महासय ! शोक धुन त्यति कर्णप्रिय हुँदैन (कविता)

रमेशबाबु थापामगर
गाेरखा

महासय ! म यतिबेला
शान्त छु
चुपचाप छु
मौन छु
निर्मल छु
निश्चल छु
किनकि
म बुद्धको खोजिमा छु
म शान्तिको यात्रामा छु ।
मालश्रीको धुनसँग
बसन्तको गीत गाउँदै
बम र बन्दुक बिसाएर
ढुंगाको अक्षर झैँ कुदिएको
शान्ति संझौताको मर्यादामा छु ।।

यतिबेला, प्रतिगमनको शंख फुक्दै
मलाई युद्धको यात्रा नसम्झाऊ
शान्ति सहमतिलाई लत्याउँदै
खाटा बसेको युद्धका घाउ नकोट्याऊ
यादगर महाशय !
आँशुको स्वाद गुलियो हुँदैन
शोकधुन त्यति कर्णप्रिय हुँदैन ।

आजभोलि ,
दीगो शान्ति र स्थिरताका निम्ति
आरनहरुले आराम गरेको बेला
बन्दुकहरुले बिश्राम लिएको बेला
कानेखुसी गर्दै आतंककारीको
बिल्ला भिराउँछौ भने
राजतन्त्रको सिनु बोकेर
अदालतले फरमान जारी गर्छ भने
आदेश शिरोपर छ
मृत्यु स्वीकार्य छ ।

गणतन्त्रको यात्रामा एम्बुस थापेर
संघीयताको मुना नचिथोर
राजतन्त्रको भ्रम छरेर
संवृद्विकाे सपना नखोस
सामन्तको पाउ पोस्दै
निम्छराको आशा नमार
संझाईरहनु नपर्ला
गणतन्त्रका यात्रीहरुलाई
जेल के हो ? नेल के हो?
बताईरहनु नपर्ला
मृत्युञ्जयीहरुलाई
बिद्रोहको भेल के हो?

महाशय !
मान्छेका लागि सबैभन्दा ठूलो डर
भय, त्रास र मृत्यु हो
यी सबैलाई जितेपछि
हेगको त्रास के हो ? र!
अदालतको भय के ? छ र!
त्यसैले,भो अब नजिस्काऊ

महाशय, म यतिबेला
शान्त छु
चुपचाप छु
मौन छु
निश्चल छु
निर्मल छु
किनकि
म बुद्धको खोजिमा छु
म शान्तिको यात्रामा छु
मालश्रीको धुनसँग
बसन्तको गीत गाउँदै
बम र बन्दुक बिसाएर
ढुंगाको अक्षर झै कुदिएको
शान्ति संझौताको मर्यादामा छु ।।

अहिले सम्झनाका तरेलीहरुमा
हिजोका क्रुर शासकहरुले
निहत्था पक्रिएर मारिएका
मुठभेडका नाममा
समातेर जिउँदै जलाईएका
आफन्तकै अगाडि
बलात्कारमा परेका
अन्यायको बिरोध गर्दा
वेपत्ता पारिएका
परिवार र आफन्तजनका
आँसुका भेलहरु छन्,
आक्रोशका पहाडहरु छन्,
बेदनाका घाउहरु छन् र
चित्कारका ज्वालाहरु छन्
यिनका दुखेका मनहरुमा
मलमपट्टी लगाउनुको साटो
यिनका फाटेका तनहरु
आपसमा मिलाउनुको साटो
सहमतिका पानाहरु च्यात्दै
युद्धका रागहरु अलाप्दैछौ
साँच्चै रहर छ महासय,
देश फेरि रणमैदान बनाउनलाई ?
साहस छ  महाशय,
फेरि पनि मृत्यु गीत गाउनलाई ?
खै ! म कसरी सम्झाऊँ तिमीलाई
आंशुको स्वाद गुलियो हुँदैन
शोकधुन त्यति कर्णप्रिय हुँदैन ।।

(कवि सहिद लखन थापा गाउँपालिका गाेरखाका अध्यक्ष हुनुहुन्छ )