शान्ति प्रक्रियाको एउटा मुद्दा जसका लागि प्रचण्डले सुवास नेम्वाङ सम्झिरहने छन्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दा निक्कै भावुक देखिए। मंगलबार दिउँसो ललितपुरको च्यासलस्थित एमाले मुख्यालय प्रांगणमा राखिएको उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिने क्रममा प्रचण्ड र छोरी गंगमा समेत निक्कै गम्भीर मुद्रामा देखिएका थिए।
किन भने सुवास नेम्बाङ शान्ति प्रक्रिया सुरुभएदेखि नै प्रचण्डका सहयोगी थिए। राष्ट्रसंघमा सम्बोधनका लागि आफ्नो अमेरिका भ्रमणअघि नै संक्रमणकालीन न्यायसम्बन्धी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक पारित गराउने पहल प्रधानमन्त्री प्रचण्डले गरिरहेका छन्। तर यहीस समयमा एमालेले अड्को थापिरहेको छ। एमालेमा सुवास नेम्वाङ संवाद र सहमतिका पक्षधर नेता थिए।
प्रतिनिधि सभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार उपसमितिले सबै दलको सहमति जुटाउनेगरी प्रतिवेदनको मस्याैदा तयार पारिसकेको छ। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको सकारात्मक निर्देशन नपाएपछि ड्राफ्टलाई अन्तिम रुप दिन आइतबार बैठक बस्ने तय गरिए पनि बसेन।
उपसमिति गठन भएपछि केही समय नेम्वाङ शीर्ष नेताहरुसँग छलफलमा रहेको सुनाएका थिए। १५ दिनको समय पाएको उपसमितिले मस्यौदाको प्रस्ताव तयार पारिसकेको थियो। तर, कानुन न्याय तथा मानवअधिकार समितिले सभापति नहुँदा काम सुरु गरेको थिएन।
उपसमिति प्रस्तावबारे एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी दिने काम उनै सुवासले गरेका थिए।
मस्यौदामा प्रस्ताव गरिएको विषयवस्तुप्रति तीनै नेताले सहमति जनाएपछि उपसमिति अन्तिम प्रतिवेदन लेखनमा जुटेका थिए। ‘हतियार व्यवस्थापन र सेना समायोजनमा जसरी नेपालको मौलिक प्रयोग गरिएको थियो, टीआरसीमा पनि कसैलाई अन्याय नपर्ने उपाय प्रस्ताव गरिएको छ।’
‘हुन त विदेशमा यसका लागि विभिन्न उपाय अपनाइएको छ,’ नेम्वाङको भनाइ उधृत गर्दै एक नेताले भने, ‘तर, अन्य देशका उपाय हाम्रा लागि काम लाग्ने खालका छैनन्। कतिपय जटिल पनि छन्, कतिपय हामी कार्यान्वयन गर्न सक्ने छैनन। हामी यहीँको माटो, दल, नेपालीको चरित्र अनुसार नयाँ खालको मोडल स्थापित गर्नुपर्छ, त्यो नेपाली मोडेल हुन्छ।’
नेपालले सेना समायोजन र हतियार व्यवस्थापनमा अपनाएको उपाय फरक छ। त्यो दलहरुबीचको सहमतिबाट मात्र सम्भव भएको नेम्वाङले सुनाउँथे। संविधान सभाको निर्वाचन, संविधान लेखन, सेना समायोजन, जनसत्ता विघटन लगायतका काममा दलहरुसँग सहमति र सहकार्य गर्न जोड दिइरहेका सुवास नेम्वाङको मंगलबार बिहान ३ बजे हृदयाघातबाट निधन भएको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टीआरसीमा सहमत गराउने प्रयासमा नेम्वाङ थिए। उनले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने वातावरण बनाएका थिए। ओली, प्रचण्ड र कांग्रेस सभापति देउवाबीच पटक पटक छलफल भएको थियो।
७ महिनाअघि नै (२५ फागुन २०७९) संसद्मा दर्ता गरिएको विधेयक अगाडि बढाउन खोज्दा एमालेले विरोध गरेको थियो।
मंसिरको चुनावबाट नयाँ संसद् बनेपछि टीआरसी विधेयक अगाडि बढ्न रोकिएको सांसदहरु बताउँछन्। २०७४ मा एमाले–माओवादी मिलेर बनेको नेकपाको सरकारले सो विधेयक अगाडि बढाउन खोजेको थियो, तर पछि रोकियो।
प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्याय टुंगो लगाएर संयुक्त राष्ट्रसंघमा जानसके अन्तर्राष्ट्रिय मञ्चमा नयाँ सन्देश जाने बताएका छन्। गत साता नेपाल भ्रमणमा आएका अमेरिकी सिनेटर क्रिस भान होलेनले पनि प्रधानमन्त्री प्रचण्ड, ओलीलगायतसँगको भेटमा टीआरसी विधेयकबारे चासो राखेर थिए।
सायद अब यो मुद्दामा प्रचण्डले सुवासको सम्झना बढी गर्ने छन्। एमालेमा सुवास नेम्वाङ जत्तिको संवादप्रेमी नेता अर्को देखिँदैन ।