माओवादी नेताहरु फर्किएको एक महिना नपुग्दै एमाले नेताहरु चीन भ्रमणमा जाँदै

मूलखबर संवाददाता
काठमाडौं

१२ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा जाने भएको छ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन भ्रमणमा फर्किएको एक महिना पनि नपुग्दै एमालेका नेताहरु महासचिव पोखरेलको नेतृत्वमा चीन जान लागेका हुन् ।

एमाले नेताहरु आगामी भदौ १६ गते चीन भ्रमणमा जान लागेको एमाले केन्द्रीय कार्यालय स्रोतले बतायो ।

माओवादी नेताहरुपछि एमाले नेताहरूलाई चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागले भ्रमणको निम्तो दिएको थियो । सो निम्तोलाई एमालेको सचिवालय बैठकले स्वीकृति दिएको थियो । भ्रमण टोलीमा को–को रहने भन्ने सार्वजनिक भने भएको छैन ।

चीनमाथि नेपालका कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध गराउन पहल गरेको आरोप लाग्ने गरेको छ । यद्यपि चिनियाँ नेताहरुले उक्त आरोपको खण्डन गर्ने गरेका छन् । नेपालमा राजनीतिक स्थीरता होस् भन्ने सदासयता एक छिमेकीको नाताले हुनु स्वाभाविक भए पनि एकता वा बिभाजन नेपालको आन्तरिक मामिला भएको चिनियाँ नेताहरुको भनाइ छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आगामी असोजको पहिलो हप्ता चीन भ्रमणमा जाने तयारीमा छन् ।

प्रधानमन्त्री प्रचण्ड ३० भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाने र उतैबाट चीन जाने कार्यक्रम परराष्ट्र मन्त्रालयले स्वीकृत गरिसकेको छ । भ्रमण टोलीका सदस्यहरु भने टुंगो लाग्न बाँकी छ ।