कोशीका मुख्यमन्त्री थापा फेरि पदमुक्त, ४८ घण्टाभित्र नयाँ सरकार गठन गर्न आदेश
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा फेरि पदमुक्त भएका छन् । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा सबभन्दा ठूलो दल नेकपा एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेशसमेत दिएको छ ।
न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापाले लिएको विश्वासको मत असंवैधानिक भएको ठहर गर्दै संविधानको धारा १६८ को ३ अनुसार ४८ घण्टाभित्र नयाँसरकार गठन प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।
मुख्यमन्त्री थापाले यही भदौ ४ गते लिएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गर्दै नेकपा (एमाले) का कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा भदौ ४ गते मुख्यमन्त्री थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको उल्लेख थियो ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएको भन्दै संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेशको माग रिट निवेदनमा गरिएको थियो ।
कोशीका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको भूमिकामा रहेका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीको समेत मत लिएर विश्वासको मत पाएका थिए । त्यसविरूद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ७ भदौमा कोशी सरकारलाई दीर्घकालीन असर पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो । आज पूर्ण इजलासले थापाले पाएको विश्वासको मत असंवैधानिक ठहर गरेको हो ।
त्यसअघि पनि मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार गठनको दाबी पेश हुँदा कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरबाट प्रदेश सभाको बहुमत संख्या ४७ पुर्याइएकोमा त्यसलाई गैरसंवैधानिक र गैरसंसदीय कार्य भएको ठहर गरेपछि थापा पदमुक्त भएका थिए । तर पछि सभामुखलाई राजीनामा गराएर उनको समेत संख्या जोडी बहुमत सङ्ख्या पुर्याएर थापा मुख्यमन्त्री बनेका थिए । तर विश्वासको मत लिने बेला सभाध्यक्षको अध्यक्षता गरेका इस्राइल मन्सुरीको समेत हस्ताक्षर गराइ विश्वासको मत पाएको घोषणा गरिएको थियो ।
त्यसविरूद्ध पुनः एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो । सर्वोच्चले एउटै विकल्पमा पटक पटक नजान भन्दै प्रदेश सभाको सबभन्दा ठूलो दल नेकपा एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।