
चिनियाँ नक्शाबारे बोल्यो नेपाल, प्रधानमन्त्री प्रचण्डले बेइजिङसँग कुरा गर्ने
नेपालले तीन वर्षअघि जारी गरेको भौगोलिक नक्सालाई नेपालका छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस नोट जारी गर्दै नेपालको धारणा सार्वजनिक गरेको हो।
मन्त्रालयले भनेको छ, ‘सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट छ। यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ।’
चीनले २८ अगस्टमा जारी गरेको नयाँ नक्सामा नेपालको नक्साको चुच्चे भागलाई हटाएको थियो। त्यसको नेपालमा विरोध भइरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आसन्न आफ्नो चीन भ्रमणमा चुच्चे नक्साको विषय उठाउने भएका छन् । प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) प्रवक्ता अग्निप्रसाद सापकोटाकाअनुसार उनले आफ्नो भ्रमणका क्रममा नक्साको कुरा उठाउने छन् ।
“धेरै महत्त्वपूर्ण विषयमा किन त्यस्तो हुन गयो । किन समेटिएन त्यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । त्यो जारी भएपछि बुझ्दा त्यस विषयमा पहिलेका सरकारले जानकारी गराएको छ भन्ने छ । हाम्रो पार्टीको अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यस विषयमा पनि कुराकानी हुन्छ,” प्रवक्ता सापकोटाले भने ।
गत मङ्गलबार चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा छेऊमा नेपालको पुरानै नक्सा राखेर जारी गरेको थियो । नेपालको भूमि भारतले समेटेपछि नेपालले २०७७ साल जेठ ७ मा आफ्नो लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।
तर छिमेकी नेपालको वास्तविक नक्साको सट्टा चीनले नेपालको पुरानै नक्सा राखेपछि यसको आलोचना हुँदै आएको छ ।
यो पनि पढ्नुस्-
किन छापेन चीनले नेपालको चुच्चे नक्शा, नेपालमा आक्रोश तर यस्तो छ खास कारण
