चीनमा के गर्दै छ शंकर पोखरेलको टोली, के छ एमालेलाई चीनको सन्देश !

मूलखबर संवाददाता
काठमाडौं

यतिबेला नेकपा एमालका महासचिव शंकर पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा छ। चीन भ्रमणका क्रममा त्यहाँका विभिन्न स्थानको अवलोकनसँगै राजनीतिक अन्तरक्रिया पनि चलिरहेका छन्।

टोलीले सोमबार जनवादी गणतन्त्र चीनको मुख्य सहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान कार्यक्रममा सहभागी हुनुका साथै स्कुलको अवलोकनसमेत गरेको छ ।

 कार्यक्रममा महासचिव पोखरेलले जनताको बहुदलीय जनवादको आलोकमा एमालेले ‘समृद्ध नेपाल : सुखी नेपाली’ को लक्ष्यसहित नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको बताए । नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलन विकासक्रमका मुख्य ३ मोडहरू पेश गरेका गरे।

जसमा पार्टी स्थापना र संगठनमा पुष्पलाल श्रेष्ठ, विचारमा मदन भण्डारी र समृद्धिमा केपी शर्मा ओली रहेको पोखरेलको भनाइ थियो । उनले भने, ‘ हामी हाम्रो अध्यक्ष क. केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपाल : सुखी नेपालीको लक्ष्य पूरा गर्दै समाजवादको आधार निर्माण गर्छौं ।’

शंकर पोखरेलको सन्देश थियो- जबजको आलोकमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यसहित एमालेले नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व गरिरहेको छ । नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्त्वपूर्ण छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको विकासक्रमका मुख्य तीन मोडहरूको चर्चा गर्दै ओलीको नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्दै समाजवादको आधार निर्माणको बाटोमा रहेको बताएका छन् । कम्युनिस्ट आन्दोलनका तीन मोडको नेतृत्व संस्थापक पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र ओलीले गरेको उल्लेख गरेका छन् । श्रेष्ठले पार्टी स्थापना र संगठन, भण्डारीले विचार र ओलीले समृद्धिको नेतृत्व गरेको महासचिव पोखरेलले बताएका छन् ।

सो अन्तर्क्रियामा चिनियाँ आधुनिकीकरणमा छोङछिङको अभ्यासबारे प्राध्यापक सुन लिङ उले र नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादः सी विचारधाराबारे प्राध्यापक दा सिउ लाइओईले धारणा राखेका थिए ।

एमाले टोलीमा एमाले परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, ज्वालाकुमारी शाह, राम राना, टुका हमाल, सहदेव देवकोटा, रचना खड्का, निरज आचार्य, मन्जु गुरुङ, अजयकुमार गुप्ता, मानवीर राईलगायत सहभागी छन् ।

चीन चाहन्छ- कम्युनिष्ट मिलुन्

चीनले नेपालका कम्युनिस्टहरु मिलुन् भन्‍ने शुभेच्छा सधैं राख्‍ने गरेकै छ, जसलाई नेपालका वामपन्थी विश्लेषकहरुले स्वाभाविक बताउने गरेका छन्। चीनको धारणा बुझ्न प्रधानमन्त्री प्रचण्डले माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख अग्‍निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली चीन पठाएका थिए। करिब दुई साताको चीन बसाइपछि माओवादी उपाध्यक्ष नेतृत्वको टोली जेठ १९ गते स्वदेश फर्किएको थियो।

माओवादीका सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्यसमेत सहभागी टोलीले तिब्बत, बेइजिङ र हुबेइ प्रान्तको भ्रमण गरेको थियो। माओवादी नेताहरुको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग औपचारिक भेटघाट र कुराकानी गरेको थियो। छाओले यसअघि विदेश विभाग प्रमुख नियुक्त भएलगत्तै पहिलो भ्रमण नेपाल गरेका थिए।

नेपाल फर्किएपछि अग्निप्रसाद सापकोटाले चीनले नेपालका कम्युनिस्टहरू मिलुन् भनेर सद्भावरसन्देश पठाएको बताएका थिए। उनले भनेका थिए, “चीनले नेपालका कम्युनिस्टहरू मिलून् भन्ने चाहन्छ, त्यही सन्देश छ ।”