नाम फेर्ने सुरसारः को कोसँग हुँदैछ माओवादीको एकता !

नेकपा (माओवादी केन्द्र)ले पार्टीको नामबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिन सकिने सर्कुलेसन गरेको छ। पार्टी महासचिव देव गुरुङले जारी गरेको परिपत्रमा पार्टी एकतालाई सफल तुल्याउन नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्टमा रहेको ‘माओवादी केन्द्र’को बारेमा छलफल गर्न सकिने उल्लेख छ।

‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ’, महासचिव गुरुङले जारी गरेको परिपत्रमा भनिएको छ।

माओवादी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वका नेकपा सँग छलफल गरिरहेको छ। त्यस्तै जसपासमेतको सहभागितामा समाजवादी मोर्चा पनि गठन गरिएकाले नामको लागि परिपत्र गरिएको हो।

समान कम्युनिस्ट विचारधाराबिच पार्टी एकता गरेर जाने विषयमा समाजवादी मोर्चामा आवद्ध दलहरू सकारात्मक देखिएका छन् । भविष्यमा एउटै समाजवादी केन्द्र बनाउने उद्देश्यसहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर असार ४ गते समाजवादी मोर्चा घोषणा भएको थियो ।

कुन कुन पार्टीसँग हुँदै छ एकता

पार्टी एकताको तिथिमिति दलहरूबिचको आपसी समझदारीमा निर्धारण हुने गुरुङले बताए । गत साउनको तेस्रो साता सकिएको केन्द्रीय समिति बैठकले समान विचारधारा भएका कम्युनिस्ट घटकहरूबिच पार्टी एकताको पहलका लागि उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मा दिने निर्णय गरेको थियो । महरा वामपन्थी एकता वार्ता टोलीका संयोजकसमेत हुन् भने महासचिव गुरुङ, उपमहासचिव त्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।

यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वामपन्थीबिच एकताका लागि सकारात्मक रहेको प्रतिक्रिया दिए । एकताको आधार समाजवादी मोर्चाले घोषणा गरेको १५ बुँदे सहमति नै भएको उनको निष्कर्ष छ ।

नेकपा एकीकृत समाजवादीले एउटै समाजवादी केन्द्र बनाउनका लागि पूर्वमहासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली बनाएको थियो । जसमा उपमहासचिव त्रय प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल सदस्य छन् ।

संसद बाहिर रहे पनि एउटै मोर्चामा रहेको विप्लव नेतृत्वको नेकपाले पार्टी एकताका लागि आवश्यक पहल भइरहेको बताएको छ । माओवादी केन्द्रले एकताका लागि पार्टीको नाम परिवर्तन गर्ने निर्णय गर्नु सकारात्मक भएको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले जनाए । तर त्यसका लागि पहिला समाजवादी मोर्चामार्फत गृहकार्य गरेरमात्र अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

यसैगरी संघ र प्रदेश निर्वाचनमा माओवादीको चिह्न लिएर चुनावमा भाग लिएको नेसपाले पनि पार्टी एकताका लागि सकारात्मक पहल भएको प्रतिक्रिया दिएको छ । पार्टी एकताको आधार समेटेर माओवादी केन्द्रलाई पत्र पठाएको सो पार्टी माओवादी केन्द्रको आधिकारिक जवाफको पर्खाइमा छ ।

माओवादी केन्द्रले संघको निर्वाचन अघि नै पार्टी एकता गर्नका लागि एकीकृत समाजवादी, जनता समाजवादी, विप्लव नेतृत्वको नेकपा, बाबुराम नेतृत्वको नेपाल समाजवादी र वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पटकपटक छलफल गरेको थियो ।

नाम परिवर्तनको बहस

माओवादी केन्द्रले पार्टीको नाम नै परिवर्तन गर्ने विषयमा चलाएको बहस पहिलोपटक भने होइन । शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि माओवादीले दुई पटक पार्टीको नाम परिवर्तन गरिसकेको छ । पहिलोपटक २०६५ सालमा माओवादीले नाम फेरेको थियो ।

एकता केन्द्रसँग एकता गरेपछि माओवादीले नेकपा एकीकृत माओवादी नाम राखेको थियो । त्यसपछि नेकपा माओवादी लामो समयसम्म एकीकृत माओवादी बन्यो । २०७३ सालमा माोवादीबाट फुटेर गएका माओवादीहरूसँग पार्टी एकता गरेपछि फेरि नाम परिवर्तन गरियो । त्यसपछि फेरि एकीकृत माओवादी नाम परिवर्तन गरेर नेकपा माओवादी केन्द्र राखियो ।

२०७४ को निर्वाचनमा गठबन्धन गरेको एमालेसँग माओवादी केन्द्रले ३ जेठ २०७५ मा पार्टी एकता गर्‍यो । एमालेले जबज र माओवादीले माओवाद र एक्काइसौँ शताब्दीको जनवाद छोड्यो । एकता हुँदा माओवादीले पार्टीको नाम र चुनाव चिह्न छोड्यो । तर, नेकपाको एकता जोगिएन । माओवादी केन्द्र पुन: ब्युँतियो ।