चीन भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताएका छन् ।
उहाँले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धतासमेत सो अवसरमा व्यक्त भएको उल्लेख गरे ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले चीनका राष्ट्रपति सि जिनफिङले गरको भ्रमणपछि नेपालबाट गरिएको पहिलो उच्चस्तरीय भ्रमणका रुपमा आफ्नो चीन भ्रमण भएको उल्लेख गरे ।
‘कोभिड–१९ महामारीका कारण लामो समयदेखि उच्चस्तरमा कुनै भ्रमण नभएका सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु’, प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी भई उतैबाट सेप्टेम्बर २३ देखि ३० सम्म चीनको औपचारिक भ्रमण गरेका थिए । उनी यही असोज १३ गते स्वदेश फर्किएका थिए ।
चीन भ्रमणका दौरान चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग सारभूत पक्षमा भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको तथा विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र छलफलका क्रममा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ सम्बन्ध केन्द्रित रहनुपर्नेमा आफूले राखेको धारणाप्रति चिनियाँ पक्षले पूर्ण समर्थन रहने बताएको जानकारी पनि उनले दिए ।
उच्चस्तरीय भेटमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीनतर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत प्रसारण प्रणालीबाट विद्युत्को पहुँच पुर्याउन नसकिने स्थानमा सौर्य प्रणाली जडान गर्ने विषयमा सहमति भएको प्रधानमन्त्री प्रचण्डले संसदलाई जानकारी गराए ।
यस्तै, विभिन्न सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका साथै परम्परागत सीमा नाकाको पुनःसञ्चालन, सीमा नाकामा नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका विषयमा छलफल केन्द्रित भएको उनको भनाइ छ ।
यसैगरी नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नुका साथै विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने सम्बन्धमा समेत विस्तारपूर्वक छलफल भएको जानकारी पनि गराए ।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सदभाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावबारे नेपाललगायत अतिकम विकसित मुलुकका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने गरी प्रस्तुत गर्न सफल भएको प्रधानमन्त्री प्रचण्डले बताए ।