सहानुभूति प्रकट गरे। उनले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन पाकिस्तान सदैव तयार रहेको बताए।
पाकिस्तानले नेपालमा आएको प्राकृतिक विपद्प्रति दुःख व्यक्त गर्दै प्रभावित नेपालीको राहत तथा पुनःस्थापनाका लागि सक्दो सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।



