संसारले नेपालको कुरा सुन्न थालेको छ, राष्ट्रपति सीसँगको संवादबाट उत्साहित छु-प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन्।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त वार्ता निकै सौहार्द्रपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास आफूले लिएको बताए।
प्रधानमन्त्री दाहालले भने, “यस पटकको चीन भ्रमणको यो फरक र विशिष्ट उपलब्धि भएको छ र राष्ट्रलाई चीनसँगको कुराकानीबाट विश्वासको थप वातावरण सिर्जना भएको महसुस मैले गरेको छु ।”
नेपाल-चीन बीचको सदियौँ पुरानो सम्बन्धलाई यो भ्रमणले नयाँ आयाम थपेको भन्दै उनले सीसँगको वार्ताका क्रममा नेपालको विकासका लागि सहयोगका साथै नयाँ क्षेत्रहरूमा लगानीका विषयमा समेत कुराकानी भएको बताए।
समारोहमा प्रधानमन्त्री दाहालले नेपालको विकासका लागि सरकारको एकल प्रयासमात्र सम्भव नहुने भन्दै वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यबाट अघि बढ्ने नीति लिएको बताए। यस पटक आफूले संयुक्त राष्ट्रसङ्घीय महासभामा नयाँ तथा फरक मुद्दा उठाएको प्रधानमन्त्री दाहालले बताए। उनले नेपालको शान्ति प्रक्रिया नयाँ र फरक प्रकृतिको रहेको र यससम्बन्धी सङ्क्रमणकालीन न्यायका कतिपय काम टुङ्ग्याउनुपर्ने कुरा आफूले अन्तरराष्ट्रिय समुदायलाई भनेको बताए।
त्यसैगरी जलवायु परिवर्तनले नेपाललाई पुर्याएको असरका साथै अति कम विकसित राष्ट्रहरूका मुद्दा पनि आफूले एलडिसीको अध्यक्ष देशका हैसियतमा उठाएको उनले बताए।
प्रधानमन्त्री दाहालले यसपटकको भ्रमण नेपाल-चीनसम्बन्धका विविध आयामहरूलाई थप प्रगाढ बनाउने कार्यमा केन्द्रित रहेको भन्दै आगामी दिनमा सहयोग र समझदारीका क्षेत्रहरू बढ्ने तथा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा आदि विषयमा सहयोग आदानप्रदान थप सुदृढ हुने विश्वास व्यक्त गरे।
यो पटक आर्थिक विकास र समृद्धितर्फ देशलाई अगाडि लैजाने बाचासहित आफू प्रधानमन्त्री भएको प्रसङ्ग उल्लेख गर्दै सोहीबमोजिम वर्तमान सरकारले काम अगाडि बढाएको र परिणाम पनि देखा परिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
यसअघि प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीद्वारा नेपाल–चीन विजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले लगानी गरी लाभ लिन चिनियाँ उद्योगीलाई आग्रह गरेका थिए।
त्यस अवसरमा उनले भने, “कुनै पनि देशको विकास सरकार आफैँले मात्र गर्न सक्दैन, देशको आर्थिक समृद्धिको ‘इन्जिन’ निजी क्षेत्र भएकाले सहयोग र सहकार्यका साथ अगाडि बढ्न चाहेको कुरा मैले बारम्बार गरेको छु, आज पनि यहाँ दोहोर्याउन चाहन्छु ।”
बिआरआइको टुङ्गो लाग्छ
प्रचण्डले बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजना (बीआरआई) कार्यान्वयनलाई अन्तिम रुप दिने गरी काम गरिरहेको बताएका छन्। प्रचण्डले नेपाल सन् २०१७ मा बेल्ट एन्ड रोड इनिसिएटिभमा सामेल भएको र अहिले यसको कार्यान्वयन योजनालाई अन्तिम रूप दिने काम गरिरहेको उल्लेख गरेका हुन्।
उनले भने, ‘केही दिनअघि मात्रै नेपालले चीनको बन्दरगाहबाट तेस्रो मुलुकबाट सफलतापूर्वक मालसामान आयात गरेको थियो, यो नेपाल–चीन पारवहन यातायात सम्झौता र त्यसको प्रोटोकल कार्यान्वयनमा महत्वपूर्ण कदम हो । चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि निःशुल्क भिसा उपलब्ध गराइएको छ। राष्ट्रपति सी र म हाम्रा दुई देशबीचको आर्थिक सहयोग र साझेदारीलाई सुदृढ पार्ने विषयमा व्यापक सहमतिमा पुगेका छौं। यस भ्रमणमा हामी क्रस बोर्डर कनेक्टिभिटी प्रबर्द्धन गर्ने बारे थप निर्णय लिनेछौं।’
नेपालले चीनका लगानीकर्ता र उद्यमीहरूलाई उपलब्ध गराउने अनौठो अवसरको पूर्ण फाइदा लिन र सन् २०१५ मा खुला भएका नयाँ अवसरहरूबाट फाइदा उठाउन नेपालले सहजीकरण र संरक्षण गर्न हरसम्भव प्रयास गर्ने प्रचण्डले बताए।
प्रचण्डले थपे, ‘दुई देशका निजी क्षेत्रबीचको बलियो सहकार्य र आदानप्रदानले नेपाल–चीन आर्थिक सम्बन्धलाई पारस्परिक लाभका लागि थप विकासमा सार्थक रूपमा योगदान पुर्याउन सक्छ। अथाह सम्भावना बोकेको नेपाल अब गरिबी र नीजिकरणको देश बन्न सक्दैन।’
प्रचण्डले अर्थतन्त्रको सम्बृद्धिको लागि नीति, नियम र कार्यविधिमा थप सुधार गर्ने चीनसामु प्रतिबद्धता जनाएका छन्।