कति टिक्ला हिक्मत कार्कीको सरकारः यस्तो छ एमालेको सत्ता लम्ब्याउने सूत्र
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताएका छन् । मुख्यमन्त्री पदको शपथ लिएपछि शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सबै दल एवं जनताको चाहना मध्यावधि निर्वाचन आवश्यक छैन भन्ने रहेकाले आगामी ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्ने दाबी गरे ।
उनले वर्तमान सरकारले विश्वासको मत प्राप्त गरी अगाडि बढ्ने र त्यसको विकल्प नरहेको बताए । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) लगायतका पार्टीले सरकारमा सहभागी भएर वा बाहिरबाट आफ्नो सरकारलाई समर्थन गर्ने विश्वास व्यक्त गरे ।
उनले सबै दलको सहभागितामा सर्वदलीय सरकार निर्माण गर्ने कार्यमा पहल गर्ने बताए । उनले वर्तमान सरकार एक महिना नभई चार वर्ष सञ्चालन हुने दाबी गरे ।
कार्कीको मन्त्रिमण्डलमा झापाका एकराज कार्की भौतिक पूर्वाधार मन्त्री, ताप्लेजुङका तिलकुमार मेयाङ्बो खानेपानी सिँचाई तथा उर्जा र र स्वस्थ्य मन्त्री र खोटाङका पाँचकर्ण राई पर्यटन, बन तथा वातावरण र उद्योग तथा कृषी मन्त्री नियुक्त भएका छन्।
त्यसैगरि सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन्।
कोशी प्रदेश प्रमुखको कार्यालयले शुक्रवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जनाएको छ।
संविधानको उक्त धारामा प्रदेशसभामा सबैभन्दा धेरै सदस्य भएको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था छ।
सर्वोच्च अदालतले बिहीवार यसअघिका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत बदर गरेसँगै उनी स्वतः पदमुक्त भएका थिए। अदालतले आदेश प्राप्त भएको मितिले ४८ घण्टाभित्र नयाँ मन्त्रिपरिषद् गठन गर्न पनि आदेश दिएको थियो।
सर्वोच्चको परमादेशपछि मुख्यमन्त्री बनेका कार्कीले पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। प्रदेशसभाको अङ्क गणितले उनलाई पनि प्रदेशसभाबाट विश्वास मत प्राप्त गर्न निकै चुनौती देखिन्छ।
प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका उपसभामुखसहित ४० जना सांसद छन् । एमालेलाई प्रदेशमा साथ दिइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसदले फेरी पनि कार्कीलाई साथ दिने ठानिएको छ। तर राप्रपाले साथ दिँदा पनि कुल ९३ सदस्य रहेको कोशी प्रदेशसभामा कार्कीलाई विश्वासको मत प्राप्त गर्न आवश्यक ४७ जना सांसद पुग्दैन।
एमाले र राप्रपाको मत जोड्दा ४६ मात्रै पुग्छ। अन्य दलको समर्थन नपाए यस अघिजस्तै मुख्यमन्त्री कार्की स्वतः अल्पमतमा पर्ने अवस्था निश्चित देखिएको छ। यसअघि पनि कार्कीले विश्वासको मत नपाएपछि कांग्रेसका थापा मुख्यमन्त्री बनेका थिए।
सर्वोच्च अदालतको परमादेशपछि सत्ताबाट हटेको नेपाली कांग्रेस लगायतका चार दलीय गठबन्धन दलका नेताहरूले भने कार्की नेतृत्वको सरकारलाई कुनै पनि हालतमा समर्थन नगर्ने बताएका छन्।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले अबको ३० दिनपछि पुनः गठबन्धन दलकै नेतृत्वमा सरकार बन्ने दाबी गरे।
कार्कीले भने आफूले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने दाबी गरेका छन्। मुख्यमन्त्रीको शपथ ग्रहण अघि बीबीसीसँग कुरा गर्दै कार्कीले सबै दललाई मिलाएर लैजाने गरी आफूले पहल गर्ने बताए।
“मेरो प्रयास कांग्रेस माओवादी राप्रपा सहितका दलहरूलाई लिएर जाने हुन्छ,” उनले भने।
कांग्रेसले एमाले नेतृत्वको दललाई सघाउला भन्ने बीबीसीको जिज्ञासामा कार्कीले भने, “सघाउँछ भन्ने अहिलेको घटनाक्रमले त देखिएन तर पनि हाम्रो कुराकानी जारी रहन्छ।”