प्रचण्डको चीन भ्रमणले पिट्यो तहल्का, भारतमा पनि हल्लीखल्ली

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यतिबेला चीनको सातदिने औपचारिक भ्रमणमा छन् । उनी नेपालमा मात्र नभई चीन र भारतमा पनि चर्चामा छन् । कारण हो, द्विपक्षीय सहमति र सम्झौता तथा चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई प्रधानमन्त्री प्रचण्डले दिएको अन्तर्वार्ता

प्रचण्डले अन्तर्वार्ताको क्रममा नेपाल, चीन र भारतबीच हुनुपर्ने सम्बन्धबारे चर्चा गरेका छन् भने नेपाल–चीन रेलवे मार्गको सपनाबारे पनि बोलेका छन् । यो अन्तर्वार्तालाई चीनका सबैजसो सरकारी मिडियाहरु प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट सिधै चीन भ्रमणमा गएपछि कतिपयले कूटनीतिक अपरिपक्वता भनेर आलोचना गरेका थिए । तर प्रचण्डलाई चीनले गरेको भव्य स्वागत तथा सुरुमा चिनियाँ राष्ट्रपति सी जिनफिङ र पछि चिनियाँ समकक्षी ली छ्याङबीच भएको भेटवार्तापछि बेइजिङबाट जारी भएको संयुक्त वक्तव्यका बुँदाहरुले आलोचकहरुको मुखमा बुजो लगाइदिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनफिङसँग प्रधानमन्त्री प्रचण्ड

संयुक्त वक्तव्यमा नेपाल–चीन रेलवे परियोजना, टोखा–छहरे सुरुङमार्ग, काठमाडौंको चक्रपथ विस्तार, अरनिको राजमार्ग पुनर्निर्माण,, रसुवागढी सडकको स्तरोन्नती, उत्तरी सिमानामा २२० केभी प्रसारण लाइन निर्माण लगायतका तमाम सहमति भएका विषयहरु उल्लेख छन् । यसैगरी हरित ऊर्जा, सूचना प्रविधि, शिक्षा, युवा, जडिबुटीका क्षेत्रमा पनि महत्वपूर्ण सहमति र समझदारी भएका छन् । यी विषय कतिपय सत्ता गठबन्धनकै नेता, कूटनीतिज्ञ, शक्ति केन्द्र र स्वयं माओवादी पार्टीका नेताहरुका लागि पनि अनुमान विपरीतका हुन् ।

बिबिसी हिन्दीसहित अन्य भारतीय मिडियाहरुले पनि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको विषयमा प्राथमिकताका साथ समाचार लेखेका छन् । कतिपय भारतीय मिडियाहरुले नेपाल चीनसँग नजिकिएको भन्दै एकतर्फी समाचार प्रसारण गर्दै आएका छन् । खासगरी विद्युत प्रसारण लाइन, रेलवे परियोजना र नेपाल चीन सम्बन्धमा भएका सहमति र समझदारी कतिपय भारतीय मिडियाहरुका लागि टाउको दुखाइको विषय बनेको छ ।

चीनको बीआरआई परियोजना नेपालमा अघि नबढोस् भन्ने भारतको चाहना छ । तर नेपाल–चीन संयुक्त वक्तव्यमा बीआरआईसँग सम्बन्धित परियोजना सम्बन्धी काम कार्यान्वयनका लागि अघि बढ्ने उल्लेख गरिएको छ, जुन भारतका लागि टाउको दुखाइको अर्को विषय हो ।

रेल परियोजनाबारे प्रधानमन्त्री प्रचण्डले के भने ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र चीन छिटोभन्दा छिटो रेलवे मार्फत् जोडिएको देख्ने आम नेपालीको चाहना रहेको बताएका छन् । यदि त्यसो भएमा पारवहन र व्यापारिक विविधताका धेरै सम्भावनाका ढोका खुल्ने उनको भनाइ छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै चीन–नेपाल रेल परियोजना दुवै देशको साझा सपना भएको बताएका हुन् ।

तर यो परियोजनामा धेरै खर्च लाग्ने र त्यो खर्च नेपाल एक्लैले व्यहोर्न नसक्ने उनले स्पष्ट पारेका छन् । नेपाल–चीन रेल परियोजनाका लागि ऋणको आकार र सर्तहरू नेपालले व्यवस्थापन गर्नसक्ने खालको हुनुपर्ने भन्दै उनले त्यसको सम्भाव्यताबारे अध्ययन भइरहेको जानकारी दिएका छन् । अध्ययनको रिपोर्ट छिट्टै आउने उनको भनाइ छ ।

ग्लोबल टाइम्सले प्रचण्डलाई के तपाईं आफ्नो कार्यकालमा चीन–नेपाल रेलवे प्रोजेक्ट सुरु गर्नुहुन्छ ? भनेर प्रश्न सोधेको छ । सो प्रश्नको उत्तरमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘चीन नेपाल–रेल प्रोजेक्टबाट नेपालीहरुलाई धेरै नै अपेक्षा छ । नेपाली जनतामा रेल प्रोजेक्ट छिटोभन्दा छिटो सुरु होस् भनेर उत्सुक छन् । एकपटक यो प्रोजेक्ट पूरा भयो भने यसबाट थोक व्यापारका लागि निकै राम्रा विकल्पहरु खुल्ने छन् । यसबाट नेपालको व्यापार विस्तार हुनेछ ।’

प्रधानमन्त्री प्रचण्डले थप भनेका छन्, ‘यस प्रोजेक्टसँग जोडिएको चिन्ता यो छ कि हामी कति छिटो सुरु गर्न सक्छौं । तपाईंलाई थाहा छ यो प्रोजेक्टका लागि धेरै लगानी चाहिन्छ । नेपाल एक्लैले यो भार उठाउन सक्दैन । यस्तो अवस्थामा हामी बाहिरी सहयोगमा निर्भर रहनुपर्छ ।’

