चीन जानुअघि प्रचण्डलाई कुन पार्टीको के सुझावः प्रदीप र बाबुरामको विशेष अनुरोध

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणलाई लिएर पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन सुझाव दिएका छन्।

आइतबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री दाहाललाई विज्ञहरुले यस्तो सुझाव दिएका हुन्। उनीहरूले दुई देशको बीचमा परम्परागत रुपमा घनिष्ठ सम्बन्ध रही आएको र दुवै देशको सम्बन्धलाई सुदृढ गर्नका लागि डेलिभरेभल (नतिजामुखी) र भाएबल (व्यवहारिक) प्रोजेक्टहरु मात्रै अघि बढाउन सुझाव दिएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताए।

उनले चीनका चिन्ता चासोहरूलाई सम्बोधन गर्नेगरी भ्रमणलाई सार्थक बनाउन विज्ञहरूले सुझाएको बताए।

‘प्रधानमन्त्रीज्युले पूर्वपरराष्ट्र सचिवहरु, राजदुतहरुसँग आसन्न चीन भ्रमणका सन्दर्भमा सल्लाहका लागि बोलाउनुभएको थियो। त्यसमा आउनुभएका पूर्वसचिवहरु र राजदुतज्युहरुले दुई देशको बीचमा परम्परागत रुपमा घनिष्ठ सम्बन्ध रही आएको, दुवै देशको सम्बन्धलाई सुदृढ गर्नका लागि डेलिभरेभल र भाएबल प्रोजेक्टहरु कार्यक्रमहरु मात्रै राखेर एजेण्डा मात्रै राखेर अघि बढ्दा उपयुक्त हुने, दुई देशबीचको सम्बन्ध सुमधुर रही आएको र त्यसलाई निरन्तरता दिने कुरामा बढी जोड दिन र चीनका चिन्ता चासोहरुलाई सम्बोधन गर्नेगरी भ्रमणलाई सार्थक बनाउन सुझाव दिनुभएको छ। प्रधानमन्त्रीज्युले सुझावलाई महत्वका साथ लिनुभएको छ,’ साउदले भने।

पूर्वप्रधानमन्त्रीहरूसँगको बैठकमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सहाभागी थिए। उनी बैठकमा केही बेरमात्रै बसेर निस्किएका थिए। उता सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमणको सफलताको शुभकामना दिए।

अर्कातिर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चीनले अगस्ट २१ मा जारी गरेको नक्साबारे कुरा उठाए। उनले २०७५ वैशाखमा जारी भएको नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिएको कुरा आफूलाई थाहा नभएको बताए।

‘नक्साको विषय मलाई पनि जानकारी नभइकन कसरी अन्तर्राष्ट्रिय समुदायलाई पठाइयो?’, उनले भने, ‘मैले अहिलेसम्म थाहा पाएको छैन, कसरी कूटनीतिक रुपमा जानकारी गराइयो?’

एमालेको जोड पुराना सम्झौता कार्यान्वयन

एमालेले प्रधानमन्त्रीलाई आसन्न चीन भ्रमणमा विगतका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ । सर्वपक्षीय बैठकमा एमालेले चीनसँगका पुराना सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको हो।

त्यस्तै एमालेले नेपाल सधैं सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास चीनलाई दिलाउन पनि आग्रह गरेको छ ।

प्रदीप ज्ञवालीको विशेष अनुरोध

एमालेले नेपालसँगको सम्बन्धलाई लिएर उत्तरी छिमेकी चीनले अनेक आशंका गर्न थालेको पनि जनाएको छ। सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा एमालेको तर्फबाट आफ्ना भनाइ राख्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले चीनले नेपाललाई आशंकाको नजरले हेर्न थालेको बताएका हुन्।

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझाव मागेपछि आफूले विश्वास बटुलेर आउन सुझाव दिएको पनि सञ्चारकर्मीहरुलाई बताएका छन्। नेपालसँगको सम्बन्ध सन्तुलित छिमेकी नीतिको बाटोबाट अन्यत्र लागेको शंका चिनियाँहरुले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने पनि बताएका छन्।

