
समाजवादी मोर्चाको सुर्खेत सम्बोधनको सारांशः प्रचण्डको भ्रष्टाचार विरोधी अभियानमा सबैको साथ
समाजवादी मोर्चा नेपालले आज पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देश सभा गर्दैछ । पोखरा सभागृहमा मध्यान्ह १२ बजे हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
मोर्चाले हिजो कर्णाली प्रदेशमा सन्देश सभा सम्पन्न गरेको थियो । सो अवसरमा समाजवादी मोर्चाको कर्णाली प्रदेश कमिटी घोषणा पनि भएको छ ।
हिजो विहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै शीर्ष नेताहरूले गठबन्धन सरकार भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न लाग्दा विपक्षीहरू रन्थनिएको बताएका थिए।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस सम्मिलित सरकारले सुशासन कायम र भ्रष्टाचार अन्त्यका लागि नयाँ अभियान चलाएको बताउँदै अभियानले थप सशक्त रूप पाउने दाबी गरेका छन् ।
समाजवाद उन्मुख यात्रामा गठबन्धन र समाजवादी मोर्चा कटिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनको यात्रामा दोषी देखिएका कसैलाई पनि बाँकी नराख्ने बताए । पछिल्लो समय माओवादी केन्द्र आफूनिकट नेताहरूलाई जोगाउन लागेको आरोपका सन्दर्भमा भ्रष्टाचार प्रकरणका मुद्दाको अनुसन्धानमा दोषी देखिए बाटोमै आफूलाई समेत नछोड्न सीआईबीलाई निर्देशन दिएको उनको भनाइ छ ।
‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ । कांग्रेस र एमालेका मान्छेहरूलाई हान्छ भनेर निकै हल्ला भयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता मात्रै होइन, बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड्न भनिसकेको छु ।’
जनयुद्धमा विप्लवको सुरक्षामा १० वर्षे युद्ध लडेको र नेकपा हुँदा एउटै पार्टीमा रहेका माधव नेपालसँग पुनः एकै हुन पाउँदा खुसी लागेको भन्दै प्रचण्डले गठबन्धनसँगै मोर्चा अघि बढेपछि प्रतिक्रियावादीहरूलाई खपिनसक्नु भएको टिप्पणी गरे । चार पार्टी मात्रै नभई नेपालका सिंगो कम्युनिस्टहरूलाई गोलबद्ध बनाएर लैजाने अभियानमा आफू रहेको प्रचण्डको भनाइ छ ।
यस्तै, सभालाई सम्बोधन गर्र्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी आन्दोलनलाई एकताबद्ध गरेर अगाडि लैजाने अभिप्रायले समाजवादी मोर्चा गठन भएको बताए ।
तत्कालीन समयमा कांग्रेस, नेकपा माओवादी र आफू नेतृत्वको एमालेको सहकार्यमा राजतन्त्रको अन्त्य गरेको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजका विभेद र असमानताहरूको अन्त्यका लागि समाजवादी शक्ति मिल्नु पर्नेमा दुई मत नरहेको बताए । विद्यमान खर्चिलो निर्वाचन प्रणालीले देशमा अस्थिरता र भ्रष्टाचार मौलाएकाले यो व्यवस्था परिवर्तनका लागि पनि मोर्चा आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष नेपालले कांग्रेस र समाजवादी मोर्चाबीच बनेको गठबन्धन सरकारलाई कुनै पनि देशी विदेशी शक्तिले ढाल्न नसक्ने दाबी गरे ।
देशको वर्तमान अवस्थाको विश्लेषणसहित समाज रुपान्तरणतर्फ नलागे देश समाजवादतर्फ उन्मुख हुन नसक्ने बताउँदै अध्यक्ष नेपालले समाजवादी शक्तिहरूमात्र नभई इमानदार देशभक्तहरू मोर्चामा आबद्ध हुन आग्रह गरे ।
राष्ट्रियताा सवालका सन्दर्भमा असंलग्न पराराष्ट्र नीति अनुरुप अरुको भूमिमा नटेक्ने र आफ्नो लिएको नसहिने उनको भनाइ छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) का बारेमा आफूले पुरानो दस्तावेज पुनः हेरेको उल्लेख गर्दै अध्यक्ष नेपालले देशको सार्वभौमिकताका सवालमा कुनै पनि गलत सम्झौता नहुने बताए । सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी कार्यान्वयन गर्दा देशको नेतृत्व प्रचण्डभन्दाबाहेकले गरेको खण्डमा देश युक्रेन बन्ने दाबी गरे ।
‘एमसीसीले जस्ता खालका प्रावधानहरू लाद्न खोजेको छ, कमरेड प्रचण्ड हुँदासम्म लड्नुहुन्छ हामीलाई त्यो विश्वास छ । तर, अर्को खराब व्यक्ति कोही आउनेबित्तिकै नेपाल युक्रेन बन्छ । हेरिराख्नुस्, यो षडयन्त्र हो,’ विप्लवले भने । सहयोग र अनुदान नेपालले पाउने कुरा स्वभाविक भएपनि हस्तक्षेप स्वीकार नहुने पनि उनले बताए । साथै, उनले देशमाथि विभिन्न षडयन्त्र भइरहेको पनि बताए । ‘आजसम्म कसैका सामु नझुकेको नेपालमाथि षड्यन्त्र गरिँदैछ । कुनै न कुनै रूपले क्रान्तिकारी शक्तिहरूको अभाव हुनेबित्तिकै नेपालमा सामन्तवाद, दलाल पुँजीवादहरू क्रान्तिका विरुद्धमा लाग्ने तयारीमा छन् । त्यसविरुद्ध पनि हामी लाग्छौँ,’ उनले भने ।
