माओवादी रूपान्तरण अभियानः दोस्रो तहका नेताको भाषणमा जिम्मेवारी बहनको भाव

मूलखबर संवाददाता
काठमाडौं

झन्डै २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि जनतासँग माओवादी रुपान्तरण अभियान सुरु गरेको छ। सो अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गरेका थिए।

औपचारिक कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड शनिबार नै चन्द्रागिरिस्थित वडा नं २ मा रहेको घट्टेडाँडा पार्कमा पुगेका पनि थिए। गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चन्द्रागिरि नगरपालिकाको वडा नं २ मा प्यानलसहितै विजयी भएको थियो। माओवादीले सात प्रदेशका सात सय ५३ वटै पालिकाका छ हजार सात सय ४३ वडामा नै शनिबार अभियानको उद्घाटन भएको जनाएको छ।

जनताको घरदैलोमा पुग्ने र आफ्ना एजेन्डा बताउने लक्ष्यका साथ अभियान सुरु गरिएको माओवादीका नेताहरूले बताएका छन्। अभियानका क्रममा विकास निर्माणका काम पनि भएका छन्। कतै सफाइ अभियान चलेको छ। कतै रक्तदान त कतै सहिद परिवारलाई सम्मान गरिएको छ। सडक मर्मत गर्ने, स्थानीयसँग अन्तक्र्रिया एवं पार्क सफाइ गर्ने कामसमेत अभियानको क्रममा सुरु भएको छ। यस्तै सरकारले गरेको भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा गरेको काम कारबाहीलाई जनताको बीचमा लैजाने माओवादीको ध्येय छ।

माओवादीले पहिलोपटक फरक कार्यक्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको छ। त्यसबाट स्थानीयस्तरमा भएको कमी–कमजोरी सुधार्ने तथा नयाँ ढङ्गले सङ्गठनको विस्तार हुने केन्द्रको विश्वास छ। माओवादीका हरेकजसो नेता अभियानमा खटिएका छन्। यसबाट जनतामा नयाँ खालको सम्बन्ध विकास हुने र त्यसले आगामी दिनमा पार्टी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ।

दोस्रो तहका नेताको भाषणमा जिम्मेवारीको भाव

पार्टीका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको सैँबुमा आयोजित कार्यक्रममा सहभागी भए। उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका जेलवाङ रोल्पा, उपाध्यक्ष अग्निप्रसाद सापकोटा लिसङ्खुपाखर–३ सिन्धुपाल्चोक, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका–२२ मा अभियानको नेतृत्व गर्दै सहभागी भए।

माओवादीका अनुसार महासचिव देवप्रसाद गुरुङ सुन्दरबजार नगरपालिका–८ भोटेओडार, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौँ, उपमहासचिव वर्षमान पुन कामनपा–१६ गोङ्गबु, उपमहासचिव हरिबोल गजुरेल कमलामाई नगरपालिका सिन्धुली, उपमहासचिव जनार्दन शर्मा चन्द्रागिरि नगरपालिका–२ काठमाडौँमा सहभागी भए।

यस्तै उपमहासचिव शक्तिबहादुर बस्नेत भेरी नगरपालिका–१ जाजरकोट, उपमहासचिव मातृकाप्रसाद यादव वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेत, सचिव दीनानाथ शर्मा बागलुङ नगरपालिका–१२ बाग्लुङ, सचिव चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८ मोरङ, सचिव देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२० कास्की, सचिव लीलामणि पोखरेल बर्दिबास नगरपालिका महोत्तरी, सचिव गणेश साह काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर काठमाडौँमा अभियानको नेतृत्व गरे।

यसैगरी सचिव हितमान शाक्य सिस्ने गाउँपालिका–६ रुकुमपूर्व, सचिव हितराज पाण्डे पालुङटार नगरपालिका–६ गोरखा, सचिव डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६ कैलाली, सचिव सुरेन्द्रकुमार कार्की बुद्धशान्ति गाउँपालिका–४ झापा र कोषाध्यक्ष श्रीराम ढकाल भने चन्द्रागिरि नगरपालिका–२ मा नै सहभागी भए। माओवादीले यसपटक सबै पदाधिकारीलाई अभियानको नेतृत्व गर्ने गरी कार्यक्षेत्र निर्धारण गरेको छ।

अभियानको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अभियानका मुलभूतरूपमा पाँचवटा कार्यभार रहेको चर्चा गर्दै राष्ट्रिय स्वाधिनता, अखण्डता र राष्ट्रिय सुरक्षालाई बलियो बनाउनु रहेको बताए।

उनले सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्नु, परिवर्तनपछिको उपलब्धि अपहरण र प्रहार गर्ने षड्यन्त्र भइरहेकाले त्यसका विरुद्ध जनतालाई गोलबन्द गर्नु रहेको अभियानको अर्को कार्यभार रहेको बताए।

यसैगरी राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिबाट सामाजिक–आर्थिक रुपान्तरण गर्नु, नागरिकको जीवनमा देखिने गरी परिवर्तन गर्नु, जनताले अपेक्षा गरेअनुसार उपलब्धि भएन, सुखी जीवनयापनका लागि तीव्रगतिमा विकासका कार्य अगाडि बढाउनु तथा देशमै श्रम र रोजगारीको सुनिश्चित गर्नु अभियानको अर्को ध्येय रहेको उनको भनाइ छ।

