नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने
काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति तीन दिनसम्म शोक मनाउने भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले नेम्वाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने र तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय तथा इलाम निर्वाचन क्षेत्र नं. २ मा शोक पुस्तिका राखिने छ । पार्टी र पार्टी सम्बन्ध जनवर्गीय सङ्गठनको औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित गरिएको नेता ज्ञवालीले जानकारी दिए ।
यसैगरी पार्टीले असोज २ गते पार्टी मुख्यालयमा विशेष श्रद्धाञ्जलिसभा गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए । नेम्वाङको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा राखिएको छ ।
प्रतिनिधिसभा सदस्य नेम्वाङको आज बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो ।
नेम्वाङको निधनपछि एमालेको अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका थिए । अघिल्ला बैठकहरुमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ बस्ने गरेको कुर्सीमा आजको बैठकमा भने फूलमाला राखिएको थियो ।