रसायनशास्त्र तर्फको नोबेल पुरस्कार ३ वैज्ञानिकलाई

मूलखबर संवाददाता
काठमाडौं

सन् २०२३ को रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले पाएका छन् ।

रसायनशास्त्रको नोबेल समितिले अमेरिकाको एमआईटी विश्वविद्यालयका मोंगी बावेन्डी, कोलम्बिया विश्वविद्यालयका लुइस ब्रुस र नानो क्रिस्टल्स टेक्नोलोजी इङ्‌कका अलेक्सी एकिमोभलाई नोबेल पुरस्कार प्रदान गरेको घोषणा गरेको हो ।

अलेक्सी रुसी हुन् भने बावेन्डी प्यारिसमा जन्मिएका हुन्। ब्रस अमेरिकी हुन्। हाल यी तीनै जना वैज्ञानिक संयुक्त राज्य अमेरिकामा कार्यरत छन्।

रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले अनौठो क्वान्टम डटको खोजी र संश्लेषणका लागि उनीहरूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । उनीहरूले ‘क्वान्टम डट’ को खोजी र संश्लेषण गरेर न्यानोटेक्नोलोजीमा विशिष्ट योगदान पुर्‍याएका छन् ।

बीबीसीका अनुसार ‘क्वान्टम डट’ भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले अहिले टेलिभिजनको स्क्रीन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन्। तिनले रासायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गर्छन्। अनि शल्यक्रिया गर्दा तिनको स्पष्ट प्रकाशले ट्यूमरका कोषलाई देखिनेगरी उज्यालो पारिदिन सक्छ। सौर्य प्यानलमा पनि तिनको प्रयोग हुन्छ।

वैज्ञानिकहरुले नानो प्रविधिमा थप विकास गरेको र पदार्थमा अणु वा परमाणु तहको उत्पादनमा प्रयोग हुने बताइएको छ । यो खोजले धेरै विधामा ठूलो सम्भावना रहेको पनि नोबेल एकेडेमीले बताएको छ ।

एकेडेमीले यी अनुसन्धानकर्ताले भविष्यमा लचकदार विद्युतीय सामाग्री, साना सेन्सरहरु, पातलो सौर्य प्रणाली कोषहरु र गोप्य क्वान्टम सञ्चारमा योगदान पुर्याउने आफ्नो वक्तव्यमा उल्लेख गरेको छ ।

शताब्दीकै पुरानो नोबेल पुरस्कारको धनराशि एक करोड दश लाख स्विडिस क्राउन रहेको छ ।

गत सोमबार चिकित्सा विधामा र मंगलबार भौतिकशास्त्र विधामा नोबेल पुरस्कार घोषणा भएका थिए । कोभिड-१९ विरुद्ध एमआरएनए खोप बनाउन बाटो खोलिदिने प्रविधि विकसित गर्ने काटालिन कारिको र ड्रू भाइस्मानले चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाउने भएका छन् ।

यसैगरी भौतिक शास्त्रतर्फको पुरस्कार ‘सूक्ष्म कालखण्ड’ पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन ल’हुलिएले पाउने भएका छन्।

अब साहित्य, शान्ति र अर्थशास्त्रको अक्टोबर ९ तारिखसम्म प्रत्येक दिन घोषणा हुनेछ । पुरस्कृत हुनेले अठार क्यारेट सुनको तक्मा र प्रमाणपत्र डिसेम्बर महिनामा पाउनेछन् ।