सुवास नेम्वाङको अन्त्येष्टि भदौ २८ गते, सो दिन हुनेछ सार्वजनिक बिदा
काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि भदौ २८ गते बिहीबार हुने भएको छ । सो दिन देशभर सार्वजनिक बिदा हुनेछ ।
नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियोे । उनको निधनपछि बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानकासाथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर नेम्वाङका दुवै छोराहरू विदेशमा भएकाले अन्त्येष्टि गर्ने दिन निश्चित थिएन ।
आज साँझ गृहमन्त्रालयले सूचना जारी गरी नेम्वाङको भदौ २८ गते अन्त्येष्टि गर्ने र सो दिन सार्वजनिक बिदा हुने जानकारी दिएको छ । सो दिन विदेशस्थित राजदूतावास र कूटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
नेम्वाङको शव एमाले केन्द्रीय कार्यालयमा राखिएको छ । शव व्यवस्थापनको जिम्मा सरकारले नेपाली सेनालाई दिइएको छ ।