
चीनको सन्देश विद्यालाई सुनाउन गएका शंकर, “कम्युनिष्ट मिलुन् भन्ने छ”
पुस २६ गते कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि एमाले-माओवादी केन्द्रको सम्बन्धमा चिसोपना आयो। कम्युनिष्ट पार्टी मिलेर सरकार बनाउँदा खुसी भएको चीन फेरि खिन्न बन्यो।
अहिले प्रचण्ड सरकारको आयुको विषयलाई लिएर चर्चा चलिरहँदा अर्कोतिर कम्युनिष्ट एकताको पहल पनि जारी छ। यो पहलको केन्द्रमा छिन् विद्या भण्डारी। पार्टीभित्र ध्रुवीकरण बढेकाले राष्ट्रपतिको कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्किएहुन्थ्यो भन्ने अभिलाषा प्रकट भएको थियो तर, भण्डारीले आफू राजनीतिमा फर्किने घोषणा गरिसकेकी छैनिन्।
ओलीले दुईतिहाइको सरकार टिकाउन नसकेको, पटक–पटक संसद् विघटन गरेको, एमालेलाई फूटबाट जोगाउन नसकेको, १० पुसपछिको केन्द्र र प्रदेशको सरकार टिकाउन नसकेको जस्ता आरोप खेपिरहेका छन् ।
यसैले एमालेको ठूलै समूहले ओलीको सट्टा विद्यालाई अगाडि सार्दा माधव नेपालले नेतृत्व गरेको सहितका कम्युनिस्ट पार्टीबीच एकता हुन सक्ने तर्कसहित पहलकदमी लिएको छ । तर, यो विषयलाई अध्यक्ष ओलीले त्यति सहज रूपमा लिएको देखिन्न ।
‘विद्या भण्डारी हाम्रो पार्टीको उपाध्यक्ष भइसकेको आदरणीय व्यक्तित्व हो । विष्णु पौडेलले मात्रै होइन, मैले र अरूले पनि (पार्टीमा आइदिन भनेर) कुरा गरेका छैनौं,’ ओलीले २८ साउनमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘कार्ड नै छपाएर निम्ता गरेको भन्ने खालका हल्लालाई मलजल नगरौं ।’
तर भित्र भित्रै एमाले र माओवादीका दोस्रो तहका नेताहरू अहिले पनि सबै ठाउँमा वापमन्थी मिल्नुपर्ने भन्दै टुटेको सम्बाद जोड्न खोज्दैछन् । यसैबीच चीन भ्रमणबाट फर्किएपछि महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति भण्डारीसँग भेटघाट गरेर चीनको सन्देश सुनाएका छन्।
भण्डारीलाई भेटेपछि पोखरेलले ‘चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिज्यूसँग भेटघाट’ भन्दै फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
चीनले नेपालका कम्युनिस्टहरु मिलुन् भन्ने शुभेच्छा सधैं राख्ने गरेकै छ, जसलाई नेपालका वामपन्थी विश्लेषकहरुले स्वाभाविक बताउने गरेका छन्। चीनको धारणा बुझ्न प्रधानमन्त्री प्रचण्डले माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली चीन पठाएका थिए। करिब दुई साताको चीन बसाइपछि माओवादी उपाध्यक्ष नेतृत्वको टोली जेठ १९ गते स्वदेश फर्किएको थियो।
माओवादीका सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्यसमेत सहभागी टोलीले तिब्बत, बेइजिङ र हुबेइ प्रान्तको भ्रमण गरेको थियो। माओवादी नेताहरुको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग औपचारिक भेटघाट र कुराकानी गरेको थियो। छाओले यसअघि विदेश विभाग प्रमुख नियुक्त भएलगत्तै पहिलो भ्रमण नेपाल गरेका थिए।
नेपाल फर्किएपछि अग्निप्रसाद सापकोटाले चीनले नेपालका कम्युनिस्टहरू मिलुन् भनेर सद्भावरसन्देश पठाएको बताएका थिए। उनले भनेका थिए, “चीनले नेपालका कम्युनिस्टहरू मिलून् भन्ने चाहन्छ, त्यही सन्देश छ ।”
हालै शंकर पोखरेलसहित २२ जना एमालेका नेताले पनि चीन भ्रमण गरेर फर्किएका छन्। बेइजिङले आफ्नो पुरानै चाहाना फेरि दोहोर्याएको छ।
शंकर पोखरेलले पनि यही सन्देश विद्यालाई सुनाएको अनुमान गरिएको छ।
