भारत-क्यानडा कूटनीतिक द्वन्द्वको भित्री कारण के हो !

मूलखबर संवाददाता
काठमाडौं

छिमेकी देश भारत र अमेरिकी मुलुक क्यानडाबीच कूटनीतिक तनाव चर्किएको छ। एक जना क्यानडेली सिख नेताको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप प्रधानमन्त्री जस्टिन ट्रुडोले लगाएपछि यो तनाव उत्कर्षमा पुगेको हो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा एक सिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएका छन्। गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो।

क्यानडाको गुप्तचर निकायले निज्जरको मृत्यु र भारतबीच एउटा “विश्वसनीय” सम्बन्ध पहिचान गरेको ट्रूडोले बताए। भारतले उक्त आरोपलाई “निरर्थक” को सङ्ज्ञा दिएको छ।

“क्यानडाका नागरिकको क्यानडाको भूमिमा हुने हत्यामा विदेशी सरकारको कुनैखाले संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो,” ट्रूडोले सोमवार क्यानडाको संसद् हाउस अफ कमन्समा बोल्दै भने।

“त्यो खुला र प्रजातान्त्रिक समाजले आफूलाई सञ्जालन गर्ने आधारभूत नियमविपरीत कुरा हो।”


ट्रुडोले भारतमा अलग सिख राज्यको वकालत गरिरहेका हरदीप सिङ निज्जरको हत्यामा भारतको राज्य संलग्न रहेको हुनसक्ने जानकारी संसदलाई गराएका थिए। उनको हत्या १८ जुनमा भएको थियो। क्यानडेली भूमिमा क्यानडेली नागरिकको हत्या अस्वीकार्य रहेको उनको भनाइ थियो। विदेशमन्त्री मेलेनी जोलीले भारतीय कूटनीतिज्ञ पवन कुमारलाई देश निकाला गर्ने घोषणा पनि गरिन्।

लगत्तै भारतले ट्रुडोको आरोप खारेज गरेको थियो। जवाफमा भारतले पनि एक क्यानडेली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो।

भारत र क्यानडाबीचको यो तनाव अहिलेसम्मकै खराब भएको कतिपयले टिप्पणी गरेका छन्। उसो त केही समययता यी दुई देशबीचको सम्बन्ध तिक्त नै थियो। हालै भएको जी२० सम्मेलनमा पनि समकक्षी नरेन्द्र मोदीसँग ट्रुडोको भेट तनावपूर्ण थियो।

विमान बिग्रेर दुई दिन नयाँ दिल्लीमै रोकिएपछि भारतमा ट्रुडोको मजाक समेत उडाइएको थियो। क्यानडामा ठूलो संख्यामा सिखहरु बस्छन्। जो भारत र क्यानडाबीच सम्बन्धमा बेलाबेला दरार आउने कारण पनि बन्ने गरेका छन्।

भारतमा पृथकतावादी गतिविधि गराउनेहरुलाई क्यानडाले खुला छाडिदिएको भन्दै भारतले असन्तुष्टि जनाउने गरेको छ। आफ्नै भूमिमा आफ्नो नागरिकको हत्यामा अर्को राज्य संलग्न भएको गम्भीर आरोप लगाएपछि द्विपक्षीय सम्बन्ध अझ गम्भीर मोडमा आइपुगेको छ। यसले द्विपक्षीय सहकार्य मात्रै होइन, बहुपक्षीय पहलहरुमा पनि अवरोध ल्याउन सक्ने देखिन्छ।

अर्कोतिर पछिल्लो समय चीन र जर्मनीबीच पनि तिक्तता बढ्दै गएको छ। यो तनावको केन्द्रमा छिन् जर्मनीकी विदेशमन्त्री अन्नालिना बेयरबक।

गतसाता अमेरिका भ्रमणमा रहेकी बेयरबकले फक्स न्युजसँगको अन्तर्वार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘तानाशाह’ को संज्ञा दिएकी थिइन्। युक्रेन युद्धबारे सोधिएको प्रश्नमा मन्त्रीको जवाफ थियो, ‘यदि यो युद्ध पुटिनले जितेका भए चिनियाँ राष्ट्रपति सीजस्ता विश्वका अरु तानाशाहहरुका लागि त्यो कस्तो संकेत हुन्थ्यो होला?’

यसप्रति चीनले चर्को आपत्ति जनाएको छ। आइतबार चिनियाँ विदेश मन्त्रालयले जर्मनीकी राजदूत प्याट्रिसिया फ्लोरलाई बोलाएर औपचारिक आपत्ति जनाएको छ।

‘जर्मनीले गरेको टिप्पणी अति नै निरर्थक छ। यसले चीनको राजनीतिक मर्यादाको गम्भीर उल्लंघन गरेको छ र यो खुला राजनीतिक उक्साहट हो,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार नियमित पत्रकार सम्मेलनमा भने।

गत जुनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सीलाई ‘तानाशाह’ भन्दा पनि चीनले कडा प्रतिक्रिया जनाएको थियो। बेइजिङ र बर्लिनबीचको सम्बन्ध जटिल रहँदै आएको छ। जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो चीन।

युक्रेन युद्धपछि जर्मनी चीनमाथिको निर्भरता घटाउने प्रयासमा छ। जुलाईमा सार्वजनिक गरेको एक रणनीतिक पेपरमा जर्मनीले चीनलाई ‘एक साझेदार, प्रतिस्पर्धी र प्रणालीगत प्रतिद्वन्द्वी’ भनेको थियो।