प्रधानमन्त्रीविरुद्धको मुद्दा सामान्य विषय होइन : प्रचण्ड
हेटौंडा । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दा सामान्य नभएको बताएका छन् । विस्तृत शान्ति सम्झौताको मर्मविपरीत, संविधानसभा, संविधानको मूल प्रवाहमाथि कुठाराघात गर्दै प्रधानमन्त्रीविरुद्ध मुद्दा हाल्ने काम भइरहेको बताउँदै उनले यो सामान्य विषय नभएको बताए ।
मकवानपुरको हेटौंडामा आइतबार समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले कार्यकारीविरुद्ध दायर मुद्दालाई पछि धकेलिदिएको भन्दै अदालतलाई धन्यवाद दिए । उनले भने, ‘अदालतमाथि अपमान गर्नु छैन । बरु म अदालतलाई धन्यवाद दिन चाहन्छु । कमसेकम त्यस्ता मुद्दालाई अदालतले पेन्डिङ गरिदिएको छ । तर, मुद्दा त छ । यो सामान्य कुरा होइन ।’
उनले आफू प्रधानमन्त्री भएपछि पटक–पटक अदालतमा मुद्दा परेको भन्दै चिन्ता व्यक्त गरे । आफू नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार, बेथिती र कुशासनविरुद्ध अभियान सञ्चालन गरेसँगै आफूविरुद्ध एक समूह लागेको उनले आशंका गरे । त्यसबाट दबाब परेको महसुस भएको उनले बताए । ‘सरकारको विरुद्ध एक खालको दबाब महसुस भइरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
संघीयता, गणतन्त्रमाथि प्रतिक्रियावादीहरूले प्रहार गरिरहेको भन्दै त्यसविरूद्ध जनता सडकमा उतार्न पछि नपर्ने बताए । प्रतिक्रियावादी शक्तिहरूले संघीयता, गणतन्त्रलाई होच्याउने र अपमानित गरिरहेको भन्दै उनले भने, ‘जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न समाजवादी मोर्चा बनाएको हो । अहिले त हामीले कार्यक्रम कोठामा गरिरहेका छौं । केही समयमा प्रतिक्रियावादीहरूको सातो जानेगरी सडकमा लाखौं जनता उतार्छौं ।’