
प्रचण्ड भन्छन्– भ्रष्टाचारमा मेरै नाम आए पनि नछोड्न भनेको छु
सुर्खेत । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनअपेक्षित परिवर्तन र सुशासनको पक्षमा अग्रसर हुनु आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् ।
भ्रष्टाचारविरुद्ध अग्रसर हुँदा कांग्रेस र एमालेलाई लक्षित गरेको भन्ने आरोप सही नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले माओवादीकै र स्वयं प्रचण्डकै त्यस्तो विषय आए पनि नछोड्न भनिएको बताए ।
समाजवादी मोर्चाले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारविरद्धको लडाइँ नरोकिने स्पष्ट पार्दै भने, ‘म राम्रो काम गर्छु, कसले हटाउँदो रहेछ हेर्छु ।’
देशमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भइसकेको बताउँदै उनले सरकारमा रहँदा वा नरहँदा राम्रो काम गर्ने बताए । भ्रष्टाचारविरुद्धको लडाइँमा सबै राजनीतिक दलहरुको सहयोगको अपेक्षा पनि गरे ।
समाजवादी मोर्चा बनाउँदा आफू अत्यन्त खुसी भएको बताउँदै उनले मोर्चालाई अझै ठूलो बनाउनुपर्ने आवश्यक रहेको बताए । नेत्रविक्रम चन्द विप्लवको सुरक्षा घेरामा रहेर आफूले जनयुद्धको नेतृत्व गरेको भन्दै उनले अहिले मोर्चाको माध्यमबाट भए पनि आफूहरु एकै ठाउँमा आउँदा थप उत्साहित भएको बताए ।
यही समाजवादी मोर्चाको माध्यमबाट पनि एकजुट भएर भ्रष्टाचारविरुद्धको लडाइँ लड्नुपर्नेमा उनले जोड दिए ।