शान्ति प्रक्रियालाई पूर्णता दिँदै सङ्क्रमणकालीन न्याय पूरा गर्नु, सत्यनिरुपण तथा बेपत्ता छानविन आयोगका काम पूरा गर्नु तथा समाजवादको आधार तयार गरी समाजवादी नेपाल निर्माण गर्नका लागि जनमत तयार पार्नु अभियानको अर्को महत्त्वपूर्ण कर्तव्य भएको उनको भनाइ छ।

बागमती प्रदेशका इञ्चार्जसमेत रहेका उपमहासचिव जनार्दन शर्माले जनताले चाहेको अधिकार, जनमुखी शासन प्रणाली र भ्रष्टाचारमुक्त समाज निर्णाण गर्न रुपान्तरण अभियान चलाइएको बताए। चन्द्रागिरिको घट्टेडाँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले ‘जनताको सुख–दुःखको साथी माओवादी हुनैपर्ने उल्लेख गरे।

वर्षमान पुन
उपहासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले देशमा अहिले जनताको सरकार रहेको बताएका छन् । गोंगबु बसपार्कमा ‘जनतासँग माओवादी विशेष अभियान’ को शनिबार उद्घाटन गर्दै पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको बताए।

देशमा पहिलोपटक सरकारले पनि जनताको पक्षमा काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो। सुशासनका लागि भ्रष्टाचारविरोधी अभियान प्रतिस्पर्धी दल वा आफूसँग असहमत पक्षतर्फ लक्षित रहेको भन्ने भ्रम फैलाउन खोजिएको भन्दै समग्र मुलुकको शद्धीकरणका लागि थालिएको पुनले उल्लेख गरे।


पुनले सरकार वा राज्य संयन्त्र र सामाजिक संस्थाको नेतृत्वमा पुगेकाहरुमा वैध/अवैध सबै तरिकाले धन आर्जन गर्ने र मोजमस्तीमा खर्च गर्ने प्रवृत्ति हाबी भएको बताए।

‘आफू पदमा बस्दा त्यसबाट बढीभन्दा बढी शोषण र दोहन गर्ने, वैध/अवैध ढंगले कसरी पैसा काउने र मोजमस्ती गर्ने भन्ने प्रतिस्पर्धातिर समाज गइरहेको छ। उत्पादन, श्रम वा उद्यम/व्यवसाय गरेर कमाउने नभई सजिलै कमाउने (इजी) मनीतिर समाज आकर्षित भइरहेको छ। बिचौलिया धन्दा र प्रवत्ति समाजमा हुर्कंदै गएको छ’, उनले भने,‘पार्टीहरु, राज्य संयन्त्र र समग्र सामजको शुद्धीकरणलाई सरकारले प्राथमितामा राखेर सुशासनको अभियान थालेपछि निराश जनतामा उत्साह पैदा भएको छ।’

पुनले माओवादीभित्र कोही भ्रष्टाचार र राज्य दोहनमा संलग्न भएको देखिए कसैले उन्मुक्ति नपाउने पनि बताए। राष्ट्रिय र आत्मनिर्धर पुँजी निर्माण गर्ने राष्ट्र प्रेम तथा देशभक्तिको भावना भएका युवाहरुलाई तयार गर्ने अभिायान पनि भएको पुनले बताए।

पम्फा भुसाल

उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ तीनमहिने अभियानमा पार्टीको त्याग र बलिदानसहित पार्टीले जनताको पक्षमा गरेका कामबारे जनतालाई बुझाउने बताएकी छन्।

ललितपुर उपमाहानगरपालिका– २२ बुङ्मतीमा आयोजित कार्यक्रममा उपाध्यक्ष पम्फा भुसालले यस्तो बताइन्। अरु समय भोट माग्न र भोट प्राप्त गरेपछि धन्यवाद दिन आएको र अबको तीनमहिने रुपान्तरण अभियानमा जनताको गुनासो र सुझाव सङ्कलन गर्न जनताको घर–घरमा माओवादी पुग्ने उनले बताइन्।

उपाध्यक्ष भुसालले भनिन्, “भदौ १६ गतेदेखि सुरु भएको अभियान मङ्सिर १५ गते सकिएपछि जनताबाट प्राप्त भएका सुझाव र आलोचनालाई समीक्षा गरेर विधान सम्मेलन गर्नेछौँ। विधान सम्मेलनकोे तीन महिनापछि महाधिवेशनद्वारा नीति र विचारमा नयाँ विकास गरेर पार्टीलाई देशको सबैभन्दा अग्रगामी र सबैभन्दा क्रान्तिकारी शक्ति निर्माण गर्नेछौँ।”

जनता र माओवादीको सम्बन्ध नङ र मासुको जस्तै हुँदा माओवादी बलियो हुने र माओवादी बलियो हुँदा परिवर्तनको एजेन्डा रक्षा हुने भएकाले जनतासँग माओवादी रुपान्तरण अभियान सुरु गरेको उनले बताइन्। जनताको नयाँ आलोचना र नयाँ सुझावले माओवादी केन्द्र नयाँ ढङ्गले अगाडि बढ्नेसमेत उनले बताइन्।