सरकारविरुद्ध आगो भयो कांग्रेस, सडकदेखि सदनसम्म आक्रामक

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । सत्ता साझेदार दलहरुको मुख्य एक घटक नेपाली कांग्रेस सरकारविरुद्ध नै आक्रामक बन्ने संकेत देखिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका एक जना प्रभावशाली नेता बालकृष्ण खाँण पक्राउ परेपछि रुष्ट भएको कांग्रेस गत बुधबार मात्रै सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा दिनदहाडै खुकुरी प्रहार भएपछि सरकारविरुद्ध थप आक्रामक भएको छ ।

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले त गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै शुक्रबार देशभर प्रदर्शन र विरोध सभा गर्ने निर्णय गरिसकेको छ । यसैगरी प्रतिनिधि सभाको बैठकमा पनि कांग्रेस सांसदहरुले सो घटनाबारे गृहमन्त्रीको जवाफ मागेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री यादव बुधबार रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा सहभागी भएर फर्किने क्रममा क्लब बाहिर आक्रमणमा परेका थिए । टाउकोको पछाडिको भाग र गर्धनमा गहिरो चोट लागेर घाइते भएका यादवको राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको छ ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादव घाइते अवस्थामा

उक्त घटनापछि नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आज काठमाडौंमा उपलब्ध तरुण नेताहरुको बैठक बोलाएका थिए । सो बैठकले सरकारले शान्ति सुरक्षा मिलाउन नसक्दा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको निष्कर्ष निकाल्दै गृहमन्त्रीको राजीनामा माग्दै ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष गुरुङले बताए । काठमाडौंको हकमा शुक्रबार (भोलि) दिउँसो एक बजे शान्ति बाटिकामा विरोध प्रदर्शन र सभा गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निकट मानिने तरुण दलअध्यक्ष गुरुङले भने, ‘यो गृहमन्त्रीले शान्ति सुव्यवस्था मिलाउन नसक्दाको परिणाम हो । आज नेताहरुमाथि खुकुरी प्रहार हुन्छ भने भोलि त्योभन्दा पनि गम्भीर प्रकारको आक्रमण नहोला भन्न सकिँदैन । यस घटनाको जिम्मा गृहमन्त्रीले लिनुपर्छ ।’ शान्ति सुव्यवस्था मिलाउन नसक्ने गृहमन्त्रीले पद छाड्नुपर्ने बताउँदै उनले भने, ‘उस्तै परे सरकार परिवर्तनको मागसम्म अघि सारेर प्रस्तुत हुन्छाैं ।’

नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङ

त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवा गृहमन्त्री श्रेष्ठप्रति रूष्ट छन् । देउवाले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठको विकल्प खोज्न दबाव दिएका मिडिया रिपोर्टहरु सार्वजनिक भएका थिए । तर प्रधानमन्त्री प्रचण्डले त्यसलाई अस्वीकार गरेका थिए । भ्रष्टाचार र तस्करीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन श्रेष्ठले गृहमन्त्रीको तर्फबाट चालेको कदमको आम जनताबाट प्रशंसा भइरहेकाले त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले अहिले  उनको विकल्प खोज्न नहुने बताएका थिए ।

अहिले फेरि कांग्रेस सहमहामन्त्री यादव माथि आक्रमण भएपछि कांग्रेसले फेरि गृहमन्त्री श्रेष्ठलाई निशाना बनाएको छ । सहमहामन्त्री यादवमाथि भएको आक्रमणको आजको प्रतिनिधि सभा बैठकमा पनि कांग्रेस सांसदहरुले विरोध जनाए । कांग्रेस प्रमु्ख सचेतक रमेश लेखकले सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक आक्रमण सामान्य घटना नभएको बताए । उनले यसबारे सत्यतथ्य सहित आगामी बैठकमा जानकारी गराउन उपप्रधानमन्त्री र गृहमन्त्रीसँग माग गरे ।

यो संघीय लोकतान्त्रिक व्यवस्थामाथि आक्रमण गर्ने पूर्वतयारी हुनसक्ने बताउँदै उनले त्यसबाट कांग्रेस विचलित नहुने स्पष्ट पारे ।  खुकुरी प्रहार गरेर कांग्रेस मर्छ भन्ने भ्रम नपाल्न आग्रह गर्दै प्रमुख सचेतक लेखकले भने, ‘कांग्रेस लोकतन्त्रका पक्षमा अविचलित रुपमा उभिएको पर्वत हो । पहाडसँग जुध्ने टाउकाहरु फुट्छन्, पहाड फुट्दैनन् ।’

कांग्रेस महामन्त्री गगन थापा

त्यसअघि कांग्रेस महामन्त्री गगन थापाले पनि सहमहामन्त्री यादवमाथि भएको आक्रमणको विरोध जनाएका थिए । महामन्त्री थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु- के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो रु कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो रु’

उनले आक्रमणलाई थामथुम पार्ने प्रयास भएको आशङ्कासमेत गर्दै घटनाको अनुसन्धान गर्न माग गरे । महामन्त्री थापाले भने, ‘सन्काहाले हान्यो भनेर थामथुम पार्ने सामसुम गर्न लागिएको छ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस् ।’

नुवाकोटका श्यामबाबु सापकोटाले कांग्रेस सहमहामन्त्री यादवमाथि बुधबार खुकुरी प्रहार गरेका थिए । सापकोटाले आफूलाई राजावादी अभियन्ता भन्ने गरेका छन् ।