
युक्रेन युद्धपछि बदलिएको रणनीतिः रुसबाट चीन जाने ग्यास पाइपलाइनलाई अन्तिम रूप दिइँदै
रुसले चीनलाई थप प्राकृतिक ग्यास आपूर्ति गर्ने विशाल परियोजना ‘पावर अफ साइबेरिया २’ पाइपलाइनका लागि मार्गको आफ्नो पक्षलाई छिट्टै अन्तिम रुप दिने बताएको छ ।
युक्रेनमा भएको सैन्य आक्रमणले एसियाली क्रेताहरूको पक्षमा युरोपेली बजारबाट टाढा जान बाध्य पारेपछि मस्कोले अर्को वर्ष पाइपलाइन निर्माण सुरु गर्ने योजना बनाएको छ ।
‘यो अन्तिम चरणमा छ,’ रुसी पत्रिका इनर्जी पोलिसीलाई दिएको अन्तर्वार्तामा रुसका उपप्रधान तथा ऊर्जा मन्त्री अलेक्जेन्डर नोभाकले भने, ‘पाइपलाइन अचिन्स्क शहर नजिकै दक्षिणी साइबेरिया हुँदै मङ्गोलियन सीमामा पुग्नुअघि क्रास्नोयास्र्क र इरकुट्स्कतर्फ पूर्वतर्फ मोडिनेछ ।’

नोभाकले चिनियाँ नेताको भ्रमणका क्रममा रूसी र चिनियाँ कम्पनीले यस वर्षको अन्त्यसम्ममा पाइपलाइनको सम्झौतामा हस्ताक्षर गर्ने बताएका थिए । तर यसको निर्माण कार्य सम्पन्न गर्ने समय तालिका भने अस्पष्ट छ ।
हाल रुसले सन् २०१९ मा सुरु भएको पावर अफ साइबेरिया–१ पाइपलाइनमार्फत उत्तरपूर्वी साइबेरियाबाट चीनतर्फ आफ्नो ग्यास निर्यात गर्दै आएको छ ।
