विदेशमा बस्ने नेपालीलाई भोटिङको व्यवस्था गर्दै सरकार, नामावली संकलन ‘यसै वर्ष’

मूलखबर संवाददाता
काठमाडौं

१२ भदौ, काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको व्यवस्था मिलाउने गृहकार्य सुरु गरेको छ । त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्थाको गृहकार्य निर्वाचन आयोगले गरिरहेको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी २०८४ सालको निर्वाचनमै विदेशमा रहेका नेपालीहरुले मतदान गर्न पाउने व्यवस्थाका लागि मतदाता नामावली संकलनको गृहकार्य भइरहेको जानकारी दिए । आयोगले यस वर्षको वार्षिक कार्यतालिकामा विदेशमा बस्दै आएका नेपालीहरुको पनि मतदाता नामावली संकलन गर्ने व्यवस्था गरिसकेको उनले जानकारी दिए ।

विदेशमा रहेका नेपालीहरु मताधिकारबाट बन्चित भएपछि उनीहरुलाई पनि मतदानमा सहभागी गराउनुपर्ने विषयमा लामो समयदेखि बहस हुँदै आएको छ । सर्वोच्च अदालतले पनि विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगलाई आदेश दिएको थियो । तर विगतका सरकारले त्यससँग समबन्धित कानुन नबनाइदिँदा आयोगले कार्यान्वयन गर्न सकेको थिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आयोगका पदाधिकारीहरुसँग । फाइल फोटो

अहिले भने प्रचण्ड नेतृत्वको वर्तमान सरकारको पहलमा नयाँ निर्वाचन व्यवस्थापन विधेयकको प्रस्तावित मस्यौदा तयार भएको छ र विदेशमा बस्ने नेपालीहरुको मतदाता नामावली संकलनको कार्यविधि समेत तयार भएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले गैरआवासी नेपाली संघ (एनआरएन)का प्रतिनिधिहरुको समेतको सहयोगमा निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा र मतदाता नामावली संकलनको कार्यविधि तयार पारेर सरकारसमक्ष पठाइसकेको जानकारी दिए । त्यसले आवश्यक प्रक्रिया पूरा गरी कानुनी रुप धारण गरेमा विदेशमा बस्दै आएका नेपालीहरुको मतदाता नामावली संकलन यसै वर्ष हुने र आगामी २०८४ सालमा भोट पनि हाल्न पाउने प्रमुख आयुक्त थपलियाले बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै गैरआवासीय नेपाली संघ (एनआरएन) प्रतिनिधिहरुसँगको एक भेटमा एनआरएनलाई नागरिकता र प्रवासी नेपालीहरुलाई भोटको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए । प्रचण्ड प्रधानमन्त्री बनेपछि अघि बढाइएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि एनआरएनहरुले नागरिकता पाउने बाटो खुलिसकेको छ । त्यसका लागि गृह मन्त्रालयले कार्यविधि बनाइरहेको छ ।

मतदाता नामावली संकलन गरिँदै । फाइल फोटो : रासस

यससँगै वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा बस्दै आएका तर नेपाली नागरिकता नत्यागेका नेपालीहरुलाई मतदानको समेत व्यवस्था मिलाउने गृहकार्य पनि वर्तमान सरकारकै पहलमा सुरु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन यसै वर्ष सुरु गर्ने तयारीमा आयोग रहेको बताए ।

मध्यपूर्वका देशबाट सुरु गर्ने योजना

नेपालको कूल जनसंख्याको करिब एक चौथाइ नेपाली विदेशमा रहेको अनुमान छ । तर विश्वभर रहेका सबै नेपालीहरुले एकैपटक मतदान गर्न भने पाउने छैनन् । सुरुमा मध्यपूर्वका देशबाट मतदानको व्यवस्था गर्ने र त्यसपछि क्रमशः अरु देशहरुमा विस्तार गर्ने आयोगको योजना रहेको थपलियाले बताए ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया । फोटो : रासस

प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार मतदाता नामावली संकलन र भोट हाल्ने व्यवस्था विदेशस्थित कूटनीतिक नियोग परिसरबाटै मिलाउने गरी गृहकार्य भइरहेको छ । भोट हाल्नका लागि अनलाइनको विकल्प पनि राखिएको छ ।

नेपालमा संसदीय निर्वाचनमा अनलाइनबाट भोट हाल्ने व्यवस्थाका लागि बहस हुँदै आए पनि हालसम्म मतपत्रबाटै मतदानको हुँदै आएको छ । मतपत्रको प्रयोग हुँदा च्यातिने, भिज्ने र मसी लतपतिएर बदर हुनुका साथै ढुवानी, रेखदेख र सामान जुटाउँदा धेरै खर्चिलो हुने भएपछि अनलाइन भोटिङमा जानुपर्ने बहस हुँदै आएको छ ।

अनलाइनमा गोपनीयता र विश्वसनीयता हुन्छ भन्ने सरकारलाई लागेमा अनलाइनबाट पनि भोट हाल्न पाउने व्यवस्था मिलाइने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।