६० किलो सुन तस्करी प्रकरणमा किशोर बस्नेत पक्राउ
काठमाडौं । ६० किलो सुन प्रकरणका एक आरोपी किशोर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले सिन्धुपाल्चोक घर भएका बस्नेतलाई बुधबार पक्राउ गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतले बस्नेत बुधबार पक्राउ परेको जानकारी दिए । दावाका मुख्य सहयोगी भनिएका बस्नेतलाई भारतबाट पक्राउ गरेर ल्याइएको स्रोतले बतायो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन ३ गते भन्सार छलेर बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेपछि बस्नेत भारत फरार भएका थिए । उनी भारतबाट पक्राउ परे कि नेपालबाट भन्ने खुलिसकेको छैन ।
बस्नेत पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २५ पुगेको छ । तीमध्ये सात जना चिनियाँ नागरिक छन् ।
सुन तस्करी प्रकरणबारे अनुसन्धान गरिरहेको सिआइबीले इन्टरपोलमा सूचना जारी गरी संलग्नहरुको खोजी गरिरहेको छ । हालसम्मको अनुसन्धानबाट सुन तस्करीमा मुख्य गरी चिनियाँ नागरिकहरु नै संलग्न भएको पाइएको र केही व्यक्तिहरु नेपालबाट उतै भागेको सिआइबीले जनाएको छ ।
यसबारे थप अनुसन्धानका लागि मंगलबार मात्रै सिआइबीका एसएसपी दिनेश आचार्य हङकङ गएका छन् ।