डोल्पामा भेटियो नयाँ ताल, तिलिचोभन्दा पनि अग्लो स्थानमा रहेको दाबी

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । विश्वकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो तालभन्दा पनि बढी उचाइमा डोल्पामा अर्को ताल भेटिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । नयाँ ताल डोल्पाको डोल्पो बुद्ध गाउँपालिका ६ फालगाउँमा भेटिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका हुन् ।

यद्यपि सरकारको आधिकारिक निकायबाट यसको उचाइ पुष्टी हुन भने बाँकी छ ।

तिलिचो ताल समुद्र सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा रहे पनि डोल्पामा भेटिएको ताल समुद्र सतहदेखि ५ हजार १९० मिटर उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष नुर्बु डम्डुल गुरुङले बताए ।

डोल्पो बुद्ध गाउँपालिका(६ का वडाध्यक्ष गुरुङ र डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमा धोर्चे गुरुङको पहलमा स्थानीय बासिन्दाको सहयोगमा तालको उचाइ मापन गरिएको र आफूहरुसँग भएको जीपीएसले ताल रहेको स्थानको उचाइ ५ हजार १९० मिटर देखाएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

शनिबार मात्र गाउँपालिका उपाध्यक्ष ,वडाध्यक्ष र अन्य १७ जना स्थानीय बासिन्दाको टिम फाल गाउँबाट ३÷४ घण्टा पैदल हिँडेर ताल भएको स्थानमा पुगेर फर्किएको उनले जानकारी दिए । ‘‘यो ताल पहिलेदेखि थाहा भए पनि अहिलेसम्म जो कोही सजिलै जान सक्ने हिक्मत हुन्थेन,’ उनले भने, ‘त्यहाँ चीन र नेपालको उच्च चिसो र हिमालमा बसोबास गर्ने भालुजस्तो देखिने खैरो रङको जनावरको डरले कोही जाँदैनथे,’ वडाध्यक्ष गुरुङले भने ।

डोल्पामा भेटिएको नयाँ ताल नेपाल–चीनको सिमाना नजिक नजिक छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले स्थानीय जनप्रतिनिधिहरुले तिलिचो भन्दा पनि अग्लो स्थानमा ताल फेला पारेको जानकारी आफूलाई गराए पनि त्यसको आधिकारिकता पुष्टि हुन बाँकी रहेको बताए । उनले तालको आधिकारिकताका लागि प्रक्रिया थाल्ने पनि बताए ।

हिमालय पर्वत शृंखलाअन्तर्गत मनाङ जिल्लाको अन्नपूर्ण क्षेत्रभित्र पर्ने तिलिचो ताल समुद्र सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा छ । ४ किलोमिटर लम्बाइ, १.२ किलोमिटर चौडाइ र सरदर २०० मिटर गहिराइको तिलिचो ताल हालसम्म विश्वकै अग्लो स्थानमा रहेको रेकर्ड छ ।