प्रचण्डसँग सहकार्यः कांग्रेसभित्र दुई धार देखिनुको कारण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीका कायम राखेर माओवादीसँग सहकार्य जारी राख्ने कि विकल्पमा जाने खोज्नेबारे भन्ने बारे प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र दुई लाइन देखिएको छ ।
संस्थापन पक्ष तत्कालै प्रधानमन्त्री प्रचण्डको विकल्प खोज्ने पक्षमा छैन । सभापति शेरबहादुर देउवाले यसबारे केही बोलेका छैनन् । उनीनिकट नेताहरूले बताएअनुसार देउवा सहमतिअनुरूप नै चुनावी सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्न चाहन्छन् ।
तर संस्थापन इतर समूहका नेता शेखर सुशासन र स्थिरताका लागि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको ठान्दछन् ।
प्रचण्ड भड्काउमा लागेको, सुशासनमा ध्यान नदिएको लगायतका कारण देखाउँदै उनले प्रचण्डका विकल्प खोज्नुपर्ने बताइरहेका छन् । उनले सरकारको अपजसको भारी कांग्रेसले बोक्न नसक्ने बताउँदै आएका छन् ।
कांग्रेसमा संस्थापन र संस्थापन इतर दुई समूह छ । संस्थापनको नेतृत्व सभापति देउवा गरिरहेका छन् भने इतर समूहको नेतृत्व शेखरले गरिरहेका छन् ।
ती समूहभित्र उपसमूहहरू पनि शसक्त छन् । संस्थापनमा देउवापछिको पार्टी सत्ता चलाउने पात्रको खोजी भइरहेको छ । इतरमा महामन्त्री गगन थापा र नेता शेखरबीचको रणनीति के हुने प्रष्ट छैन ।
शेखर राष्ट्रपतिमा सभापति देउवालाई पठाएर पार्टी राजनीति आफूले चलाउन चाहान्थे । जसमा संसदीय दलको चुनावमा महामन्त्री थापासँग अर्को पटक नेता फेर्नुपर्दा शेखरलाई सघाउने सहमति भएकाे थियो । त्यो असफल भएपछि देउवालाई प्रधानमन्त्री बनाएर सो सरकारको गुण र दोषको आधारमा रणनीति बनाउने योजनामा शेखर छन् ।
यसो हुँदा दुवै समूहभित्र मन्त्री बन्न नपाएर रिसाएका नेता फकाउने उनकाे रणनीति देखिन्छ । ‘अर्ली’ सरकारको नेतृत्व गर्दा अर्को चुनाव प्रभावित हुने हो कि भन्नेमा देउवा चनाखो छन् । उनले टिकट बाँड्दा आफ्नो इच्छाएको व्यक्ति अनुकूल हुनेगरी बाँड्न चाहान्छन् । जसल गर्दा पार्टी सत्ता र राज्यसत्तामा पकड राख्न सकियोस् ।
त्यस बेलासम्म उनी इमान्दारिताका साथ सहमति कायम गर्न चाहन्छन् । उनीनिकट एक नेता भन्छन्— सभापतिजी चुनावी सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्न चाहनुहुन्छ । अहिल्यै सरकारको नेतृत्व गर्ने कुरामा विकल्प खोज्नुपर्छ भन्ने भनाइ उहाँ वा कांग्रेसको आधिकारिक धारणा होइन ।
यसलाई थप बल पुर्याउने अभिव्यक्ति पछिल्लो समय सभापति देउवासँग नजिकिएका भनिएका पूर्वमहामन्त्री शशांक कोइरालाले दिए । आइतबार मात्रै चितवन पुगेका उनले प्रधानमन्त्री प्रचण्ड ‘असाधारण’ व्यक्तिको संज्ञा दिँदै भने— मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।
जसै पछिल्लो समय शशांक सभापति देउवासँग नजिकिएको चर्चा कांग्रेस वृत्तमा व्यापक छ । भनिन्छ— सभापति देउवाले पार्टीको १५औं महाधिवेशनमा शशांकलाई अघि बढाउँदैछन् ।
पूर्वउपसभापति विमलेन्द्र निधि पनि यही लाइनमा उभिएका छन् । उनले यो गठबन्धनको सरकार पाँचै वर्ष गएपछि नेतृत्वचाहिँ परिवर्तन हुनसक्ने बताएका छन् ।
पार्टीको १४औं महाधिवेशनमा सभापतिमा आकांक्षा देखाएर उम्मेदवारी दिएका उनले दोस्रो चरणको मतदानमा देउवालाई नै सघाएका थिए । तर, अहिले त्यसबेला उम्मेदवारीसमेत नदिएका शशांकलाई मात्रै चेप्दा आफूमाथि राजनीतिक तथा नैतिक दबाब बढेको महसुस गरेका निधिले सरकारको नेतृत्व तत्कालै परिवर्तन हुनुपर्ने बताउन थालेका छन् ।
बाम सहकार्य ब्यूउँतिने डर
सत्ता हस्तान्तरणको समयमा प्रचण्डले धोका दिने हुन् कि भन्ने डर कांग्रेसमा छ । त्यति मात्र होइन अर्को चुनावसम्म फेरि कम्युनिस्ट गठबन्धन हुन सक्ने सम्भावनालाई कांग्रेसले नियालिरहेको छ ।
२०८४ को चुनाव अघि कम्युनिस्ट पार्टी ब्युँताएर अध्यक्षमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउने तयारी रहेको चर्चा राजनीति वृतमा छ ।
पछिल्लो समय माओवादी नेताहरूले राजनीतिमा सबै सम्भावना रहेको बताउँन थालेका छन् । एमालेको सत्ता सहकार्यको अफर लत्याइरहेको कांग्रेसलाई फेरि माओवादी र एमाले एक हुन नदिन ‘अर्ली’ सरकार परिवर्तनको कुरा गर्न गाह्रो देखिन्छ ।