किन काठमाडौं आयो अमेरिकी सेनाको टोली ?
काठमाडौं । अमेरिकी सेनाको १२ सदस्यीय टोली आज आफ्नै विमान चढेर काठमाडौं आएको छ । यो टोली असोज १२ गतेसम्म नेपालमा रहने छ । अमेरिकी सेनाको विमान भने आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बास बसेर भोलि भदौ २२ गते स्वदेश फर्किने छ ।
नेपाली सेनका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौं आइपुगेको जानकारी दिए । ४० औं संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेदेखि सुरु भई असोज १२ गतेसम्म चल्ने छ । सोही संयुक्त सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली बन्दोबस्तीका सामानसहित आफ्नै विमान चढेर काठमाडौं आएको हो ।
नेपालमा अमेरिकी अनुदान सहयोग एमसीसी कार्यान्वयन सुरु भएलगत्तै अमेरिकी सेना आएपछि अनेक शंका र अड्कालबाजी भइरहेको बेला नेपाली सेनाका सूचना अधिकारी भण्डारीले भने अमेरिकी टोली विशुद्ध संयुक्त अभ्यासका लागि आएको जानकारी दिए ।
अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशका सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । संयुक्त अभ्यासको क्रममा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता, प्रतिआतंकवाद नियन्त्रण, शान्ति सेनामा खटिँदाको भूमिका लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदान प्रदान हुँदै आएको छ ।
यस्तै अभ्यासको सिलसिलामा सेनानी विवेक विक्रम शाहको कमाण्डमा १० सदस्यीय नेपाली सेनाको टोली भदौ २० गते बेलायत गएको छ ।