उनले रेलवे प्रोजेक्टमा लाग्ने ऋणका सर्त नेपालको अर्थ व्यवस्थाले सम्हाल्ने खालको होस् भन्ने चाहेको उनले बताएका छन् । यसबारेमा अध्ययन भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘अध्ययन रिपोर्ट छिट्टै उपलब्ध हुनेछ । म चाहन्छु मेरो कार्यकालमै यो सुरु होस् । नेपाल–चीन रेल प्रोजेक्ट निकै ठूलो परियोजना हो । यसको प्रतिक्षामा नेपालीहरु छन् । मेरो कार्यकालमा यो परियोजन सुरु हुनुमात्र ठूलो कुरा होइन् बरु चीन र नेपालका सपना रेलवे मार्फत् जोडिउन् भन्ने ठूलो कुरा हो ।’

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा पनि मंगलबार बेइजिङबाट जारी संयुक्त वक्तव्यमा पनि सीमापार रेलवेको प्रसंग उल्लेख छ । चीनले नेपाललाई रेल सञ्चालनका लागि चाहिने आवश्यक जनशक्तिलाई तालिम दिन सहमत भएको छ । साथै जिलोङ÷केरुङ–काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा दुवै मुलुक सन्तुष्ट रहेको वक्तव्यमा उल्लेख छ ।

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले अन्तर्वार्ताको सुरुवाती भूमिकामा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई ‘लिजेन्ड्री लिडर’को संज्ञा दिएको छ ।

भारत र चीनसँग नेपालको सम्बन्धबारे प्रचण्डको भनाइ

सो अन्तर्वार्तामा नेपाल–भारत सम्बन्धबारे पनि प्रश्न सोधिएको छ । सो प्रश्नको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले नेपाल चीन र भारत दुवै देशसँग स्वतन्त्र तरिकाले सच्चा छिमेकीको सम्बन्ध बनाइराख्ने बताएका छन् ।

उनले भनेका छन्, ‘नेपालको सम्बन्ध भारत र चीनसँग गुटनिरपेक्ष विदेश नीति, शान्तिपूर्ण सहअस्तित्व र असल छिमेकीको सिद्धान्तअनुसारको छ । कुनै एक देशका कारण हाम्रो सम्बन्ध अर्को देशसँग प्रभावित हुँदैन । हामी दुबै देशसँग निकट छिमेकी र विकासको महत्वपूर्ण सहयोगी हौं । दुबै देशसँग द्विपक्षीइ आधारमा सम्बन्ध बनाइराख्ने छौं । यदि कुनै देशसँग मतभेद देखियो भने हामी मैत्रीपूर्ण द्विपक्षीय वार्तामार्फत् समाधान गर्ने छौं ।’

सन् १९६२ मा चीन र भारतबीच युद्ध हुँदा नेपालले कसैको पनि पक्ष नलिई तटस्थ बसेको थियो ।

प्रचण्डले अहिले पनि चीन र भारतबीच मैत्रीपूर्ण सम्बन्ध होस् भन्ने नेपालको चाहना रहेको बताएका छन् । उनले भनेका छन्, ‘दुवै देशसँग नेपालको सम्बन्ध स्पष्ट र नियमित छ । हामी दुवै देशसँग राम्रो साथित्वको सम्बन्ध चाहन्छौं । साथै दुवै छिमेकी देशबीच मैत्रीपूर्ण र सहयोगी सम्बन्ध देख्न चाहन्छौं ।’

प्रधानमन्त्री प्रचण्डले नेपाल, भारत र चीन तीनवटै देशलाई फाइदा हुने विकास मोडल चाहेको पनि स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘म व्यक्तिगत रुपमा पनि दुवै देशसँग सौहर्दपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनका लागि प्रतिबद्ध छु । नेपाल भारत र चीन दुवैको हितको सम्मान गर्दछ । हामीले यस्तो विकासको मोडेलमा जोड दिन्छौं, जसबाट तीनवटै देशलाई फाइदा होस् ।’

प्रधानमन्त्री प्रचण्डले नेपाल, भारत र चीनबीच त्रिदेशीय सम्बन्ध स्थापनामा जोड दिने पहिलो राजनेता हुन् । उनले नयाँदिल्लीमा पहिलोपटक चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सँगै राखेर यसबारे कुरा गरेका थिए । त्यतिबेला प्रचण्डको उक्त भनाइसँगै चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री प्रचण्डको फोटो भाइरल भएको थियो । अहिले फेरि प्रधानमन्त्री प्रचण्डले आफूलाई कूटनीतिक रुपमा अब्बल र देशको सही नेतृत्व साबित गरेका छन् ।

सीमाको संयुक्त निरीक्षण गर्ने सहमती

संयुक्त वक्तव्यमा दुवै पक्ष सीमाको संयुक्त निरीक्षण गर्न सहमत भएको उल्लेख छ।

साथै दुई देशबीचको सीमा व्यवस्थापन प्रणालीसम्बन्धी समझदारी लागु गराउन पनि दुवै पक्ष सहमत भएको उल्लेख छ।

सीमा क्षेत्रमा तीन तहमा सम्पर्क प्रणाली स्थापना गरेर दुई देशबीचको सीमा व्यवस्थापन तथा सहयोगको स्तर बढाउने विषय पनि त्यसमा परेको छ।

चीनले हालै जारी गरेको नक्सामा नेपालको नक्साको सुदूरपश्चिम क्षेत्रको चुच्चोभाग नसमेटिएको विषय पनि यो सहमतिसँगै समाधान हुनेमा विश्वास गर्न सकिन्छ ।