राष्ट्रियताको पक्षमा जनयुद्धमा जस्तै लडिरहेको छु : प्रधानमन्त्री प्रचण्ड
१२ भदौ, बुटवल । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्ट्याउन खोज्नेहरूविरुद्ध समाजवादी मोर्चा बनेको र त्यसको महत्व र प्रभाव बढ्दै गएको बताएका छन् ।
मोर्चाले आज लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । समाजवादी गणतान्त्रिक मुलुक मोर्चाको लक्ष्य भएको भन्दै उनले त्यसमै अघि बढ्ने बताए ।
मोर्चामा आबद्ध माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मोर्चा गठन गर्नुपर्नाको कारण र यसको लक्ष्यबारे जनतालाई जानकारी दिने उद्देश्यले मंगलबार लुम्बिनीको बुटवलमा दोस्रो सभा आयोजना गरिएको थियो । पहिलो सभा मधेश प्रदेशको वीरगञ्जमा भदौ ९ गते आयोजना भएको थियो ।
नेकपाको व्यवस्थापनमा भएको बुटवलको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको संयोजन समाजवादी मोर्चा भएको बताए । ‘मोर्चामा आबद्ध दलहरुका साझा अनुभव साझा सम्पत्ति हुन्,’ उनले भने, ‘तिनलाई एकीकृत गर्नुपर्छ, यस्ता विषयलाई गम्भीरता साथ आत्मसात् गर्न अनुरोध गर्दछु ।’
मोर्चाभन्दा बाहिर रहेका शक्तिहरूले जातीय द्वन्द्व निम्त्याएर परिवर्तन उल्टाउन खोजेको टिप्पणी गरे । समाजवादी मोर्चा र अहिलेको सत्ता गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको भन्दै उनले षड्यन्त्र गर्नेहरु सफल नहुने बताए । भ्रष्टाचारका विरुद्ध र सुशासन कायम गर्ने दिशामा सरकारले राम्रा काम गरिरहेका बेला उल्टै यो सरकार ढाल्न खोज्नेहरु जनताको नजरमा गिर्दै गइरहेको उनले बताए ।
आफू प्रधानमन्त्री हुनासाथै सरकार ढाल्छन् कि भन्ने लागेको बताउँदै उनले भने, ‘अहिले पनि मलाई हटाउन प्रतिपक्षीले अनेक प्रयास गर्नुभएकै छ, सबै प्रकारका चिज अघि बढेकै छ, बढ्छन्, तर, केही हुनेवाला छैन ।’ देशमा कुनै ठूलो घटना नभए अहिलेको सत्ता गठबन्धन पाँच वर्ष नै चल्ने उनले बताए । तर सरकारमा टिकिरहनका लागि कुनै पनि अनुचित काम नगर्ने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाए । सरकारमा जति टिके पनि राष्ट्रहित र जनहितमा काम गर्ने उनको भनाइ थियो ।
आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि सुशासनको पक्षमा काम गरेपछि जनतामा उत्साह बढेको प्रचण्डले बताए । साथै अर्थतन्त्रमा पनि सुधार भइरहेको उनलेब ताए । ‘सरकारले सुशासनका पक्षमा काम गरेपछि जनतामा केही हुन्छ कि भन्ने उत्साह बढेको छ, अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागेको छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले एमसिसीको विषयमा अहिले आफू धेरै बोल्न नमिल्ने भन्दै राष्ट्रियता र स्वाधिनताको पक्षमा जनयुद्धमा जस्तै गरी लडिरहेको बताए ।
एमसिसीको १२ बुँदे व्याख्यात्मक घोषणा नेपालको संसद्बाट पारित भएकाले त्यसैलाई कार्यान्वयन गर्ने कुराबाट सरकार पछि नहट्ने उनले बताए । नेपालको संसद्ले पारित गरेअनुसार कार्यान्वयन नभए सडक आन्दोलन गर्ने संकेत गर्दै उनले भने, ‘नेपालको सदनबाट पास गर्दा गरिएको १२ बुँदे घोषणालाई सम्झौताको मूल अंश नबनाइए हाम्रा लागि सडकमा उत्रिने बाटो खुलै रहेको छ ।’
कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसीको विरोध गरेका थिए ।