शेखरलाई शशाङ्कको चुनौती: यहि सरकार पाँच बर्ष टिक्छ

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । आइतबार चितवनमा पत्रकारसँगको भेटमा उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि सरकार परिवर्तनको सम्भावना नरहेको बताए । नेपाली कांग्रेसका अर्का नेता डा शेखर कोइरालाले सरकारको नेतृत्वका परिवर्तन गर्नुपर्ने बताएका बेला शशाङ्कको अभिव्यक्तिले कांग्रेसमा खैलाबैला मच्चिएको छ ।

पत्रकारसँग कोइरालाले भने, “मेरो दृष्टिकोणले ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।” सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए । पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उनको भनाइ छ ।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको बताए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनको स्पष्ट भनाई छ ।

बरु अब कांग्रेस एक्लै हिँड्नुपर्ने उनको आशय छ । “कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ, भइहाल्यो”, उनले भने । पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको आरोप पनि उनले लगाए ।