प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान : असाेज ४ गते महासभामा सम्वाेधन गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकातर्फ प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन उनी शनिवार अमेरिकातर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख र प्रतिनिधिलगायतले बिदाइ गरेका थिए ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी छन्।
प्रधानमन्त्रीले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले आफ्नो मन्तव्य राख्नेछन्।
त्यसअघि असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् ।
न्युयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।