‘प्रधानमन्त्रीले आशन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरु माग्नुभएको छ। पछिल्लो समय नेपाल-चीन सम्बन्धमा विश्वासको संकट देखिएको छ। चिनियाँ मित्रहरुको मनमा नेपाल कतै सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको भन्ने शंका देखिएको छ’, उनले भने, ‘नेपालले चीन सम्बन्धलाई कम प्राथमिकता दिएको हो कि, नेपालमा भइरहेको चिनियाँ लगानीलाई निरुत्साहित गर्न खोजेको हो कि वा अरु कुनै सेक्युरिटी अम्ब्रेलातिर जान खोजेको हो कि भन्ने परेको छ।’

रास्वपालाई नक्शाको पीर
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आसन्न चीन भ्रमणमा नेपालको चुच्चे नक्साबारे प्रष्टसँग कुरा राख्न सुझाव दिएको छ ।

बाबुरामको तीन बुँदे
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले प्रचण्डलाई आसन्न चीन भ्रमणका सन्दर्भमा तीनबुँदे सुझाव दिएका छन्। छलफलमा ‘विविध कारण’ले सहभागी हुन नसकेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत् सुझाव दिएका हुन्।

उनले चीनसँग पहिले भएका सहमति कार्यान्वयन गर्ने कुरामा जोड दिनुपर्नेमा जोड दिएका छन् । त्यस्तै एसिया नै मुख्य केन्द्र हुने गरी नयाँ शीतयुद्ध (उष्णयुद्ध)को बादल मडारिन लागेको उल्लेख गर्दै भट्टराईले अब सिर्जना हुने अवस्थितिको सामना गर्न नेपालले राष्ट्रिय हित अनुकूलको रणनीति तय गर्नुपर्ने बताएका छन्।

१. बहुदलीय लोकतन्त्रमा दलहरुबीच अरू विषयमा मत भिन्नता भए पनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्ने र त्यसलाई सबैले सधैं पालना गर्ने परम्परा बसालौँ। दलीय, गुटीय र निजी स्वार्थ निम्ति राष्ट्रिय हितविपरीत कसैले पनि कुनै पनि विदेशी शक्तिसँग खुला वा अपारदर्शी सहमति र सम्झौता नगरौँ।

२. एसिया नै मुख्य केन्द्र हुनेगरी मडारिन लागेको नयाँ शीतयुद्धको सन्दर्भमा नेपालले आफ्नो विशिष्ठ भू-सामरिक अवस्थितिलाई ध्यान दिँदै नेपालमा भारतको सुगौली सन्धिदेखिको प्रभुत्वलाई कायम गर्ने चाहना, चीनको नयाँ विश्वशक्तिको रूपमा यस क्षेत्रमा पनि प्रभाव विस्तार गर्ने चाहना र अमेरिका-यूरोप-जापानको चिनियाँ प्रभावलाई यस क्षेत्रमा विस्तारित हुनबाट रोक्ने चाहनालाई गहीरोसँग पर्गेलेर हामीले आफ्नो राष्ट्रिय हित अनुकूलको रणनीति तय गर्नुपर्दछ !

हामीले एकातिर कसैको परम्परागत प्रभुत्वलाई अन्त्य गरेर आफ्नो पूर्ण स्वाधीनतारसार्वभौमिकतारभौगोलिक अखण्डता कायम गर्नु छ भने अर्कोतिर कराइबाट उम्केर भुंग्रोमा खस्ने खतराबाट पनि मुक्त हुनु छ। यो डोरीमाथिको हिंडाइ नै आजको हाम्रो एकातिर ठूलो चुनौती र अर्कोतिर ऐतिहासिक अवसर दुवै हो। यसनिम्ति यथाशीघ्र देशका शीर्षस्थ नेताहरू र विविध क्षेत्रका विज्ञहरूको विचार मन्थनबाट राष्ट्रिय रणनीति तय गरौं र जनप्रतिनिधि तथा आम जनसमुदायको समेत सुझाव र सहमतिमा दृढतापूर्वक कार्यान्वयन गरौं।

३. तत्काल चीन भ्रमणको सन्दर्भमा पहिले भएका सहमति कार्यान्वयन गर्ने र मुख्यतः चीनको विशाल बजारसँग जोडिने भौतिक तथा अन्य पूर्वाधार छिटो निर्माण गर्ने कुरामा विशेष जोड दिउँ।